Skip to content

कृषि क्षेत्रका सरोकारवाला भन्छन् : कृषि यान्त्रीकरणमैत्री कानुन जरुरी भइसक्यो

nmb bank inside

‘उत्पादन बढाउन कृषि उपकरण र प्रविधिको प्रभावकारी प्रयोग अपरिहार्य’

आकांक्षा धामी,नेपाल न्यूज बैंक

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ आइतबार सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा किसान, कृषि उद्यमी, विद्यार्थी, व्यवसायी तथा नीतिनिर्माताको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।

कृषिमा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्ने, किसानलाई यान्त्रिक उपकरणबारे जानकारी गराउने तथा कृषि उत्पादन लागत घटाउँदै उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा १४४ स्टलमार्फत दुई हजारभन्दा बढी प्रकारका कृषि उपकरण तथा प्रविधि प्रदर्शन गरिएको थियो ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) का अध्यक्ष कृष्ण शर्माले यस वर्षको प्रदर्शनी अपेक्षाभन्दा सफल भएको बताए । उनका अनुसार प्रदर्शनीको पहिलो दिन करिब नौ हजार र दोस्रो दिन १९ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए । अन्तिम दिन पनि उल्लेख्य सहभागिता रहेको उनले जानकारी दिए ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनलने भने, ‘यो आठौँ संस्करण हो । अत्यन्तै सफलताका साथ सम्पन्न भएको छ । पहिलो दिन करिब नौं हजारभन्दा बढी र दोस्रो दिन १९ हजारभन्दा बढी भिजिटर आउनुभयो । अन्तिम दिनपनि उत्तिकै राम्रो सहभागिता रहयो । किसानलाई एउटै छानामुनि १४४ वटा स्टलमा दुई हजारभन्दा बढी प्रकारका प्रविधि तथा उपकरण हेर्ने अवसर मिलेको छ । यसको मुख्य उद्देश्य कृषि यान्त्रीकरणको प्रवद्र्धन गर्नु, किसानलाई प्रविधिबारे जानकारी गराउनु र खेतीपातीलाई सहज बनाउनु हो ।’

शर्माले व्यावसायिक कृषिको विकासमा यान्त्रीकरण अपरिहार्य भए पनि नेपालको कृषि क्षेत्रले जग्गाको खण्डीकरण, साँघुरा गराहरू तथा कृषि उपकरणको उच्च लागतजस्ता चुनौती सामना गरिरहेको बताए ।

उनका अनुसार नेपालको औसत खेतीयोग्य जग्गाको आकार घट्दै जानु कृषि यान्त्रीकरणको प्रमुख अवरोध बनेको छ । ठूला कृषि उपकरणको प्रभावकारी प्रयोगका लागि जग्गाको चक्लाबन्दी, स्याटेलाइट म्यापिङ तथा खेतीयोग्य जमिनको व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ ।

उनले सरकारले भूमि बैंक तथा जग्गा व्यवस्थापनसम्बन्धी नीतिलाई प्रभावकारी बनाउँदै कृषि यान्त्रीकरणमैत्री कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, कृषि उपकरण तथा प्रविधिको आयातमा लाग्ने उच्च भन्सार दरले किसानको लागत बढाएको उनले बताए । विशेषगरी नेपालमा उत्पादन नहुने प्लास्टिकजन्य कृषि सामग्रीमा ५० प्रतिशतभन्दा बढी भन्सार लाग्ने व्यवस्था पुनरावलोकन गर्नुपर्ने उनको माग छ ।

कम्बाइन हार्भेस्टर आयातमा स्ट्र बेलर, रिपर तथा कलेक्टर अनिवार्य जोड्नुपर्ने व्यवस्थाले पनि किसान र व्यवसायीलाई अतिरिक्त आर्थिक भार परेको उनले बताए। एउटा बेलरले नै धेरै कम्बाइन हार्भेस्टरबाट उत्पादित पराल संकलन गर्न सक्ने अवस्थामा प्रत्येक मेसिनसँग अनिवार्य रूपमा त्यस्ता उपकरण जोड्नुपर्ने व्यवस्था व्यावहारिक नभएको उनको तर्क छ ।

शर्माले कृषि क्षेत्रमा डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), ड्रोन तथा स्वचालित मेसिनको प्रयोग विस्तार गर्न सके युवालाई कृषितर्फ आकर्षित गर्न सकिने बताए । 

साना तथा मझौला कृषि उपकरण, कोल्ड स्टोरेज, पोस्ट हार्भेस्ट प्रविधि, मल तथा बीउलगायतका सामग्रीसमेत प्रदर्शनीमा राखिएकाले किसानले एउटै स्थानबाट विभिन्न प्रविधिबारे जानकारी लिन पाएको उनको भनाइ थियो ।

यसैगरी नामियाका सचिव श्रीकृष्ण अधिकारीले पनि यस वर्षको प्रदर्शनी उत्साहजनक र उपलब्धिमूलक रहेको बताए । उनका अनुसार प्रदर्शनीमा दूरदराजबाट आएका किसान, कृषि विषय अध्ययनरत विद्यार्थी, सरकारी अधिकारी तथा नीति निर्माण तहका व्यक्तिहरूको सहभागिता थियो ।

२०७१ सालमा चितवनस्थित नारायणी नदी किनारमा पाल टाँगेर प्रविधि प्रदर्शन गर्दै सुरु गरिएको अभियान आठौँ संस्करणसम्म आइपुग्दा किसानका लागि प्रभावकारी सिकाइ र प्रविधि आदानप्रदानको माध्यम बनेको उनले बताए ।

उनले भने, ‘एक्स्पो एकदमै राम्रो रह्यो । पहिलो दिनदेखि नै उत्साहजनक उपस्थिति रह्यो। दूरदराजबाट किसानहरू, कृषि पढ्दै गरेका विद्यार्थीहरू र नीति निर्माण तहमा रहनुभएका व्यक्तिहरूको सहभागिता भयो। यो सबै कुराको फ्युजनजस्तै एक्स्पो बन्यो। हाम्रो उद्देश्य नै किसानमैत्री र नेपाल सुहाउँदा प्रविधिहरू दूरदराजका किसानसम्म पु¥याउनु हो ।’

अधिकारीले नेपालका किसानलाई उपयुक्त हुने र उनीहरूको पहुँचमा पुग्न सक्ने प्रविधि विस्तार गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको उल्लेख गरे । पछिल्लो समय किसानमा आधुनिक कृषि प्रविधि अपनाउने आकर्षण बढ्दै गएको भए पनि भन्सार नीतिका कारण उपकरण तथा सामग्री महँगो पर्ने गरेको उनको भनाइ छ ।

उनका अनुसार असिना तथा किराबाट बाली जोगाउने जाली, ग्रिनहाउसमा प्रयोग हुने प्लास्टिकलगायतका सामग्रीमा ५५ प्रतिशतसम्म भन्सार लाग्ने गरेको छ । यस्ता सामग्रीमा भन्सार दर घटाउन सके किसानले उत्पादन लागत कम गर्दै गुणस्तरीय कृषि उत्पादन बढाउन सक्ने उनले बताए ।

उनले भने, ‘पछिल्लो समय किसानहरूमा प्रविधिप्रतिको आकर्षण निकै बढेको छ । तर भन्सार नीतिका कारण धेरै प्रविधि महँगोमा खरिद गर्नुपर्ने अवस्था छ। असिना रोक्ने जाली, किरा छेक्ने जाली तथा ग्रिनहाउसमा प्रयोग हुने प्लास्टिकलगायतका सामग्रीमा अहिले पनि ५५ प्रतिशतसम्म भन्सार तिर्नुपरेको छ । सरकारले यस्ता सामग्रीको भन्सार दर घटाइदिने हो भने किसानले सस्तोमा प्रविधि खरिद गर्न पाउने थिए ।’

अधिकारीले आफूले इजरायलमा कृषि क्षेत्रमा काम गर्दाको अनुभव सुनाउँदै नेपालमा पनि किसानमैत्री प्रविधिको प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिए । प्रविधिको प्रयोगले श्रम लागत घटाउनुका साथै उत्पादनको गुणस्तर र परिमाण बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।

प्रदर्शनीमा सहभागी सलोन एग्रिकल्चर, बालाजुका व्यवसायी रतिराम गौतमले पनि दर्शकको सहभागिता अपेक्षाभन्दा धेरै रहेको बताए । कृषि प्रविधिको विस्तारमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण भए पनि किसानको पहुँचसम्म आधुनिक उपकरण पु¥याउन सरकारको सहयोग आवश्यक रहेको उनले उल्लेख गरे ।

उनले भने, ‘कृषिको आधुनिकीकरण गर्न सबैभन्दा पहिला किसानलाई बुझाउनुपर्छ, तालिम दिनुपर्छ । परम्परागत खेतीलाई कसरी व्यावसायिक बनाउने, धेरै उत्पादन गरेर कसरी नाफा कमाउने भन्ने विषयमा प्रविधिसम्बन्धी प्रशिक्षण आवश्यक छ । यो काम व्यापारी र निजी क्षेत्रले मात्रै गरेर सम्भव हुँदैन। सरकारले नै देशभरि किसानलाई तालिम दिने व्यवस्था गर्नुपर्छ ।’

गौतमका अनुसार कृषि सामग्री किसानले प्रत्यक्ष आयात गर्दा भन्सार छुट पाउने व्यवस्था भए पनि व्यवसायी तथा ट्रेडरमार्फत आयात गर्दा उच्च भन्सार तिर्नुपर्ने अवस्था छ । यसले बजारमा कृषि उपकरणको मूल्य बढाएको उनको भनाइ छ ।

उनले अनुदान वितरणभन्दा कृषि उपकरण तथा सामग्रीको आयातमा भन्सार दर घटाउने व्यवस्था प्रभावकारी हुन सक्ने बताए । भन्सार कम भए किसानले बजारबाटै सस्तो मूल्यमा उपकरण खरिद गर्न पाउने उनको तर्क छ ।

त्यसैगरी, आधुनिक कृषि प्रविधिको प्रयोग बढाउन किसानलाई तालिम, प्रशिक्षण तथा प्रविधिबारे व्यावहारिक जानकारी दिनुपर्ने उनले बताए । परम्परागत खेती प्रणालीबाट व्यावसायिक कृषितर्फ अघि बढ्न किसानलाई उत्पादन वृद्धि, लागत न्यूनीकरण र नाफामुखी खेतीका विषयमा प्रशिक्षित गर्न सरकार अग्रसर हुनुपर्ने उनको भनाइ छ ।

प्रदर्शनीले कृषि क्षेत्रमा संलग्न किसान, व्यवसायी, प्रविधि उत्पादक तथा नीतिनिर्मातालाई एउटै मञ्चमा जोड्दै व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसरसमेत प्रदान गरेको आयोजकको भनाइ छ ।

कृषि यान्त्रीकरणको आवश्यकता र सम्भावना उजागर गरेको प्रदर्शनीले आधुनिक कृषि प्रविधि विस्तारका लागि सरकारी नीति, भन्सार सहुलियत, जग्गाको चक्लाबन्दी र किसानको क्षमता विकासमा थप ध्यान दिनुपर्ने सन्देश दिएको छ ।

किसानलाई प्रविधिको पहुँचमा पु¥याउन सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको प्रदर्शनीमा सहभागीहरूले बताएका छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्