कांग्रेस महाधिवेशनको तिथिमिति तलमाथि हुँदैन : गगन थापा
गिरिजाप्रसादको आर्थिक नीति अध्ययन गर्न सभापति थापाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक नीति, गरेका आर्थिक निर्णय र तय गरेका प्राथमिकतामाथि अध्ययन तथा अनुसन्धान गर्न जीपी कोइराला फाउन्डेसनलाई आग्रह गरेका छन् ।
शुक्रबार जीपी कोइराला फाउन्डेसनको एजीएम तथा नेतृत्व हस्तान्तरण कार्यक्रममा बोल्दै थापाले गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानको चर्चा भएपनि उनको आर्थिक नीतिका विषयमा पर्याप्त बहस हुन नसकेको बताए।
उनले २०४८ देखि २०५१ सालसम्मको अवधिलाई नेपालको आर्थिक विकासका दृष्टिले महत्वपूर्ण समयका रूपमा व्याख्या गरे।
थापाले गिरिजाप्रसाद कोइरालालाई आफ्नो राजनीतिक कर्मको नेता, अभिभावक र गुरुका रूपमा स्मरण गरे।
उनले भने, ‘गणेशमानजी, किसुनजी हाम्रा निम्ति राजनीतिक आदर्शका पात्रहरू हुनुभयो । बीपी कोइराला आस्थाको केन्द्र रहनुभयो । तर, म लगायत अहिले कांग्रेस पार्टीको मुख्य जिम्मेवारीमा रहनुभएको चाहे विश्वप्रकाश शर्मा हुनुहोस्, चाहे गुरु घिमिरे हुनुहोस्, चाहे प्रदीप पौडेल हुनुहोस् सबैका लागि राजनीतिक कर्मको नेता, अभिभावक, राजनीतिक कर्मको गुरुको भूमिकामा चाहिँ निसन्देह गिरिजाप्रसाद कोइराला नै रहनुभयो।’
गिरिजाप्रसाद कोइरालासँग आफूहरूको राजनीतिक व्यक्तित्व निर्माण भएको बताउँदै थापाले उनीसँग सङ्गत, अन्तरक्रिया र राजनीतिक बहससमेत गरेको स्मरण गरे। उनका अनुसार बीपी कोइराला कांग्रेसका लागि आस्थाको केन्द्र भए पनि गिरिजाप्रसाद कोइराला कार्यकर्ताका लागि राजनीतिक अभिभावकको भूमिकामा रहे।
कार्यक्रममा थापाले सुजाता कोइरालाले आफ्नो राजनीतिक जीवनका महत्वपूर्ण मोडमा दिएको सहयोगको समेत स्मरण गरे। नेपाल विद्यार्थी संघको राजनीतिमा आफूलाई अभिभावकत्व आवश्यक परेको बेला सुजाता कोइरालाको ठूलो साथ रहेको उनले बताए।
थापाले भने, ‘नेपाल विद्यार्थी सङ्घको राजनीतिमा जतिखेर मलाई असाध्यै धेरै ठुलो साथको आवश्यकता थियो । त्यो सुशील कोइराला महेन्द्र शर्मालाई बनाउन चाहनुहुन्थ्यो, सुजाता दिदी मलाई बनाउन चाहनुहुन्थ्यो।’
उनले निजी क्षेत्रलाई विद्युत्, हवाई सेवा, टेलिफोन, मेडिकल कलेज तथा बैंकिङलगायतका क्षेत्रमा प्रवेश गराउने निर्णय त्यसै समयको महत्वपूर्ण नीतिगत परिवर्तन भएको बताए।
थापाले मूल्य अभिवृद्धि कर (भ्याट) लगायत कर प्रणालीमा भएको सुधारलाई समेत त्यस समयका महत्वपूर्ण निर्णयका रूपमा व्याख्या गरे। उनका अनुसार ती निर्णय तत्कालका लागि जोखिमपूर्ण भए पनि त्यसले नेपालको अर्थतन्त्रलाई नयाँ बाटोमा लैजान आधार तयार गरेको थियो।
उनले आर्थिक उदारीकरणका कारण कांग्रेसले लामो समयसम्म राजनीतिक आलोचना खेप्नुपरेको समेत बताए। कांग्रेसमाथि ‘उद्योग बेचुवा’को आरोप लाग्ने गरेको स्मरण गर्दै थापाले त्यसको राजनीतिक मूल्य पार्टीले चुकाएको बताए।
तर गिरिजाप्रसाद कोइरालाले तत्कालीन राजनीतिक लाभभन्दा मुलुकको आर्थिक भविष्यलाई प्राथमिकता दिएको उनको भनाइ थियो।
यही कारणले गिरिजाप्रसाद कोइरालाको आर्थिक नीति र निर्णयबारे थप अध्ययन आवश्यक रहेको थापाले बताए । उनले फाउन्डेसनले गिरिजाप्रसादको आर्थिक नीति, आर्थिक निर्णय र आर्थिक प्राथमिकतालाई अनुसन्धानको विषय बनाउनुपर्ने बताए।
उनले अहिले सरकारले अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट निर्णय गर्नुपर्ने बताए। उनले विपद्पछि मुलुकको सबैभन्दा ठूलो चुनौती अर्थतन्त्र नै हुने र स्रोत परिचालनका विषयमा सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए।
यस्तै, थापाले कांग्रेसको आगामी महाधिवेशन निर्धारित समयमै हुने दाबी गरे । असोज ४ गतेदेखि अधिवेशनको प्रक्रिया सुरु हुने र असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन प्रक्रिया अघि बढ्ने उनले बताए।
उनले भने, ‘हामी संविधानले पनि बाँधिएका छौँ, पार्टीको विधानले पनि बाँधिएका छौँ, अहिलेको सम्मानित अदालतको फैसलाले पनि बाँधिएका छौँ। यो एक दिन पनि, एक घण्टा पनि यसको तिथि–मिति तल–माथि सर्दैन। ४ गतेबाट हाम्रो अधिवेशनको प्रक्रियाहरू प्रारम्भ हुन्छ र १६ गतेबाट केन्द्रीय महाधिवेशन प्रारम्भ गर्छौँ र समयमा महाधिवेशन सम्पन्न गर्छौँ।’
महाधिवेशनपछि कांग्रेसले देशभर पुगेर नागरिकसँग टुटेको विश्वास पुनःस्थापित गर्ने अभियान सञ्चालन गर्ने उनले बताए। पार्टीभित्र प्रतिस्पर्धा भए पनि सबै पक्षलाई समेटेर अघि बढ्ने उनको भनाइ थियो।




Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्