Skip to content

तीजमा पशुपतिनाथको दर्शन ः पुरुषहरुको उपस्थिति न्यून हुँदा महिलाहरुलाई सहज

nmb bank inside

तीजमा पशुपतिनाथको दर्शन ः पुरुषहरुको उपस्थिति न्यून हुँदा महिलाहरुलाई सहज

काठमाडौं । काठमाडौं । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइरहेका छन् । तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

पशुपतिका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुलेका छन् । आजका दिन महिलाहरू व्रत बसेर भगवान् शिव र माता पार्वतीको पूजा–आराधना गर्ने परम्परा रहेको छ ।

पशुपतिनाथ मन्दिरमा पूजा तथा दर्शनका लागि पुगेका व्रतालु मेनुका कोइरालाले तीजको धार्मिक तथा सांस्कृतिक परम्परा पछिल्लो समय बदलिँदै गएको बताइन् । उनले तीज पुर्खौँदेखि चलिआएको परम्परा भएपनि पछिल्लो समय मनाउने तरिका बदलिएको बताएकी हुन् । 

उनले आफूहरू पार्वतीजस्तो कठोर तपस्या गर्न नसक्ने भए पनि परम्परालाई आफ्नो क्षमताअनुसार निरन्तरता दिँदै आएको बताइन् ।

उनले भनिन्, ‘हामी पार्वतीजस्तो भक्त हुन सकेनौँ होला, तर पुर्खौँ–पुर्खादेखि चलिआएको परम्परा पछ्याइरहेका छौं ।’

उनले बदलिँदो सामाजिक संस्कार र महिलाको पहिरनप्रति पनि असन्तुष्टि व्यक्त गरिन् । पछिल्लो समय तीजका नाममा देखिने केही गतिविधि मौलिक संस्कार र धार्मिक मान्यताविपरीत भएको उनले उल्लेख गरिन् । 

यसैगरी व्रतालु लिला कडायतले यसपाली पूजाआजा विगतका वर्षको तुलनामा निकै सहज र छिटो भएको बताएकी छन् । पहिले लामो समयसम्म लाइनमा बसेर पूजा गर्नुपर्ने भए पनि यसपालि करिब १५ मिनेटमै मन्दिर प्रवेश गरी पूजाआजा सकेको उनले बताइन् । 

उनले भनिन्, ‘पहिला–पहिला त एकदम लाइन लाग्नुपथ्र्यो । यसपालि १५ मिनेटमै हामी भित्र छिरेर पूजा गरेर भ्याइसक्यौँ ।’

कडायतका अनुसार विगतमा पुरुष भक्तजनसमेत पूजाका लागि आउने गरेकाले भीड बढी हुने गरेको थियो । तर यसपटक पुरुषलाई प्रवेशको अनुमति नदिइएकाले पनि पूजामा भीड कम भएको हुनसक्ने उनले बताइन् ।

उनले व्रत बस्नुको मुख्य उद्देश्य श्रीमानको स्वास्थ्य र दीर्घायुको कामना गर्नु रहेको उल्लेख गरिन् । 

पशुपतिनाथ पुगेकी व्रतालु जानुका पौडेलले तीजका कारण यस वर्ष महिलालाई विशेष प्राथमिकता दिइएको र सुरक्षा व्यवस्था पनि व्यवस्थित रहेको बताएकी छन् । उनले अन्य सामान्य दिनको तुलनामा आज महिलाका लागि गरिएको व्यवस्थापन सहज र प्रभावकारी रहेको बताइन् । 

‘हामी पशुपतिमा धेरै पटक आइसकेका छौँ । तर अरू बेलाभन्दा आजको सुरक्षा व्यवस्था राम्रो थियो । हरितालिका तीज भएर होला, धेरैजसो महिलालाई प्राथमिकता दिइएको थियो। त्यसमा धेरै खुसी लाग्यो,’ पौडेलले भनिन् ।

आफू नियमित रूपमा विभिन्न पर्वमा व्रत बस्ने गरेको बताउँदै यसपटक बुवाआमाको दीर्घायु र परिवारमा कुनै संकट नआओस् भन्ने कामना गरेको उनले बताइन् । 

बाल्यकालमा तीजलाई रमाइलो पर्वका रूपमा लिने गरे पनि अहिले भने जिम्मेवारीका कारण त्यसरी रमाइलो गर्न नपाएको उनले बताइन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्