Skip to content

रसुवागढी नाका बन्दहुँदा कैलाश मानसरोवर यात्राको भार तातोपानी र हिल्सा तर्फ

nmb bank inside

काठमाडौं । रसुवागढी नाका अवरुद्ध भएपछि कैलाश मानसरोवर यात्राबाट फर्किने तथा तिब्बत भ्रमणमा जाने–आउने यात्रुको आवागमन वैकल्पिक नाकातर्फ सरेको छ । रसुवाको भोटेकोशी नदिमा गत भदौ १० गते आएको विनाशकारी बाढीले भन्सार, अध्यागमनलगायतका संरचनामा क्षति पु¥याएपछि यात्रुले सिन्धुपाल्चोकको तातोपानी र हुम्लाको हिल्सा नाका प्रयोग गर्न थालेका हुन् ।

अध्यागमन विभागका अनुसार भदौ १० देखि २९ गतेसम्म तातोपानी नाकाबाट ३ हजार ९०४ जना नेपाल प्रवेश गरेका छन् । प्रवेश गर्नेमा १ हजार ७३३ जना महिला छन् । सोही अवधिमा तातोपानी हुँदै ३९१ जना नेपालबाट चीनतर्फ प्रस्थान गरेका छन् ।

विभागका अनुसार तातोपानीबाट नेपाल प्रवेश गर्ने यात्रुमध्ये ठूलो संख्या तिब्बत भ्रमण तथा कैलाश मानसरोवर यात्राबाट फर्किनेको छ । रसुवागढी हुँदै चीन प्रवेश गरी तिब्बत तथा कैलाश मानसरोवर पुगेका यात्रु नाका अवरुद्ध भएपछि तातोपानी र हिल्साबाट नेपाल फर्किन थालेका हुन् ।

हुम्लाको हिल्सा नाकाबाट पनि उक्त अवधिमा ३८७ जना नेपाल प्रवेश गरेका छन् । तीमध्ये १६५ जना यसअघि रसुवागढी नाका हुँदै चीनतर्फ गएका यात्रु रहेको विभागले जनाएको छ । हिल्सा हुँदै सोही अवधिमा १७८ जना चीनतर्फ प्रस्थान गरेका छन् ।

रसुवागढीमा आएको बाढीले अध्यागमन कार्यालयसहितका संरचनामा क्षति पु¥याएपछि उक्त नाकाबाट यात्रु आवागमन प्रभावित भएको हो । बाढीले कैलाश मानसरोवर यात्रामा प्रयोग हुने केही सवारीसाधनसमेत बगाएको थियो । नेपाल हुँदै कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीको संख्या पछिल्ला वर्षमा बढ्दै गएको छ । भारत र चीनबीचको सीमा तनावका कारण करिब पाँच वर्ष रोकिएको भारतीय नागरिकको कैलाश मानसरोवर यात्रा गत वर्षदेखि पुनः सञ्चालनमा आएको थियो ।

चीनले यस वर्ष नेपाल हुँदै कैलाश मानसरोवर जाने भारतीय राहदानीवाहक तीर्थयात्रीको कोटा २४ हजार पु¥याएको छ । गत वर्ष यस्तो कोटा २० हजार थियो । हाल नेपालबाट कैलाश मानसरोवर पुग्न तातोपानी, रसुवागढी र हिल्सा गरी तीन स्थलमार्ग तथा काठमाडौं–ल्हासा हवाई मार्ग प्रयोग हुँदै आएको छ । रसुवागढी नाका बन्द भएपछि तातोपानी र हिल्सा वैकल्पिक मार्गका रूपमा थप महत्वपूर्ण बनेका छन् ।

भारतले लिपुलेक र सिक्किमको नाथुला नाकाबाट पनि कैलाश मानसरोवर यात्रा सञ्चालन गर्दै आएको छ । ती दुई मार्गबाट भने वार्षिक १ हजार भारतीय तीर्थयात्रीलाई मात्रै यात्रा गराउने व्यवस्था छ । लिपुलेक र नाथुलाबाट ५००–५०० जना जाने व्यवस्था रहेकाले ठूलो संख्यामा भारतीय तीर्थयात्री नेपाल हुँदै कैलाश मानसरोवर जाने गरेका छन् ।

रसुवागढी नाका पुनः सञ्चालनमा नआएसम्म तातोपानी र हिल्सामा यात्रुको चाप बढ्न सक्ने देखिएको छ । अध्यागमन विभागले वैकल्पिक नाकाबाट हुने यात्रु आवागमनलाई सहज बनाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्