काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी आज बिहान ७ः३५ बजे काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणका साथै नेपाल–भारतबीच आर्थिक, कूटनीतिक तथा द्विपक्षीय सहकार्यका विभिन्न विषयमा उच्चस्तरीय भेटवार्ता र संवाद हुने जनाइएको छ । भ्रमणको पहिलो दिन आजै साँझ ५ बजे अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भोली शुक्रबार बिहान ९ बजे पूर्वभारतीय विदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । सोही दिन साँझ ५ बजे उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्नेछन् । त्यसपछि साँझ ७ः३० बजे भारत व्यापार संवर्धन संगठन (आईटीपीओ) का अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् अन्तरक्रिया कार्यक्रममा सहभागी हुने तालिका छ ।
शनिबार बिहान ९ः३० बजे भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानासँगको सम्मेलनमा उनी प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् । त्यसपछि बिहान ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफल कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमण सम्पन्न गरी उनी शनिबार साँझ ४ बजे काठमाडौं फर्कनेछन् ।
भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी तथा अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्