काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’ नेपाल न्यूज बैंकमा प्रमुख सम्पादन सल्लाहकारका रूपमा आबद्ध भएका छन् । उनी औपचारिक रूपमा बिहीबारदेखि नेपाल न्यूज बैंकमा आबद्ध भएका हुन् ।
नेपाल न्यूज बैंकमा आबद्ध झालाई नेपाल न्यूज बैंकका अध्यक्ष कमल सापकोटाले फूलमाला लगाएर स्वागत गरेका थिए ।
राष्ट्रिय समाचार समिति (रासस)का निवर्तमान कार्यकारी अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष झा करिब चार दशकदेखि साहित्य, पत्रकारिता, सम्पादन तथा सामाजिक–सांस्कृतिक चेतना निर्माणमा निरन्तर योगदान दिँदै आएका छन् ।
अन्तर्राष्ट्रिय अभ्यास र संरचनाअनुसार सञ्चालित नेपाल न्यूज बैंकमा हाल २०० भन्दा बढी सञ्चारमाध्यम आबद्ध छन् । न्यूज बैंकले समाचार, भिडियो, अडियो, फोटोफिचर, समसामयिक लेख तथा खोजमूलक समाचार सामग्रीको सेवा प्रवाह गर्दै आएको छ । बैंकले एएनआई, सीसीटीभी प्लसजस्ता अन्तर्राष्ट्रिय समाचार एजेन्सीमार्फत अन्तर्राष्ट्रिय समाचार सामग्रीसमेत उपलब्ध गराउँदै आएको छ ।
नेपाल सरकारको एक मात्र समाचार एजेन्सी राससलाई आफ्नो कार्यकालमा नयाँ उचाइ दिन सफल झाबाट नेपाल न्यूज बैंकलाई अन्तर्राष्ट्रिय अभ्यास र संरचनाअनुसार अझ प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक मार्गनिर्देशन प्राप्त हुने अपेक्षा बैंकले गरेको छ ।
नेपाल न्यूज बैंकमा आबद्ध भएपछि झाले नेपाल न्यूज बैंकलाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय समाचार संस्थाका रूपमा विकास गर्दै नयाँ उचाइमा पुर्याउन आफ्नो तर्फबाट सक्दो प्रयास रहने प्रतिबद्धता व्यक्त गरे ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)का लागि नेपालबाट पहिलो सल्लाहकारसमेत भइसकेका झाले सञ्चार क्षेत्रलाई लोकतन्त्र र समावेशिताको आधारस्तम्भ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
मैथिली भाषा तथा साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान पुर्याएका झा आमसञ्चार तथा पत्रकारिताका कुशल प्रशिक्षक र संवाद सहजकर्तासमेत हुन् । सूचनाको हकका अभियन्ताका रूपमा परिचित झाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित तथा मधेस र समावेशिताका मुद्दालाई निरन्तर उठाउँदै आएका छन् ।
काठमाडौंको मूलधारको पत्रकारिता र मधेसको वास्तविकताबीचको दूरी घटाउन सञ्चारमाध्यममार्फत झाले महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।
मिडिया प्रविधि, राजनीतिशास्त्र तथा मैथिली भाषामा स्नातकोत्तर गरेका झाका मैथिली र नेपाली साहित्य, पत्रकारिता तथा अन्य विविध विषयका दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।
जनकपुरबाट २०४३ सालमा पत्रकारिता प्रारम्भ गरेका झाले यसअघि हिमालय टाइम्स, अन्नपूर्ण पोस्ट, हिमालय टेलिभिजन, कोसी अनलाइन, नयाँ पाइला अनलाइन तथा विकास टाइम्सलगायत सञ्चार संस्थामा सम्पादकीय नेतृत्व सम्हालिसकेका छन् ।




Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्