‘दलाल पुँजीवादलाई ठेगान लगाउन सक्छौँ’ : दीर्घराज पाण्डे
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताएका छन्।
आइतबार पार्टीको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पाण्डेले कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष, द्वन्द्वात्मक भौतिकवाद र बल प्रयोगको सिद्धान्तलाई महत्व दिनुपर्ने धारणा राखे।
उनले सम्मेलनमा पार्टीका पूर्वमहासचिव धर्मेन्द्र बास्तोलाको राजनीतिक तथा सैद्धान्तिक भूमिकाबारे पनि चर्चा गरे। बास्तोलाले कम्युनिस्ट आन्दोलनमा लामो समय योगदान गरेको भन्दै वर्तमान मतभेदका आधारमा विगतको योगदानलाई पूर्ण रूपमा अस्वीकार गर्न नहुने उनले बताए।
पाण्डेले बास्तोलाले पार्टीको सैद्धान्तिक आधार संरचना तथा वर्ग संघर्षको विषयमा फरक धारणा लिएको आरोप लगाए। उनले बास्तोलाको राजनीतिक लाइनले राष्ट्रपति निर्वाचन, संविधानसभा, जनमतसंग्रह र संयुक्त सरकारजस्ता विषयलाई प्राथमिकता दिएको भन्दै त्यसप्रति असहमति जनाए ।
उनले नेपालका अधिकांश कम्युनिस्ट पार्टी संसदीय व्यवस्थामा समाहित भएको दाबी गर्दै आफूहरूको पार्टीले त्यसबाट अलग रहेर कम्युनिस्ट आन्दोलनलाई निरन्तरता दिएको बताए।
पाण्डेले सम्मेलनमा सहभागी प्रतिनिधिहरूको उपस्थितिलाई कम्युनिस्ट आन्दोलनप्रतिको उत्साहका रूपमा व्याख्या गर्दै आफूहरूले देशमा विद्यमान पुँजीवादी व्यवस्थाविरुद्ध संघर्ष गर्नुपर्ने बताए।
उनले पार्टी निर्माणका लागि जनतासँग प्रत्यक्ष जोडिनुपर्नेमा जोड दिए। किसान, मजदुर, युवा तथा महिलाका वास्तविक समस्या बुझेर पार्टीको नीति निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
उनले पार्टीभित्र दुई लाइन संघर्ष र आत्मालोचनालाई निरन्तरता दिनुपर्ने बताए। पार्टीको विकासका लागि आन्तरिक बहस र संघर्ष आवश्यक रहेको उनको भनाइ थियो।
उनले माओवादी आन्दोलनका क्रममा अपनाइएको सशस्त्र संघर्षको सन्दर्भसमेत उठाउँदै वर्तमान परिस्थितिअनुसार पार्टीले आफ्नो राजनीतिक कार्यदिशाबारे राष्ट्रिय सम्मेलनबाट गम्भीर छलफल गर्नुपर्ने बताए।
पाण्डेले पार्टी प्रतिक्रियावादी शक्तिसँगको संघर्षमा जाने हो भने नेतृत्व र युवाहरूको भूमिकाबारे समेत स्पष्ट निर्णय गर्नुपर्ने बताए। उनले पार्टीले केवल गोष्ठी, अन्तरक्रिया र सार्वजनिक कार्यक्रममै सीमित हुने कि फरक राजनीतिक कार्यदिशा अपनाउने भन्ने विषयमा सम्मेलनले निर्णय गर्नुपर्ने धारणा राखे।
पाण्डेले आफ्नो लामो राजनीतिक यात्राको स्मरण गर्दै आफू राष्ट्रिय सम्मेलनमा जाँदा सबैभन्दा कान्छो सदस्य रहेको र अहिले ज्येष्ठ सदस्यको अवस्थामा पुगेको बताए। उनले अब विगतकै शैलीमा पार्टी अघि बढाउन नहुने भन्दै नयाँ ढंगले संगठन निर्माण र राजनीतिक कार्यदिशा तय गर्नुपर्नेमा जोड दिए।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्