Skip to content

जितिया : सन्तानको कल्याण र पर्यावरण संरक्षणको पर्व

nmb bank inside

संस्कृतिको निर्माण र निरन्तरतामा मिथकहरुको निकै ठूलो भूमिका हुन्छ । सभ्यताको पहिचान र सामाजिक मूल्य–मान्यताको प्रतिनिधित्व गर्ने मिथकका आधारमा समग्र नेपाली समाजको नयाँ ढंगले अन्वेषण गर्न सकिन्छ, तर हामीकहाँ अहिलेसम्म त्यस्तो प्रयत्नको प्रारम्भ हुन सकेको छैन । कतै न कतै सम्बद्ध क्षेत्रको इतिहाससँग जोडिने यस्ता मिथकहरु वास्तवमा सांस्कृतिक धरोहर हुन् । नेपालको पूर्वी तथा मध्य तराई–मधेशमा प्रचलित यस्तै एक मिथक हो, जितिया महापर्व ।

जितिया पर्व मिथिला क्षेत्रको निकै प्रसिद्ध पर्व हो । तर यो पर्वको आयोजन र यसप्रतिको आस्था नेपालको मिथिला क्षेत्रमा मात्र सीमित छैन । नेपालमा नारायणीपूर्वदेखि मेचीको झापाको तराई–मधेश क्षेत्रमा यो पर्वमा महिलाहरु निकै उत्साहपूर्वक सहभागी हुने गर्दछन् । यस क्षेत्रमा वसोवास गर्ने मैथिली, भोजपुरी र थारु भाषाभाषी समुदायमा निकै महत्वका साथ यो पर्वको आयोजना हुने गर्दछ ।

माथि उल्लेख गरिएका सबै भाषाभाषीले समान स्वामित्व ग्रहण गर्दै यो पर्व आफूहरुको संस्कृतिसम्बद्ध भएको दावी गर्ने गर्दछन् । जुनसुकै संस्कृतिको भए पनि पछिल्लो दिनमा यो पर्वप्रतिको स्वीकारेक्तिमा वृद्धि भएको छ र ठूलो क्षेत्रमा आयोजन हुने गरेको पाइएको छ । पछिल्लो समयमा क्रमशः यो पर्व महापर्वका रुपमा विस्तारित हुँदैछ । यसको प्रमाणका रुपमा वर्तमानमा नेपालीभाषी महिला पनि यो पर्वमा सहभागी हुने गरेको सन्दर्भलाई लिन सकिन्छ । यो पर्वप्रति श्रद्धा राख्ने व्रतालुहरु नेपालको जुनसुकै भूगोलमा वसोवास गर्ने भए पनि आफू रहेको स्थानमै उल्लासपूर्वक मनाउने गरेका छन् । यस आधारमा यो पर्व नेपालमा सांस्कृतिक समावेशीपनको अनुपम उदाहरण पनि बनेको छ भन्दा अस्वाभाविक हुँदैन । यतिमात्र होइन पर्सादेखि झापासम्मको सीमासँग जोडिएको भारतमा पनि यो पर्व बडो श्रद्धापूर्वक मनाइने गरिन्छ ।

माथि उल्लेख गरिएको विभिन्न स्थानमा यो पर्वलाई विभिन्न नामले सम्बोधन गर्ने गरिन्छ । यसैक्रममा, जिमुतवाहन र जियुतवाहन आदी शव्द जितियाको पर्यायवाची शव्दका रुपमा प्रयोग हुन्छन् । मूलतः आश्विन शुक्ल अष्टमीका दिन श्रद्धालु महिलाहरु निराहार व्रत बसी यो पर्व मनाउने गर्दछन् । सन्तानको निरोगिता, दीर्घायु र समग्र कल्याणको ध्येय राखी मनाइने यस पर्वमा आमाहरु व्रत बस्ने गर्दछन् । यसपटक यो पर्वअन्तर्गत महिलाहरु आउने शनिवार (असोज १७ गते) निराहार व्रत बस्दैछन् ।

 

उपासनाका दृष्टिले यो पर्व छठ पर्वभन्दा पनि विशेष मानिन्छ । तीन दिनसम्म विभिन्न प्रक्रिया पूरा गरी मनाइने यो पर्वमा व्रतालुले करिव तीन दिनसम्मै कडा अनुशासनमा रही व्रत सम्पन्न गर्नुपर्ने हुन्छ । पहिलो दिनको प्रक्रियालाई नहाय खाय भनिन्छ । यस पटक शुक्रवार (असोज १६)सप्तमीका दिन सम्पन्न हुने यस प्रक्रियाअन्तर्गत व्रतालु महिलाहरु नुहाई–धुवाइ गरी पवित्र भई व्रत बस्ने प्रतिज्ञा गर्दछन् । सप्तमीका दिन साँझ पूजा गरी जिमुतवाहन देवतालालाई आव्हान गरिन्छ । यसै दिन विहानको (तिथि परिवर्तनअघि) समयमा ओठगनको रमाइलो परम्परा पनि कायम छ । यस्तै सप्तमीका दिन दरिलो र पौष्टिक आहार ग्रहण गरेर मानसिक र शारिरिकरुपमा व्रतका लागि तयार हुने मान्यताअन्तर्गत कोदो र माछाको परिकार ग्रहण गर्ने परम्परा पनि छ । यसलाई माछ–मडुवा (कोदो) भनिन्छ । सन्तानप्राप्ति र कल्यायाणको कामनासहित आयोजित गरिन यस पर्वमा सम्बद्ध वंशको निरन्तरताको पनि अपेक्षा गरिन्छ र वंशको प्रतीकको रुपमा बाँसका पातलाई पूजा सामग्रीका रुपमा प्रयोग गरिन्छ ।

मिहीन ढंगले यो पर्वको विश्लेषण गरिएको खण्डमा यो पर्वले वातावरणीय संरक्षणलाई पनि महत्व दिएको मान्न सकिन्छ । यस पर्वमा बाँसका पात प्रयोग हुनुका साथै वरको रुखको पनि निकै ठूलो महत्व छ । यसैगरी पानीको स्रोत भएका ठाउँ यथा, पोखरी, तलाउ र नदी आदि क्षेत्रमा पूजा हुने गर्दछ । स्वाभाविक छ, पूजा गर्ने स्थानको पवित्रतामा ध्यान दिइन्छ नै र यसै नाममा त्यस्ता पूजा क्षेत्रको ससफाई र संरक्षण गरी त्यससम्बन्धी जनचेतना भावी पुस्तालाई हस्तान्तरण गर्ने प्रयास गरिन्छ ।

माथि पनि भनियो, यो पर्वमा जिमुत वा जियुतवाहनको पूजा हुने गर्दछ जो भगवान महादेव हुन् भन्ने विश्वास छ । अष्टमीका दिन व्रतालुहरु शुद्धाशुद्धी भई अनुष्ठानमार्फत् पर्व प्रारम्भ गर्दछन् । अष्टमी तिथिमा निराहार व्रत बसिन्छ र नवमी तिथिको प्रारम्भमा परना गरी व्रत विसर्जन वा समापन गरिन्छ । कहिलेकाहिँ अष्टमी तिथिको अवधी लम्बिन जाँदा व्रत बस्ने अवधी पनि लम्बिन जान्छ । यस पटक भने त्यस्तो अवस्था नरहेको जानकारहरुले बताएका छन् ।

यो पर्व कहिलेदेखि मनाउन सुरु भयो भन्नेबारे यकिन जानकारी उपलब्ध छैन । सांस्कृतिक उपासनाको एक महत्वपूर्ण अनुष्ठानका रुपमा समाजमा स्वीकार गरिँदै आएको यो पर्वका सन्दर्भमा अनेकौ मिथक प्रचलित छन् । मिथिला क्षेत्रमा प्रचलित मिथकीय मान्यताअनुसार मिथिलामा एक समय शीलावती र कर्पूरावती नामक दुई दिदीवहिनी थिए । वहिनी कर्पूरावती रानी थिइन् भने दिदी शीलावतीका पति त्यही रानीको दरवारमा भारदार थिए । बहिनीले दिदीसँग प्रतिस्पर्धामात्र गर्दिन थिइन् बरु बेलावखत शत्रुता पनि साध्ने गर्थिन् । दिदीका सात भाई छोरा थिए तर बहिनीका छोरा थिएनन् । बहिनीलाई यो सह्य थिएन । उनका आँखामा दिदीका सात भाई छोरा कसिंगरझैं विझाउँथे ।

एकपटकक कुरो हो, दिदी छोराहरुको कल्याण र दीर्घायुका लागि जितिया अर्थात् जिमुतवाहन  (शिवको एक रुप) देवताको व्रत बसेकी थिइन् । बहिनीले षडयन्त्र रचिन् । उनले दिदीका सात भाई छोराको अपहरण गर्न लगाएर सातैजनाको टाउको काटिन् र व्रत समापनका समयमा एक एक टाउकोलाई एक एक डाला (बाँसको चोइटाले तयार गरिएको ठूलो थाल आकारको सामग्री)मा राखी रातो कपडाले छोपेर दिदीकहाँ कोसेलीका रुपमा पठाइन् । वहिनीबाट प्राप्त ती डालाहरुमा के छ भनी थाहा नपाएकी दिदीले ती सामग्रीलाई पूजा कोठामा जतनपूर्वक राख्न लगाइन र आफू पूजाको अन्य क्रियामा व्यस्त भइन् । उता बहिनी भने दिदीको घरतर्फ कान थापेर बसिरहेकी थिइन् । कुनबेला दिदी रोएको आवाज सुनिन्छ भनेर उनी व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेकी थिइन् । यता दिदी पूजामा संलग्न थिइन् । पूजाको समाप्तिका क्रममा दिदीले बहिनीबाट प्राप्त डालाबाट रातो कपडा उठाइन । तर आश्चर्य, त्यहाँ छोराहरुको टाउको नभएर नरिवलका डल्लाहरु थिए । एकैछिनमा सातै भाई छोरा आए र आमालाई ढोगे । छोराहरुले सानीमाको कर्तुत् आमालाई सुनाए । उता निकैबेर वितिसके पनि दिदीको आँगनबाट रुवाई नसुनिएपछि बहिनी स्वयं दिदीको आँगन आइन् । त्यहाँ आउँदा दिदीका सातै भाई छोरालाई देख्दा उनी स्तब्ध भइन् । अब रुने पालो उनको थियो । उनलाई आफ्नो कर्ममा ठूलो पश्चाताप भयो । दिदीसँग माफी मागिन । दिदीले बहिनीलाई पूर्वजन्मको कथा सुनाउँदै माफ गरिदिइन् । बहिनीले पूजाको प्रसाद ग्रहण गर्दे त्यहीँ प्राणान्त गरिन् ।

मिथकअनुसार पूर्व जन्ममा शीला चील र कर्पूरा स्याल थिइन् । दुवै निकै मिल्ने सखी थिए । पूर्व जन्ममा दुवैले सँगै जितिया पर्वको आयोजना गरेका थिए तर स्यालले व्रत सम्पन्न गर्न सकेकी थिइनन् । उनले बीचमै व्रत भंग गरी चीलसँग झूठो बोल्दै पर्व सम्पन्न गरेको बताएकी थिइन् । त्यसै कारण यस जन्ममा कर्पूराको कल्याण हुन नसकेको र सन्तान पनि नभएको विश्वास गरिन्छ । यसै घट्नापछि मिथिलामा यो पर्वको महात्म्य बढेको र प्रत्येक घरका महिलाले जितिया व्रत धारण गर्ने गरेको विश्वास गरिन्छ ।

माथि पनि उल्लेख गरियो आजको समयमा यो पर्व कुनै एक खास संस्कृति र भूगोलसम्ममात्र सीमित छैन । क्रमशः यो पर्व र यसको महत्व प्रसार भइरहेको छ । आजको दिनमा यो पर्व मिथिला संस्कृतिका साथै मध्य र पूर्वी नेपालका भोजपुरी र थारु संस्कृतिमा आश्विन कृष्ण सप्तमीदेखि नवमीसम्म भव्यतापूर्वक मनाउने गरिन्छ । सन्तान भएका महिला सन्तानको कल्याणका लागि र सन्तान नभएकाहरु सन्तानप्राप्तिको मनोकमना राखी निराहार व्रत बस्ने गर्दछन् । यो पर्व पूर्णतः पारिवारिक कल्याणसँग सम्बन्धित छ । यस पर्वमाफृत् जहाँ एकातिर सन्तानको वृहत कल्याणको कामना गरिन्छ भने अर्कोतर्फ आपसमा मिलेर बस्न र सामाजिक सद्भाव एवं विश्वास कायम राख्ने सन्देश प्रवाहको प्रयास गरिएको छ । माथि उल्लेख गरिएको मिथकीय कथाको महत्व पनि सारमा यही नै हो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्