Skip to content

मधेश प्रदेशमा अनलाइन उद्योग दर्ता सेवा सुरु

nmb bank inside

मधेश प्रदेशमा अनलाइन उद्योग दर्ता सेवा सुरु

जनकपुर । मधेश प्रदेशमा उद्योग व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) मार्फत अनलाइन उद्योग दर्ता तथा नवीकरणलगायतका सेवा औपचारिक रूपमा सुरु भएको छ ।

जनकपुरधाममा शुक्रबार उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेलले अनलाइन उद्योग दर्ता सेवाको उद्घाटन गर्दै अब उद्योगी तथा उद्यमीले सम्बन्धित कार्यालयमा पटक–पटक धाउनुपर्ने बाध्यता अन्त्य भएको बताएका छन् ।

मन्त्री पटेलले सेवाग्राहीले घरमै बसेर अनलाइनमार्फत उद्योग दर्ताका लागि आवश्यक प्रक्रिया पूरा गरी उद्योग सञ्चालन गर्न सक्ने व्यवस्था मधेश प्रदेशबाट सुरु गरिएको बताए । उनले अनलाइन प्रणालीबाट उद्योग दर्ता गर्न सकिने विषयलाई आम नागरिकसम्म पुर्याउन आवश्यक रहेको बताए ।

विदेशमा रोजगारीका लागि जान चाहने युवालाई लक्षित गर्दै मन्त्री पटेलले विदेश जानका लागि खर्च गर्ने रकमलाई आफ्नै गाउँठाउँमा साना तथा मझौला उद्योग स्थापना गर्न लगानी गर्न आग्रह गरे । अनलाइन सेवा सुरु भएसँगै उद्योगी तथा उद्यमीलाई सहज रूपमा सेवा उपलब्ध हुने उनले विश्वास व्यक्त गरे ।

उद्योग विभागकी महानिर्देशक रीया साहले मधेश प्रदेशका आठवटै जिल्लाबाट साना तथा मझौला उद्योग अनलाइनमार्फत दर्ता गर्न सकिने जानकारी दिइन् ।

महानिर्देशक साहले जनाए अनुसार उद्योग दर्ताका लागि अनलाइन फारम भरेपछि आवश्यक कागजातसमेत अनलाइनमार्फत अपलोड गर्नुपर्नेछ । प्राप्त विवरण र कागजातको आधारमा सम्बन्धित कार्यालयले प्रक्रिया अघि बढाउनेछ । दर्ता प्रक्रियाबारे सेवाग्राहीलाई सम्पर्क वा अनलाइन माध्यमबाट जानकारी गराइनेछ ।

दर्ताको अन्तिम चरणमा आवश्यक परे सम्बन्धित कार्यालयबाट उद्योग दर्ता प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गरिएको साहले बताइन् ।

उनले सेवाग्राहीका समस्या तथा गुनासा सम्बोधन गर्न सम्बन्धित कार्यालयमा सम्पर्क व्यक्ति तोक्ने तयारीसमेत भइरहेको जानकारी दिइन् । सम्पर्क व्यक्तिमार्फत सेवाग्राहीले अनलाइन उद्योग दर्तासँग सम्बन्धित समस्या तथा कठिनाइबारे जानकारी गराउन सक्ने व्यवस्था मिलाइने उनको भनाइ छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्