Skip to content

मुस्ताङ गुम्बामा रसुवाका २९६ बाढीपीडित, ३३ दिनदेखि लायन्स क्लबले खुवाउँदैछ खाना

nmb bank inside

मुस्ताङ गुम्बामा रसुवाका २९६ बाढीपीडित, ३३ दिनदेखि लायन्स क्लबले खुवाउँदैछ खाना 

काठमाडौं । स्वयम्भूस्थित मुस्ताङ गुम्बामा रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेका २९६ जना बाढीपीडित आश्रय लिइरहेका छन् । उनीहरूलाई दैनिक खाना खुवाउने जिम्मेवारी लायन्स क्लब ३२५ ईले लिएको छ । 

लायन्स क्लब ३२५ ईका डिजास्टर म्यानेजमेन्ट चिफ विनोदकुमार श्रेष्ठका अनुसार क्लबले गुम्बामा आश्रय लिइरहेका पीडितलाई खाना खुवाउन थालेको ३३ दिन भएको छ । खाना पकाउने काममा १० देखि १२ जनाले रोजगारीसमेत पाएका छन् । 

उनीहरूले बिहानदेखि बेलुकासम्म भान्छामा काम गर्ने र दैनिक २५ हजार रुपैयाँ पारिश्रमिकमा खर्च हुने श्रेष्ठले बताए । गुम्बामा दिनमा चारपटक खाना तयार हुने गरेको छ । बिहान ७ देखि ९ बजेसम्म खाजा, दिउँसो ३ देखि ४ बजेसम्म हाइटी तथा साँझ ६ बजेपछि डिनरको व्यवस्था गरिएको छ ।

पीडितहरूको खानाका लागि दैनिक करिब १ लाख रुपैयाँ खर्च हुने गरेको श्रेष्ठले बताए । त्यसैगरी, दैनिक २० देखि २५ जना स्वयंसेवकले गुम्बामा पुगेर व्यवस्थापनमा सहयोग गर्दै आएका छन् । 

श्रेष्ठका अनुसार गुम्बामा आश्रय लिइरहेका बाढीपीडितहरू आफ्नो गाउँ टिमुरे फर्किन चाहन्छन् । तर, पुनर्स्थापना नभएसम्म उनीहरूलाई करिब ६ महिनासम्म खाना खुवाउने व्यवस्था मिलाइएको उनले बताए ।

उनले व्यक्तिगत सहयोग तथा लायन्स क्लबका अन्य डिस्ट्रिक्टका सदस्यहरूबाट समेत सहयोग प्राप्त भइरहेको समेत जानकारी दिए ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्