काठमाडौं । गत असोज १२ गतेदेखि सञ्चालन भएको प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता आज कायममुकायम प्रधान सेनापति रथी प्रदीप जङ्ग के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
प्रतियोगितामा एथलेटिक्स, पौडी, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी आठ विधा समावेश गरिएको थियो । प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको समग्रतर्फ श्री उपत्यका पृतनाले प्रथम स्थान हासिल गरेको छ भने गणतर्फ श्री पुरानो गोरख गण प्रथम भएको छ । प्रतियोगितामा विजयी टोली, उत्कृष्ट खेलाडी तथा रेफ्रीहरूलाई कायममुकायम प्रधान सेनापति रथी के.सी.लगायत रथीवृन्दले ट्रफी, प्रमाणपत्र तथा कदरपत्र प्रदान गरेका थिए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरी राष्ट्रिय खेलकुदको विकासमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा खेलाडीहरूले विभिन्न विधामा नयाँ कीर्तिमान कायम गरेका छन् ।
प्रतियोगिताका क्रममा महिलातर्फ २०० मिटर दौड, ५ हजार मिटर दौड, लङ जम्प, ज्याभलिन थ्रो र सटपुट तथा पुरुषतर्फ १०० मिटर दौड, ४×४०० मिटर दौड र म्याराथनमा नयाँ सैनिक कीर्तिमान कायम भएको छ ।
यसैगरी, श्री पुरानो गोरख गणका ब.का.सि. सलिन देवानले पुरुष लङ जम्पमा तथा काली रक्षा गण (ई) का अम. जयरानी थारुले महिलातर्फ ४०० मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
प्रतियोगिताले नेपाली सेनाभित्र खेलकुदको विकास, प्रतिभाशाली खेलाडीको पहिचान तथा राष्ट्रिय खेलकुदमा योगदान पुर्याउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्