Skip to content

संघर्षका २५ वर्ष : केवल अधिकार र समानताका लागि

nmb bank inside

संघर्षका २५ वर्ष : केवल अधिकार र समानताका लागि

मनिषा ढकाल/ कार्यकारी निर्देशक ब्लु डायमण्ड सोसाइटी

ब्लु डायमण्ड सोसाइटीको २५औँ वार्षिकोत्सवमा बोलिरहँदा मनमा एउटै प्रश्न आइरहेको छ—२५ वर्ष यति छिटो कसरी बितेछन् ? तर यी २५ वर्ष केवल समय बितेका वर्ष होइनन्। यी हाम्रो अस्तित्व, पहिचान, प्रेम, आफ्नो शरीरमाथिको अधिकार र सम्मानपूर्वक बाँच्ने अधिकारका लागि गरिएको संघर्षका २५ वर्ष हुन्।

सन् २००१ मा बीडीएस स्थापना हुँदा हाम्रो समुदायका धेरै साथीहरू आफ्नो पहिचान लुकाएर, डर, हिंसा र सामाजिक बहिष्कारबीच जीवन बिताइरहनुभएको थियो। सुरुवातमा एचआइभी रोकथाम, परीक्षण र उपचार र हेरचाह हाम्रो महत्वपूर्ण काम थियो। तर हामीले छिट्टै बुझ्यौँ—हाम्रो संघर्ष एचआइभी मा मात्र सीमित छैन।

परिवारबाट हुने अस्वीकार, हिंसा, कानुनी विभेद, मानसिक स्वास्थ्य, लैङ्गिक पहिचान, स्वास्थ्य सेवा, कानुनी मान्यता र समलिंगी विवाह यी सबै हाम्रा जीवनसँग जोडिएका प्रश्न हुन्।

त्यसैले बीडीएसले स्वास्थ्यसँगै अधिकार, सम्मान, पहिचान र न्यायको प्रश्नलाई पनि आफ्नो आन्दोलनको केन्द्रमा राख्यो।

हामीले बुझ्यौँ—अधिकार काठमाडौंमा मात्र बसेर प्राप्त हुँदैन। त्यसैले समुदायको नेतृत्वमा स्थानीय तहसम्म पुग्यौँ, सिबीओहरू निर्माण र सुदृढीकरण गर्‍यौँ र राष्ट्रिय सञ्जाल निर्माण गर्‍यौँ। सन् २००७ मा यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघ नेपालको स्थापना पनि यही यात्राको एउटा महत्वपूर्ण उपलब्धि थियो।

हामीले अधिकारका लागि अदालतको ढोका पनि ढकढक्यायौँ। सर्वोच्च अदालतका ऐतिहासिक निर्णयहरू र सन् २०१५ को संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका अधिकार स्थापित हुनु हाम्रो वर्षौंको संघर्ष, साहस र निरन्तरताको परिणाम हो। यी केवल कानुनी दस्तावेज होइनन् । यी हाम्रो समुदायको इतिहास हुन् । 

बीडीएस कठिन समयमा पनि समुदायसँगै उभियो। अस्पताल र उपचारदेखि प्रहरी हिरासतसम्म, भूकम्पदेखि कोभिड १९ सम्म, हिंसा र विपद्को समयमा हामी समुदायसँगै रह्यौँ।

परिवार र समाजले चाडपर्व, विवाह तथा सामाजिक समारोहमा हाम्रो सहभागितालाई अस्वीकार गरिरहेका बेला बीडीएसलले तीज, पिकनिक र आफ्नै सामूहिक उत्सवका माध्यमबाट समुदायलाई परिवारजस्तो सुरक्षित ठाउँ दियो। जहाँ हामी खुलेर हाँस्न सक्थ्यौँ, रमाउन सक्थ्यौँ र सबैभन्दा महत्वपूर्ण—आफू भएर बाँच्न सक्थ्यौँ।

आज हाम्रो समुदाय संघीय संसद्सम्म पुगेको छ। यो एक व्यक्तिको मात्र सफलता होइन। यो २५ वर्षको सामूहिक संघर्षले सिर्जना गरेको सम्भावनाको परिणाम हो।

यस यात्रामा साथ र सहयोग गर्नुहुने विभिन्न राजनीतिक दल तथा नेतृत्वप्रति पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हाम्रो अधिकार र पहिचानका सवाललाई राजनीतिक तथा सार्वजनिक बहसमा स्थान दिन उहाँहरूले पुर्‍याउनुभएको सकारात्मक भूमिकालाई सम्मानपूर्वक स्मरण गर्दछौँ।

यतिबेला नेपाल सरकारको संस्थागत संरचनामै ‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक’ शब्द समावेश भएको छ। २५ वर्षअघि उठाएको आवाज आज राज्यको संरचनामा देखिनु महत्वपूर्ण उपलब्धि हो। तर नाम आउनु मात्र अन्तिम उपलब्धि होइन। त्यसको अर्थ समुदायको जीवनमा वास्तविक परिवर्तन आउनु हो।

(ब्लु डाइमण्ड सोसाइटीकी कार्यकारी निर्देशक मनिषा ढकालले संस्थाको रजत वर्ष समारोहमा व्यक्त गर्नुभएको विचार)

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्