Skip to content

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान गृहमन्त्रीको आग्रह

nmb bank inside

काठमाडौ । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बाढीले बगाएको छ। घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको र नदीको बहाव निरन्तर बढिरहेको घटनाप्रति गृहमन्त्री सुधन गुरुङले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

घटनालगत्तै उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन परिचालन गरिएको गृहमन्त्री गुरुङले बताएका छन्। उनका अनुसार उद्धार तथा राहत कार्यका लागि हेलिकप्टरसमेत घटनास्थलमा परिचालन भइसकेका छन्।

बूढीगण्डकी नदीको जलस्तर बढ्दै गएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्री गुरुङले आग्रह गरेका छन्।

उनले विशेषगरी सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन तथा सुरक्षित स्थानमा स्थानान्तरण हुन अनुरोध गरेका छन्।

गृहमन्त्री गुरुङले विपद्को यस घडीमा धैर्य कायम राख्दै आफ्नो तथा परिवारको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्। साथै, आपत्कालीन सहायताका लागि गृह मन्त्रालयको १२३४ नम्बरमा सम्पर्क गर्नसमेत अनुरोध गरेका छन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्