Skip to content

वीरगञ्जमा १५१ मिटर लामो चुनरी यात्रा, गहवामाईमा दसैंको रौनक

nmb bank inside

वीरगञ्ज । हिन्दुहरुको महान् पर्व बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा वीरगञ्जमा प्रसिद्ध शक्तिपीठ गहवामाईको सम्मानमा १५१ मिटर लामो चुनरी यात्रा निकालिएको छ । महिला भक्तजनहरूको सहभागितामा निकालिएको उक्त चुनरी यात्राले वीरगञ्जको धार्मिक तथा सांस्कृतिक वातावरणलाई भक्तिमय बनाएको छ।

दसैँको पहिलो दिन आइतबार बिहानैदेखि वीरगञ्जस्थित गहवामाई मन्दिरमा दर्शनार्थी तथा श्रद्धालुहरूको बाक्लो घुइँचो लागेको थियो।

गहवामाईप्रति आस्था र श्रद्धा प्रकट गर्दै महिला भक्तजनहरूले लामो चुनरीसहित यात्रा निकालेका हुन्। धार्मिक उत्साहका साथ निकालिएको चुनरी यात्राले दसैँको रौनक थप बढाएको छ।

चुनरी यात्रामा सहभागी महिला भक्तजनहरूले माता गहवामाईको जयजयकार गर्दै धार्मिक आस्था व्यक्त गरेका थिए ।

हिन्दु धर्ममा चुनरीलाई देवीप्रतिको श्रद्धा, समर्पण र भक्तिको प्रतीकका रूपमा लिने गरिन्छ। नवरात्रको पहिलो दिन निकालिएको यस यात्राले धार्मिक परम्परा र सांस्कृतिक पहिचानको संरक्षणमा समेत योगदान पु¥याएको छ ।

घटस्थापनाका अवसरमा गहवामाई मन्दिरमा बिहानैदेखि विशेष पूजाअर्चना गरिएको थियो । श्रद्धालुहरूले मन्दिरमा पुगेर माता भगवतीको दर्शन गर्नुका साथै सुख, शान्ति, समृद्धि तथा परिवारको कल्याणको कामना गरेका थिए।

दसैँको पहिलो दिन घरघरमा जमरा राख्ने, कलश स्थापना गर्ने र दुर्गा भवानीको पूजा आराधना गर्ने परम्पराअनुसार विभिन्न स्थानमा धार्मिक गतिविधि सञ्चालन भएका छन्।

वीरगञ्ज मधेस प्रदेशको प्रमुख धार्मिक तथा सांस्कृतिक केन्द्रमध्ये एक भएकाले दसैँका अवसरमा यहाँका मन्दिर तथा शक्तिपीठहरूमा भक्तजनहरूको चहलपहल बढ्ने गरेको छ। गहवामाई मन्दिरमा वीरगञ्जसहित आसपासका क्षेत्र तथा छिमेकी मुलुक भारतबाट समेत श्रद्धालुहरू दर्शनका लागि आउने गरेका छन्।

दसैँको सुरुवातसँगै वीरगञ्जमा निकालिएको १५१ मिटर लामो चुनरी यात्राले धार्मिक आस्था, महिला सहभागिता र सांस्कृतिक एकताको सन्देश दिएको छ।

नवरात्रभर गहवामाई मन्दिरमा विशेष पूजाआजा तथा धार्मिक अनुष्ठान जारी रहने भएकाले आगामी दिनमा पनि मन्दिरमा भक्तजनहरूको चहलपहल बढ्ने अपेक्षा गरिएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्