काठमाडौं । मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम सम्पन्न भएको छ । धापासीस्थित द रामालयमा आयोजित कार्यक्रममा प्रतियोगीहरूले डिजाइनर श्री आभी बुटिकका आकर्षक पहिरनमा र्याम्प वाक गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
मिसेस नेपाल वर्ल्ड २०२६ की प्रतियोगी नम्बर ४ ऋचा शर्माले विवाहित महिलाहरूको आत्मविश्वास बढाउन र प्रतिभा प्रदर्शन गर्न प्रतियोगिता राम्रो मञ्च बनेको बताइन् । ललितपुरको धोबीघाटमा बस्दै आएकी शर्माले मिसेस नेपाल वर्ल्डमा सहभागी हुनु आफ्नो सपना रहेको उल्लेख गरिन् ।
महिलाहरूलाई अगाडि बढ्ने चाहना हुँदाहुँदै पनि विविध कारणले नसक्ने भन्दै उनले प्रयास नगरेसम्म आफ्नो क्षमता र सीमाबारे थाहा नहुने बताइन् । महिलाहरूले आफ्ना इच्छा र बाल्यकालदेखि अधुरा रहेका चाहना पूरा गर्न यस्ता अवसरको उपयोग गर्नुपर्ने उनको भनाइ छ ।
‘यो महिलाहरूका लागि अगाडि बढ्ने राम्रो मञ्च हो। यो जीवनको दोस्रो अवसरजस्तै हो। अविवाहित महिलाले मात्र नभई विवाहित महिलाले पनि यस्ता प्रतियोगितामा भाग लिन सक्छन्,’ शर्माले भनिन् ।
उनका अनुसार प्रतियोगितामा सहभागी हुँदा र्याम्प वाकमा मात्र सीमित नभई ग्रुमिङलगायत विभिन्न कक्षामार्फत धेरै कुरा सिक्ने अवसर मिल्छ । यसले महिलाहरूको आत्मविश्वास बढाउन र आफ्नो प्रतिभा प्रस्तुत गर्न सहयोग पुग्ने उनले बताइन् ।
कार्यक्रममा सहभागी छाला रोग विशेषज्ञ डा. सुचना मराठाले पनि मिसेस नेपाल वर्ल्ड विवाहित महिलाहरूका लागि प्रतिभा प्रदर्शन गर्ने राम्रो मञ्च भएको बताइन् । प्रतियोगितामार्फत महिलाहरूले आफ्ना क्षमता र प्रतिभा प्रस्तुत गर्न सक्ने उनको भनाइ छ । आयोजकसँग जोडिएपछि मात्र आफूले कार्यक्रमबारे विस्तृत रूपमा थाहा पाएको बताउँदै डा. मराठाले प्रतियोगीहरूको छालाको स्वास्थ्य र हेरचाहका विषयमा पनि आफूले सहयोग गरिरहेको जानकारी दिइन् । ग्ल्याम नाइटमा प्रस्तुत पहिरन र कार्यक्रमको व्यवस्थापनको प्रशंसा गर्दै उनले आयोजक तथा द रामालयप्रति आभार व्यक्त गरिन् ।
रिबन इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष निसुकान्त झाले प्रतियोगीहरूको उत्साहपूर्ण सहभागिता र मञ्चमा देखिएको आत्मविश्वास प्रशंसनीय रहेको बताए। घरपरिवार र दैनिक जिम्मेवारीमा सीमित रहेका महिलाहरूले मञ्चमा आएर आफ्नो क्षमता प्रस्तुत गर्नु खुसीको विषय भएको उनले उल्लेख गरे ।
झाका अनुसार मिसेस नेपाल वर्ल्डको यो पाँचौँ संस्करण हो भने मिसेस नेपाल इन्टरनेसनलको दसौँ संस्करण हो । यस वर्षदेखि ‘मिसेस नेपाल कस्मो’ पनि थपिएको छ, जसको पहिलो संस्करण आयोजना हुँदै छ ।
प्रतियोगितामा सहभागी हुन २१ देखि ५० वर्षसम्मको उमेर हुनुपर्ने व्यवस्था रहेको झाले जानकारी दिए । विवाहित, सम्बन्धविच्छेद भएका वा एकल महिलाका लागि ‘एमएस नेपाल’ विधा पनि रहेको उनले बताए ।
ग्ल्याम नाइटपछि प्रतियोगिता ग्रान्ड फिनालेतर्फ अघि बढ्ने आयोजकले जनाएको छ । ग्रान्ड फिनाले आगामी कात्तिक १४ गते नेपाल पुलिस क्लबमा आयोजना हुने अध्यक्ष झाले जानकारी दिए। प्रतियोगितालाई सफल बनाउन प्रतियोगी, दर्शक तथा शुभेच्छुकहरूको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ ।











Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्