ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा यतिबेला पर्यटकहरूको चहलपहल सुरु भएको छ । भदौको तेस्रो सातादेखि नै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरू भ्रमणका लागि आउन थालेका हुन् ।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् घुन्सा पर्यटन जाँच चौकीका अनुसार हालसम्म १७० जना बाह्य पर्यटक कञ्चनजंघा हिमालको आधार शिविरतर्फ प्रस्थान गरिसकेका छन् । केही पर्यटक आधार शिविर पुगिसकेका छन् भने केही घुन्सा क्षेत्रमा अनुकूलन (एक्लिमिटाइजेसन) का लागि विश्राम गरिरहेका छन् ।
विशेष गरी साहसिक यात्रा, पदयात्रा (ट्रेकिङ) र हिमाल आरोहणका लागि कञ्चनजंघा रोज्ने विदेशी पर्यटकहरूको संख्या बर्सेनि बढ्दै गएको छ । यस याममा मुख्यतया फ्रान्स, अस्ट्रेलिया, जर्मनी र अमेरिकालगायत मुलुकबाट पर्यटकहरू आएको पर्यटन सहायक टासीतेन्जिङ शेर्पाले जानकारी दिए। गत वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएपछि स्थानीय व्यवसायीहरू उत्साहित बनेका छन् ।
वर्षमा दुई पर्यटकीय याम
कञ्चनजंघा क्षेत्रमा वर्षभरिमा दुई मुख्य पर्यटकीय याम हुन्छन्। पहिलो याम वसन्त ऋतुअन्तर्गत चैत, वैशाख र जेठमा चल्छ भने दोस्रो याम शरद ऋतुअन्तर्गत भदौदेखि मंसिरसम्म सञ्चालन हुन्छ । असार र साउनमा अत्यधिक वर्षाका कारण पदमार्ग अवरुद्ध हुने तथा पुस, माघ र फागुनमा हिमपातका कारण यात्रा जोखिमपूर्ण हुने भएकाले पर्यटक आगमन न्यून रहने गर्छ ।
पछिल्ला वर्षहरूमा बाह्यसँगै आन्तरिक पर्यटकको रोजाइमा पनि कञ्चनजंघा पर्न थालेको छ । विशेष गरी दशैं–तिहारको बिदामा नेपाली पर्यटकहरू परिवार तथा साथीभाइसहित आधार शिविरसम्म पुग्ने गरेका छन् । होटल व्यवसायी सेराप शेर्पाका अनुसार चाडपर्वका बेला कञ्चनजंघा क्षेत्रका होटल तथा लजहरू आन्तरिक पर्यटकले भरिभराउ हुने गरेका छन् । यद्यपि, आन्तरिक पर्यटकको आधिकारिक लगत भने जाँच चौकीमा दर्ता हुने गरेको छैन ।
पर्यटक आगमन बढेसँगै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ । पदयात्रा गाइड, भरिया, होटल तथा लज व्यवसायी, यातायात व्यवसायी र स्थानीय हस्तकला व्यापारीहरूको आम्दानी बढेको छ । व्यवसायीहरूका अनुसार यस याममा होटल व्यवसायको आम्दानीमा ३० प्रतिशतभन्दा बढी वृद्धि हुने अनुमान गरिएको छ। विदेशी पर्यटकहरू लामो समय बस्ने भएकाले गाइड, पोर्टर र क्याम्पिङ सामग्रीको माग उच्च रहेको व्यवसायी फुपुछोहाङ शेर्पा बताउँछन् ।
आधार शिविर पुग्ने मार्गहरू
समुद्री सतहबाट ८,५८६ मिटर उचाइमा रहेको कञ्चनजंघाको भ्रमण तथा अवलोकनका लागि उत्तरी र दक्षिणी गरी दुईवटा आधार शिविर रहेका छ ।
उत्तरी आधार शिविर ( पाङपेमा – ५,१४३ मिटर) :
सदरमुकाम फुङ्लिङबाट सवारीसाधनमार्फत जापानटारसम्म पुगिन्छ । त्यसपछि करिब तीन दिनको पैदल यात्रापछि प्रसिद्ध घुन्सा गाउँ पुग्न सकिन्छ । घुन्साबाट थप दुई–तीन दिनको यात्रापछि उत्तरी आधार शिविर पाङपेमा पुगिन्छ । यस मार्गमा आधारभूत सुविधायुक्त होटल, लज र होमस्टेहरूको राम्रो व्यवस्था छ ।
दक्षिणी आधार शिविर (ओक्ताङ/यालुङ – करिब ४,७३० मिटर)ः
फुङ्लिङ बजारबाट करिब सात घण्टाको सवारी यात्रापछि याम्फुदिन पुगिन्छ। त्यहाँबाट तीन दिनको पदयात्रापछि दक्षिणी आधार शिविर ओक्ताङ पुगिन्छ । यस मार्गमा पनि स्थानीय बस्ती, होमस्टे र गाइडहरूको सुविधा उपलब्ध छ ।
आरोहणको चुनौती र सम्भावना
कञ्चनजंघा प्राविधिक हिसाबले आठ हजार मिटरभन्दा अग्ला हिमालहरूमध्ये निकै कठिन र चुनौतीपूर्ण मानिन्छ । बदलिँदो मौसम, उच्च उचाइ (पातलो अक्सिजन) र हिमपहिरोको जोखिमका कारण यसको आरोहणमा उच्च स्तरको शारीरिक तयारी, तालिम र अनुभवी शेर्पाहरूको सहयोग अपरिहार्य हुन्छ ।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र स्थानीय प्रशासनले यस क्षेत्रमा पर्यटन पूर्वाधार विस्तारका लागि नयाँ पदमार्गको विकास, भरपर्दो सञ्चार (इन्टरनेट) सुविधा, प्राथमिक स्वास्थ्य केन्द्र तथा पर्यावरणमैत्री शौचालय निर्माणमा जोड दिएका छन् । पदमार्गमा थप सूचनापाटी र आपत्कालीन उद्धारको भरपर्दो व्यवस्था मिलाउन सके कञ्चनजंघा अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट साहसिक गन्तव्यका रूपमा स्थापित हुने स्थानीय व्यवसायीहरूको विश्वास छ ।





Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्