काठमाडौं । नेपाल टेलिकमका ग्राहकले अब सिमकार्ड लिन कार्यालय धाउनुपर्ने झन्झटबाट राहत पाउने भएका छन् । नेपाल टेलिकमले हुलाक सेवा विभागसँग सहकार्य गर्दै ग्राहकको घरमै सिमकार्ड पुर्याउने सेवा सुरु गरेको हो।
बुधबारदेखि सुरु भएको यस सेवाको शुभारम्भ सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले हुलाक सेवा विभागमा आयोजित कार्यक्रममा गरेका हुन् । उनले हुलाक सेवामार्फत आफैँ सिमकार्ड ग्रहण गर्दै सेवाको सुरुआत गरेका थिए ।
सेवा सुरु भएसँगै हुलाक सेवा विभागको देशव्यापी सञ्जाल प्रयोग गरेर ग्राहकसम्म सिमकार्ड पुर्याइनेछ । यसले विशेषगरी सिमकार्ड लिन टेलिकमका कार्यालयसम्म पुग्नुपर्ने ग्राहकलाई सहज हुने अपेक्षा गरिएको छ ।
सेवा शुभारम्भका क्रममा मन्त्री तिमल्सिनाले तोकिएको समयभन्दा अगावै सिमकार्ड पुर्याउने प्रयास गर्न निर्देशन दिएका छन् । सिमकार्ड वितरणमा लाग्ने समय र सेवाग्राहीको सन्तुष्टिलाई आधार बनाएर सेवा थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।
उनले हुलाक सेवाको क्षमता विस्तार गरी आगामी दिनमा एक–दुई दिन लाग्ने डेलिभरीलाई केही घण्टाभित्रै सम्पन्न गर्न सक्ने व्यवस्था विकास गर्नुपर्नेमा समेत जोड दिएका छन् । विशेषगरी सहरी क्षेत्रमा छिटो डेलिभरी दिन सकिने सम्भावना रहेको उनले उल्लेख गरेका छन् ।
सरकारी स्वामित्वका दुई निकायबीचको सहकार्यले नेपाल टेलिकमको सेवा नागरिकको घरदैलोसम्म पुर्याउन सहज हुने विश्वास गरिएको छ । यसबाट हुलाक सेवाको उपयोगिता बढ्नुका साथै नागरिकले सरकारी सेवा प्राप्त गर्न थप सहजता अनुभव गर्ने अपेक्षा गरिएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्