घेवा गर्दा ६ लोकमा जन्म लिनु नपर्ने र सुखावतीमा बास हुने विश्वास
काठमाडौं । बौद्ध धर्मावलम्बीको अन्तिम संस्कारअन्तर्गत दिन्ची दिम्पाको दिना गोङ्जो घेवा गर्दा मृतकले ६ लोकमा पुनर्जन्म लिनु नपरी सुखावतीमा जन्म लिने र आनन्द, सुख तथा शान्ति प्राप्त गर्ने विश्वास रहेको लामाले बताएका छन् ।
बुधबार स्वयम्भूस्थित ब्रकार गुम्बामा ११ जना बौद्ध धर्मावलम्बीको अन्तिम संस्कारअन्तर्गत दिन्ची दिम्पाको दिना गोङ्जो घेवा गरिएको हो ।
उक्त अनुष्ठानका क्रममा नेपाल न्यूज बैंकसँग कुरा गर्दै लामाले बौद्ध परम्परामा मृतकको चिरशान्ति र सद्गतिका लागि माने जप्ने तथा ‘ॐ मणि पद्मे हुँ’ मन्त्र उच्चारण गर्ने चलन रहेको बताए ।
उनका अनुसार बौद्ध दर्शनमा देवलोक, असुरलोक, मनुष्यलोक, पशुलोक, प्रेतलोक र नर्कलोक गरी ६ लोकको अवधारणा छ । यी लोकमा जन्म लिएपछि विभिन्न प्रकारका दुःख भोग्नुपर्ने विश्वास गरिन्छ । त्यसैले मृतकले ६ लोकमा पुनर्जन्म लिनु नपरी सुखावतीमा जन्म लिऊन् भन्ने कामनासहित धार्मिक अनुष्ठान गरिने उनले बताए ।
लामाका अनुसार सुखावती अमिताभ बुद्धसँग सम्बन्धित शुद्धभूमि हो, जहाँ जन्म लिएपछि दुःख, मृत्यु र पुनर्जन्मको चक्रबाट मुक्त हुने विश्वास गरिन्छ ।
‘आत्माको चिरशान्तिको लागि, ६ लोकमा जन्म नलिओस् भन्नको लागि माने गर्ने हो। ६ लोकमा जन्म लिए विभिन्न दुःखहरू छन्,’ उनले भने, ‘देवलोकमा पनि जन्म नलिओस्, असुरलोकमा पनि जन्म नलिओस्, मनुष्यलोकमा पनि जन्म नलिओस्, पशुलोकमा पनि जन्म नलिओस्, प्रेतलोकमा पनि जन्म नलिओस्, नर्कलोकमा पनि जन्म नलिओस्। सिधै सुखावतीमा, अमिताभको त्यो ठाउँमा, आनन्द, सुख र शान्ति भएको स्वर्गमा जन्म लिओस्।’
उनले सुखावतीमा जन्म लिन पाएपछि फेरि आमाको कोखबाट जन्म लिनुपर्ने र मृत्युको चक्रमा पर्नुपर्ने अवस्था नआउने बौद्ध मान्यता रहेको बताए । त्यहाँ सुख, शान्ति र आनन्द प्राप्त हुने विश्वासका साथ मृतकका नाममा प्रार्थना गरिने उनको भनाइ छ ।
लामाले ‘ॐ मणि पद्मे हुँ’ मन्त्र जप्नु र माने गर्नु सबै प्राणीको कल्याणसँग जोडिएको बताए । यस्तो धार्मिक अभ्यासले सबै प्राणीले विगतका पापबाट मुक्ति पाऊन् र सुख–शान्ति प्राप्त गरून् भन्ने कामना गरिने उनले उल्लेख गरे ।
उनले देवलोकमा जन्म लिनु पनि स्थायी मुक्ति नभएको उदाहरण दिँदै त्यहाँको सुख र लामो आयु समाप्त भएपछि पुनः दुःखको चक्रमा पर्न सकिने बौद्ध मान्यता सुनाए ।
उनका अनुसार देवलोकमा लामो आयु र सुखसुविधा भए पनि त्यसमा रमाउँदा धर्म र ज्ञानप्रतिको ध्यान हराउन सक्ने तथा आयु समाप्त भएपछि पुनर्जन्मको चक्रमा पर्न सकिने विश्वास छ ।
त्यस्तै, असुरलोकलाई डाहा, प्रतिस्पर्धा र झगडाले भरिएको लोकका रूपमा व्याख्या गर्दै उनले त्यहाँ सुख र शान्ति प्राप्त गर्न कठिन हुने बताए ।
उनले ६ लोकसम्बन्धी बौद्ध मान्यता र सुखावतीमा जन्म लिने कामनाको व्याख्या गर्दै घेवा तथा माने जपलाई मृतकको सद्गति र सम्पूर्ण प्राणीको कल्याणका लागि गरिने धार्मिक अभ्यासका रूपमा प्रस्तुत गरे ।
बुधबार ब्रकार गुम्बामा गरिएको अनुष्ठानमा बाढीमा ज्यान गुमाएकाहरूको चिरशान्ति तथा सद्गतिको कामना गरिएको थियो ।


Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्