महाअष्टमीलाई भगवतीको प्राकट्य दिवसका रूपमा विशेष महत्व दिइन्छ : डा.नारायण प्रसाद निरौला
काठमाडौं । बडादशैंको आठौँ दिन आश्विन शुक्ल अष्टमीका अवसरमा नेपालीहरूले महाअष्टमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् । देशभर दुर्गा भवानीको विशेष पूजाआराधना गरि महाअष्टमी पर्व मनाउने चलन छ ।
महाअष्टमीका दिन विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गर्ने परम्परा छ । यस दिन देवीलाई विधिपूर्वक पूजा गरी शक्ति, समृद्धि तथा सुख–शान्तिको कामना गर्ने गरिन्छ ।
उपप्राध्यापक डा.नारायण प्रसाद निरौलाले महाअष्टमीलाई भगवतीको प्राकट्य भएको विशेष दिनका रूपमा लिइने भएकाले यसको धार्मिक तथा आध्यात्मिक महत्व रहेको बताए ।
उनका अनुसार नवरात्रको सप्तमीमा फूलपाती भित्र्याएपछि अष्टमी र नवमीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । त्यसमध्ये महाअष्टमीलाई भगवतीको प्राकट्यसँग जोडेर विशेष आराधना गर्ने परम्परा रहेको उनले बताए ।
उनले भने, ‘मूलतः भगवतीको प्राकट्य भएको अष्टमी हो । अष्टमीलाई महाअष्टमी पनि भनिन्छ । भगवतीको प्राकट्य भएको समय भएकाले यो उहाँको प्रिय दिनका रूपमा विशेष मानिन्छ ।’
डा. निरौलाले भगवतीको साकार रूपमा प्रादुर्भाव भएको कथाहरू देवी पुराण तथा दुर्गा सप्तशतीमा उल्लेख रहेको बताए । भगवतीको प्राकट्य अष्टमीका दिन भएको धार्मिक मान्यताका कारण यो दिनलाई ‘महाअष्टमी’ भनिएको उनले बताए ।
उनले महाअष्टमीलाई भगवतीको प्रिय दिनका रूपमा समेत लिइने बताए । उनका अनुसार जसरी मानिसले आफ्नो जन्मदिनलाई विशेष खुसीको दिनका रूपमा मनाउँछ, त्यसैगरी भगवतीको प्राकट्य भएको दिन भएकाले महाअष्टमीलाई विशेष महत्व दिइन्छ ।
उनले भने, ‘मूलतः भगवतीको प्राकट्य भएको अष्टमी हो । महाअष्टमी पनि भनिन्छ । भगवतीको प्रिय दिन पनि हो । जसरी हामीले जन्मोत्सव मनाउँछौँ, खुसीको दिन हुन्छ, त्यसैगरी भगवतीको यो प्राकट्य भएको समय भएकाले गर्दा महाअष्टमी विशेष रहन्छ ।’
उनले महाअष्टमीका दिन भगवतीको विशेष आराधना गर्ने, देवीलाई प्रिय मानिएका वस्तुहरू अर्पण गर्ने तथा विभिन्न पूजाविधि सम्पन्न गर्ने परम्परा रहेको उल्लेख गरे । यस्तो आराधनाबाट अभीष्ट फल प्राप्त हुने, शक्ति प्राप्त हुने र भगवतीको कृपा प्राप्त हुने धार्मिक विश्वास रहेको पनि बताए ।
उनका अनुसार महाअष्टमीको रातलाई ‘कालरात्रि’सँग जोडेर समेत विशेष रूपमा हेरिन्छ । उनले यस समयमा देवीको दिव्य स्वरूपको दर्शन तथा आराधना गर्ने धार्मिक मान्यता रहेकाले महाअष्टमीको रातलाई पनि अत्यन्त महत्वपूर्ण समयका रूपमा लिइने बताए ।



Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्