Skip to content

शोकको घडीमा संयमित रूपमा चाडपर्व मनाउन पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आग्रह

nmb bank inside

शोकको घडीमा संयमित रूपमा चाडपर्व मनाउन पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आग्रह

नेपाली चाडपर्वको सामाजिक परिवेश बदलियो, संरक्षण जरुरी छ : आङछिरिङ शेर्पा

काठमाडौं । यस वर्षको दशैँ तिहार र छठ पर्व संयमित रूपमा मनाउन पर्वतारोही तथा एशियन ट्रेकिङ प्रालिका संस्थापक अध्यक्ष आङ छिरिङ शेर्पाले आग्रह गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी र यहि असोज २५ मा गोरखाको बूढीगण्डकी नदीमा आएको भिषणबाढीबाट ज्यान गुमाएका मानिसहरु प्रति सम्मान व्यक्त गर्दै यसवर्ष चाडपर्व मनाउनुपर्ने उनले बताए ।

देश शोकमा रहेका बेला चाडपर्वका नाममा तडकभडक नगरी अरूलाई असर नपर्ने गरी उत्सव मनाउनुपर्ने उनको भनाइ छ । दशैँ तिहार र छठको शुभकामना दिँदै उनले विपत्तिका कारण प्रभावित परिवार र समुदायको संवेदनशीलतालाई ध्यानमा राख्न सबैलाई अनुरोध गरेका हुन् ।

शेर्पाका अनुसार पछिल्लो समय चाडपर्व मनाउने शैलीमा पनि परिवर्तन आएको छ । पहिले सानो हुँदा दशैँ–तिहार नयाँ लुगा लगाउने र परिवारसँग रमाइलो गर्ने विशेष अवसरका रूपमा लिइन्थ्यो । त्यो बेलामा नयाँ लुगा लगाउँदाको उत्साह र चाडपर्वको प्रतीक्षा बेग्लै हुने गरेको उनी सम्झन्छन् । तर अहिले नियमित रूपमा नयाँ लुगा लगाउने अवसर बढेकाले पहिलेको तुलनामा चाडपर्वप्रतिको उत्साह केही घटेको उनको बुझाइ छ ।

त्यसैगरी, क्रिसमस र अन्तर्राष्ट्रिय नयाँ वर्षलगायतका पर्व मनाउने चलन बढ्दै जाँदा नेपाली चाडपर्वको सामाजिक परिवेश पनि बदलिएको उनले बताए । यस्ता परिवर्तनका बीच आफ्ना संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

पर्यटन व्यवसायीका लागि भने दसैँ–तिहारको समय व्यस्त हुने गरेको शेर्पाले बताए । यही समयमा पर्यटकको आगमन बढी हुने भएकाले व्यवसायीले चाडपर्व मनाउनुका साथै पर्यटकलाई सेवा दिनुपर्ने दोहोरो जिम्मेवारी निर्वाह गर्नुपर्छ । कर्मचारीलाई बिदा दिनुपर्ने र उनीहरूको अनुपस्थितिमा पनि पर्यटकलाई नियमित सेवा उपलब्ध गराउनुपर्ने भएकाले पर्यटन व्यवसायीले परिवारसँग समय बिताउनसमेत कठिन हुने उनले बताए ।

उनका अनुसार पर्यटन व्यवसायीले चाडपर्वका अवसरमा आयोजना हुने सबै कार्यक्रममा सहभागी हुन नसके पनि नेपाली संस्कृति र परम्पराको प्रचारप्रसारमा योगदान दिन सक्छन् । पर्यटन क्षेक्रमा आबद्ध व्यत्तिहरूले नेपालका चाडपर्व, संस्कृति र परम्पराबारे अध्ययन तथा अनुसन्धान गरी त्यसको सकारात्मक सन्देश पर्यटकमाझ पुर्‍याउनुपर्ने उनले बताए ।

शेर्पाले पर्यटनलाई रोजगारी र राजस्व सिर्जनासँग जोड्दै नयाँ सम्भावनाको खोजी पनि निरन्तर गर्नुपर्ने बताए । उनका अनुसार पर्यटनसँग सम्बन्धित उद्योग तथा व्यवसाय विस्तारले देशमा रोजगारीका अवसर बढाउनुका साथै राजस्व वृद्धिमा सहयोग पुर्‍याउन सक्छ ।

उनले चाडपर्वलाई मनोरञ्जनमा मात्र सीमित नराखी नेपाली संस्कृति बुझ्ने, त्यसको सम्मान गर्ने र अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको पहिचान प्रवर्द्धन गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्