Skip to content

कुनै पनि बाहानामा सञ्चारमाध्यमलाई त्रसित पार्ने, दबाबमा राख्ने प्रयासहरू अस्वीकार्य : रास्वपा

nmb bank inside

कुनै पनि बाहानामा सञ्चारमाध्यमलाई त्रसित पार्ने, दबाबमा राख्ने प्रयासहरू अस्वीकार्य : रास्वपा 

काठमाडौं । विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समाचार लेखेकै आधारमा प्रहरीले कार्यालयमै पुगेर नियन्त्रणमा लिएको तथा खोजी जारी राखेको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

पार्टीका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा लोकतान्त्रिक प्रणालीमाथि प्रहार गर्ने यस्तो कार्यप्रति कडा आपत्ति जनाइएको छ ।

खरेलका अनुसार लोकतन्त्रको प्राण र सौन्दर्य नै यसका स्वायत्त, सक्षम र उत्तरदायी संस्था हुन् । नागरिकको आवाज मुखरित गर्ने सञ्चार जगतको भूमिका सदैव अग्रपङ्क्तिमा रहन्छ । तर, कानुन कार्यान्वयनको आवरणमा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने, सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने र लोकतान्त्रिक संस्थालाई सङ्कुचित पार्ने कुनै पनि कार्यशैली स्वीकार्य हुन नसक्ने रास्वपाको ठहर छ । 

समाचारमा चित्त नबुझे वा उजुरी भएमा राज्यले स्थापित गरेका निश्चित विधि, न्यायिक प्रक्रिया र कानुनी निकायहरू क्रियाशील रहेको अवस्थामा, स्थापित कानुनी बाटो छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लङ्घन भएको रास्वपाले जनाएको छ । 

कुनै पनि बाहानामा सञ्चारमाध्यमलाई त्रसित पार्ने, मनोवैज्ञानिक दबाबमा राख्ने वा सङ्कुचित पार्ने प्रयासहरू अस्वीकार्य रहेको पार्टीले स्पष्ट पारेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले समाचार लेखेकै आधारमा नियन्त्रणमा लिइएका सञ्चारकर्मीलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न तथा घटनाको निष्पक्ष, पारदर्शी र यथार्थ छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । साथै, कुनै पनि भय र त्रासका बाबजुद निर्भिकतापूर्वक सत्य, तथ्य र निष्ठाको पत्रकारिताको पक्षमा उभिन आह्वान गर्दै सम्पूर्ण सञ्चार जगतप्रति हार्दिक ऐक्यबद्धता प्रकट गरिएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्