रिहाइपछि पत्रकार सुवेदीले भने– ‘प्रहरीप्रतिको पुरानो विश्वासमा धक्का पुगेको छ’
काठमाडौं । सोधपुछका लागि भनेर नेपाल प्रेसको कार्यालयबाट सादा पहिरनमा रहेका प्रहरीले लिएर गएका पत्रकार विश्वमणि सुवेदी रिहा भएका छन् ।
रिहाइपछि नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै सुवेदीले प्रहरी प्रशासनप्रतिको आफ्नो पुरानो विश्वासमा धक्का पुगेको बताएका छन् ।
उनले आफूले सधैँ प्रहरी प्रशासनमाथि विश्वास राखेर आफ्नो कर्तव्य निर्वाह गर्दै आएको र प्रहरी प्रशासनप्रति उच्च सम्मान रहेको बताए । तर समाचार कक्षमै प्रवेश गरेर समाचारको विषयलाई लिएर आफूसँग सोधपुछ गरिएको र नियन्त्रणमा लिइएको घटनाले आफूलाई दुःखी बनाएको उनको भनाइ छ ।
सुवेदीले भने, ‘मैले सधैँ प्रहरी प्रशासनमाथि विश्वास गरेर आफ्नो कर्तव्य निर्वाह गरेँ। प्रहरी प्रशासनप्रति मेरो सधैँ उच्च सम्मान थियो। तर आज समाचार कक्षमै पसेर समाचारको विषयलाई लिएर जसरी मसँग सोधपुछ गरियो र नियन्त्रणमा लिइयो, त्यसले मलाई साह्रै चित्त दुखेको छ। यसले प्रहरीप्रतिको मेरो पुरानो विश्वासमा धक्का पुगेको छ।’
आफूलाई परेको समस्यामा ऐक्यबद्धता जनाउने तथा साथ र समर्थन व्यक्त गर्ने सम्पूर्ण साथीभाइ र शुभचिन्तकप्रति उनले आभार व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्