Skip to content

सामाजिक उद्यमशीलता तथा नेतृत्व अवार्ड–२०२६ सम्पन्न

nmb bank inside

सामाजिक उद्यमशीलता तथा नेतृत्व अवार्ड–२०२६ सम्पन्न

काठमाडौं । भाइब्रेन्ट तराई मधेशको आयोजनामा तथा मधेशी पत्रकार समाजको प्रवद्र्धनमा आयोजित सामाजिक उद्यमशीलता तथा नेतृत्व अवार्ड–२०२६ सम्पन्न भएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मधेशसहित विभिन्न क्षेत्रका सामाजिक उद्यमी, व्यवसायी, नेतृत्वकर्ता तथा विभिन्न विधामा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि राजर्षि जनक विश्वविद्यालयका पूर्वउपकुलपति अमर यादवले सामाजिक उद्यमशीलता तथा नेतृत्व अवार्डको सान्दर्भिकता र उपयोगिताबारे चर्चा गर्दै देशको आर्थिक तथा सामाजिक विकासमा उद्यमशीलताको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले मुलुकको समृद्धिका लागि उद्यमशीलता प्रवद्र्धन र त्यसमा युवाहरूको सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे । 

कार्यक्रमका विशिष्ट अतिथि उद्योगपति राज लामाले रोजगारी तथा अवसरको खोजीमा विदेश जानुभन्दा स्वदेशमै उपलब्ध सम्भावनाको उपयोग गर्दै उद्यम तथा व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए । स्वदेशमै रहेर आर्थिक गतिविधिमा योगदान पुर्‍याउनु देशको विकास र उत्थानमा सहयोगी हुने उनको भनाइ थियो । उनले उद्यमशीलताको विकासका लागि सबै पक्षको सक्रिय सहभागिता र सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा विभिन्न जिल्ला तथा क्षेत्रबाट सामाजिक उद्यमशीलता, व्यवसाय, नेतृत्व र सिर्जनात्मक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरू सम्मानित तथा पुरस्कृत भएका छन् । 

सम्मानित तथा पुरस्कृत हुनेहरूमा सप्तरीबाट मिथिला थिङ्सका क्रिएटिभ निर्देशक खुसी कर्ण, सिरहाबाट राम शोभित नायक, धनुषाबाट पंकज जलान, महोत्तरीबाट रमण कर्ण, सर्लाहीबाट सञ्जय कुमार जयसवाल, रौतहटबाट उमेश कार्की, बाराबाट राजेश कुमार सिंह र पर्साबाट डा. अञ्जय मिश्र रहेका छन् । 

त्यसैगरी लुम्बिनी प्रदेशको रुपन्देहीबाट डा. दिनेश चमार तथा चर्चित कमेडियन शुभम सिंह पनि सम्मानित भएका छन् । 

सम्मानित तथा पुरस्कृत व्यक्तिहरूले यस प्रकारको सम्मानले आफूहरूलाई आफ्नो क्षेत्रमा थप सक्रिय भएर काम गर्न प्रेरणा र हौसला मिल्ने बताएका छन्। उनीहरूले सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउन यस्ता कार्यक्रमले सकारात्मक भूमिका खेल्ने धारणा व्यक्त गरे । 

आयोजकका अनुसार अवार्डको उद्देश्य सामाजिक उद्यमशीलता, नेतृत्व क्षमता र सिर्जनात्मक योगदानलाई प्रोत्साहन गर्दै समाजमा सकारात्मक परिवर्तनका लागि प्रेरित गर्नु रहेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्