Skip to content

एनपीएलः पोखराको सानदार पुनरागमन, कर्णाली ६३ रनले पराजित

nmb bank inside

एनपीएलः पोखराको सानदार पुनरागमन, कर्णाली ६३ रनले पराजित

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले सानदार पुनरागमन गरेको छ । आज भएको पहिलो खेलमा पोखराले कर्णाली याक्सलाई  ६३ रनले हरायो । पोखराको पाँच खेलमा यो पहिलो जित हो। यो जितबाट पोखराले दुई अंक समेत जोड्यो । 

कर्णाली भने आजको हारबाट सातौं स्थानमा झरेको छ । पाँच खेलमा कर्णालीले दुई मात्रै जितेको छ ।  

जितका लागि पाएको २१८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमा अलआउट भयो । जसमा पवन सराफले ३२,अरिफूल स्लामले २४,दिपक डुमेले २२ रन बनाएपनि जितका लागि पर्याप्त भएन ।

पोखराका महदी हसनले ३, धनन्जय लक्षन,कुशल भुर्तेल र विपिन खत्रीले २/२ विकेट हात पारे । 

यसअघि कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २१७ रन बनायो । यो प्रतियोगिताकै उच्च लक्ष्य हो । 

जसमा युवराज सामराले शतक र कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । सामरा १०२ र भुर्तेल ६२ रनमा आउट भए । यी दुबै ब्याटरबीच १३६ रनको कीर्तिमानी साझेदारी भयो। यो जारी सिजनको उच्च साझेदारी हो । सामराको शतक पनि जारी सिजनको पहिलो शतक हो । 

कर्णालीका कप्तान सोमपाल कामीले २,मार्क वाटले १ विकेट लिए । आजको दोस्रो खेलमा चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्