देउसीभैलोलाई छेक्दैन उमेरले
संस्कृति जोगाउन जुट्दै ज्येष्ठ नागरिकदेखि युवापुस्तासम्म
मनिषा बस्नेत, नेपाल न्यूज बैंक
काठमाडौं । काठमाडौंको आलोकनगरमा ज्येष्ठ उमेर समूहका गोपालप्रसाद शर्मा सोमबार दिउँसो हस्याङफस्याङ गरिरहेका देखिन्थे । उनको व्यस्तताको कारण थियो– देउसीभैलो खेल्ने समूह तयार पार्नु । पाका उमेरका शर्मा देउसीभैलो खेल्न अन्य व्यक्तिलाई पनि फोन गरेर बोलाइरहेका थिए । तिहारको रौनकसँगै देउसी र भैलोका भाका गुञ्जिरहेका थिए ।
आलोकनगर समुदायका अध्यक्षसमेत रहेका शर्माको सक्रियतामा सबै उमेर समूहका व्यक्तिहरू जम्मा भए । उनीहरू परम्परागत देउसीभैलोका गीत–संगीतको लयमा नाचिरहेका थिए । नेपाली समाजमा परम्परागत रूपमा स्थापित संस्कृतिको जगेर्ना गर्न उमेरले छेक्दैन भन्ने उदाहरण आलोकनगरको यो दृश्यले देखाउँथ्यो । आलोकनगरलगायत काठमाडौंका विभिन्न ठाउँमा सोमबार बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म देउसीभैलोमा सक्रिय देखिए ।
शर्माले आफ्नो समुदायमा सात वर्षदेखि देउसीभैलो कार्यक्रम सञ्चालन गर्दै आएको बताए । युवा पुस्तालाई संस्कार, संस्कृति र धर्मबारे जानकारी गराउँदै परम्परालाई निरन्तरता दिन कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।
‘यो हाम्रो संस्था स्थापना कालदेखि नै हामीले यो देउसीभैलोको कार्यक्रम राखेका छौँ। हाम्रो आजभन्दा सात वर्ष अगाडिदेखि राखेको हो । देउसीभैलो गर्ने उद्देश्य हाम्रो यो युवा पिँढीहरूलाई हाम्रो संस्कार, संस्कृति, धर्मको बारेमा निरन्तरता दिऊन्, जानकारी होस् भनेर हामीले यो टोल समुदायमा आफ्नो समुदायभित्र यो कार्यक्रम गर्छौँ,’ उनले भने ।
पहिले देउसीभैलोलाई चन्दा उठाउने माध्यमका रूपमा बुझ्ने गरिए पनि अहिले संस्कार र संस्कृति संरक्षणको उद्देश्यले खेल्ने परम्पराका रूपमा समुदायमा बुझाइ विकास भएको उनले बताए ।
उनले भने, ‘हामीले पहिलेभन्दा फरक पाएका छौँ । किनभने पहिले चन्दा उठाउन आए भन्ने कुरा हुन्थ्यो भने अहिले यो हाम्रो संस्कार, संस्कृति, धर्म संरक्षणको लागि हो । यसलाई निरन्तरता दिनुपर्छ भन्ने कुरा समुदायहरूमा जागरण आएको छ ।’
देउसीभैलोका नाममा मदिरा सेवन र हुलहुज्जत गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै परम्परागत संस्कृतिको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । ‘अहिले विभिन्न किसिमको नाचगान गर्ने, जस्तो रक्सीहरू, मदिरा सेवन गर्ने, हुलहुज्जत गर्ने गर्छन्, त्यो नहोस् भनेर हामीले जागरण गराउने हिसाबले यसलाई निरन्तरता दिनुपर्छ । यो हाम्रो संस्कार संस्कृति हो र युवा पिँढीहरू जागून् भन्ने हाम्रो भावना हो,’ उनले भने ।
समूहकी सदस्य गायत्री आचार्यले आफूले बाल्यकालदेखि नै देउसीभैलो खेल्दै आएको बताइन् । उनका अनुसार लक्ष्मीपूजापछि भैलिनी खेल्न जाने परम्परा बाल्यकालदेखि नै उनको अनुभवसँग जोडिएको छ ।
‘हामी त बच्चादेखि नै देउसीभैलो, भैलिनी खेल्दै हिँड्थ्यौँ । घरमा लक्ष्मीपूजा भइसकेपछि हामी भैलिनी खेल्दै सानै उमेरदेखि नै हिँड्थ्यौँ अब ठूलो भएपछि समुदायमा संस्कृति बचाउनको लागि भनेर खेलिरहेका छौ । पहिलेदेखि नै बलिराजाको पालादेखि भनेर भन्छौ अब बलिराजा कस्तो के भन्दा पनि हामीले हाम्रो धर्म, संस्कृतिलाई बचाउनको लागि हामीले यो गर्नुपर्छ । हाम्रो हिन्दु देश हो। त्यसैले गर्दा बचाउनुपर्छ,’ उनले भनिन् ।
देउसीभैलोले परिवार र समुदायबीचको सम्बन्ध जोड्ने काम गर्ने आचार्यको भनाइ छ । उनले भनिन्, ‘बाह्रै महिनामा हाम्रा चाडपर्व हुन्छन् । त्यसैगरी यो लक्ष्मीपूजा, हाम्रो भाइटीका र अनि हाम्रो देउसीभैलो यो भित्र पर्ने हुनाले माया प्रेम जोड्ने यो चाड हो । यो तिहार भनेको विशेष भाइ दाजुभाइ, दिदीबहिनीबीचको माया प्रेम हो । हाम्रो संस्कृति टाढा हुन लाग्यो । त्यसैले गर्दा हाम्रो समुदायले परम्परादेखि चलिआएका हाम्रा संस्कृतिहरू बचाउन लागिरहेका छौँ र लाग्ने कोसिस गर्दैछौँ।’
बाल्यकालमा खेलिने भैलिनीका गीत र अहिलेको देउसीभैलोमा आएको परिवर्तनबारे पनि उनले आफ्नो अनुभव सुनाइन् ।
‘अब सानो बालापनमा खेलेको हामी भैलिनी भन्न जान्थ्यौँ। भैलिनी आए आँगन, गुन्युचोलो मागन, हे औँसी बार गाई तिहार भैलो भन्दै हामी हिँड्थ्यौँ । अनि छानामाथि घिरौला, के के दिन्छ हेरौला । त्यस्तै रमाइला कुरा गर्थ्यौँ । अहिले त्यसैलाई परिमार्जन गरेर संस्कृति बचाउनुपर्छ भन्ने सन्देशमूलक कार्यक्रम मिलेर हाम्रो आलोकनगर समुदायले गर्दै आएका छौँ,’ उनले भनिन् ।
उनले तिहारका विभिन्न परम्परा र संस्कारलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याइन् ।
‘अहिलेका पुस्ताहरूलाई हाम्रो चाडपर्व के मान्नुपर्छ, के गर्नु हुँदैन, के गर्नुहुन्छ भन्ने जानकारी हुनुपर्छ । हाम्रो देश नेपालले हरेक धर्मलाई मान्ने गर्छ,’ उनले भनिन् ।
आचार्यले काग तिहारदेखि भाइटीकासम्मका पर्वमा प्रकृति, जीवजन्तु र परिवारप्रतिको सम्मान जोडिएको बताइन् ।
उनले भनिन्, ‘काग तिहार पहिलाको टेलिभिजनजस्तो कागले सन्देश लाने भन्ने चलन थियो । सन्देश कागले लाने चलन थियो । कागलाई पूजा गरेर, कुकुरलाई पूजा गरेर, लक्ष्मीलाई पूजा गरेर भाइटीका मनाइन्छ । लक्ष्मी भनेको आमासरह मानिन्छ । आज गाई पूजा गरियो । धान भित्र्याउने बेला पनि पूजा–पाठ नगरि हामीले खान मिल्दैन । हाम्रो देश यस्तो हो सबैलाई मान्ने, सबैलाई मान्यता दिने र सबैलाई इज्जत गर्ने भन्ने हाम्रो संस्कृति छ ।’
आचार्यका अनुसार अहिले देउसीभैलोमा पहिलेको तुलनामा सहभागिता घट्दै गएको अनुभव पनि छ । पहिले गाउँघरमा देउसी खेल्दा धान, चामल र सेलरोटी दिने चलन रहेको स्मरण गर्दै उनले अहिले नगद दिने चलन बढेको बताइन् ।
युवा पुस्ता विदेश पलायन हुनु र घरमा सदस्य कम हुनु अहिलेको देउसीभैलोको सहभागिता घट्नुको कारण रहेको उनको बुझाइ छ ।
सामाजिक सञ्जालमा भ्युज बटुल्ने उद्देश्यले मात्र देउसीभैलो खेल्दा यसको मौलिकता र निरन्तरता कायम नहुने उनको भनाइ छ । ‘आफ्नो संस्कार संस्कृति जगेर्ना गर्दै यसलाई प्रमोट गर्ने हिसाबमा गर्नु ठीक छ । अब यो खाली भिडियोको लागि भिडियो र अलिकति भ्युजहरू बटुल्ने उद्देश्यले मात्रै गर्दाखेरि यसले निरन्तरता दिन सक्दैन र दिगो पनि रहन सक्दैन,’ उनले भनिन् ।
तिहारको लक्ष्मीपूजा र गोवर्धन पूजासँगै जोडिएको महत्त्वपूर्ण सांस्कृतिक पक्ष देउसी–भैलो हो । नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालका अनुसार बालबालिकालाई मिठा परिकार खुवाउने, रमाइलो गराउने र दक्षिणा दिने परम्पराबाट विस्तारै देउसी–भैलो खेल्ने चलन विकास भएको हो । सुरुमा घरपरिवार र छरछिमेकमा सीमित रहेको यो परम्परा पछि टाढाटाढाका मानिससम्म फैलिएको उनले बताए।
देउसी–भैलोसँग राजा बलिको धार्मिक प्रसङ्ग पनि जोडिएको छ । उनका अनुसार कार्तिक कृष्ण त्रयोदशी, औँसी र शुक्ल प्रतिपदाका तीन दिनलाई बलिको राज्यका रूपमा लिने धार्मिक मान्यता छ ।
‘भगवान् वामनले बलिसँग तीन पाउ जमिन माग्नुभयो । बलिले आफ्नो सर्वस्व भगवान्लाई अर्पण गरेपछि उनी सुतल लोकको अधिपति बने । भगवानले तिमी के चाहन्छौ भनेर सोध्दा उनले कार्तिक कृष्ण त्रयोदशी, औँसी र शुक्ल प्रतिपदाका तीन दिन मत्र्यलोकको आधिपत्य प्राप्त गरूँ भने । भगवानले तथास्तु भन्नुभयो । त्यसैले यी तीन दिनलाई बलिको राज्य भनिएको हो,’ उनले भने ।
यसै धार्मिक प्रसङ्गका कारण देउसी खेल्ने क्रममा ‘हामी त्यसै आएनौँ, बलि राजाले पठाएको’ भन्ने भनाइ प्रचलनमा आएको उनले बताए । देउसी–भैलो केवल मनोरञ्जन र दक्षिणा सङ्कलन गर्ने माध्यम मात्र नभई दान, समर्पण र भक्तिको भावसँग समेत जोडिएको उनको भनाइ छ ।
‘बलिले आफ्नो सर्वस्व समर्पण गरेका थिए । त्यसैले हामीले पनि यो तेरो, यो मेरो भनेर बस्नु हुँदैन। ‘त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पयामि’ अर्थात् यो सम्पूर्ण चराचर जगत् हजुरकै हो, म पनि हजुरकै हुँ भन्ने भावले सबै कुरा अर्पण गर्नुपर्छ,’ उनले भने ।
देउसी–भैलो खेल्न आउनेलाई दान दिनु, लक्ष्मीको आराधना गर्नु र सम्पूर्ण जीवजन्तुमा पनि भगवान्को अंश रहेको बोध गर्नु यस पर्वको महत्त्वपूर्ण सन्देश भएको उनले बताए ।
समूहमा मिलेर गाइने गीत देउसी हो, जुन तिहारका बेला गाइन्छ । टोली नाइकेले लय हालेर नाटकीय शैलीमा भट्ट्याउने र सहभागीहरूले ‘देउसी रे’ भन्दै सामूहिक रूपमा नाच्ने चलन नेपालको मौलिक विशेषता हो ।
त्यस्तै, समूहमा मिलेर महिलाहरूले गाउने गीत भैलो हो । भैलो गाउँदा साधारणतः एक जना मुख्य हुन्छन् र समूहका अरू व्यक्तिहरूले मुख्य व्यक्तिको भैलो भन्दै गीतको अन्त्यसम्म अनुसरण गर्छन् । मुख्य व्यक्तिले गीतको अन्त्यमा गएको घरका सबै जनालाई शुभकामना र आशीर्वाद दिन्छन् भने समूहका मानिसहरू ‘भैलो’ भन्दै साथ दिन्छन् । यसरी देउसीभैलोले पुस्तौँदेखि नेपाली समाजमा धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक सद्भावलाई जोड्दै आएको छ ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्