महपूजा शरीरको सम्मान र आत्मसुरक्षाको सन्देश दिने पर्व : ज्ञानराम श्रेष्ठ
काठमाडौं । नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन मनाइने महपूजा शरीरको सम्मान, आत्मसुरक्षा र स्वस्थ जीवनको कामनासँग जोडिएको पर्व भएको राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले बताएका छन् ।
नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै श्रेष्ठले महपूजालाई केवल धार्मिक विधि र परम्पराका रूपमा मात्र नभई यसको वैज्ञानिक, सामाजिक र ज्ञानमूलक पक्षबाट समेत बुझ्नुपर्ने बताए । उनका अनुसार महपूजा मानिसले आफ्नो शरीरको महत्त्व बुझ्ने र आफूलाई स्वस्थ तथा सुरक्षित राख्न प्रेरित गर्ने मौलिक नेवारी संस्कृति हो ।
‘महको अर्थ शरीर हो । नेपाल भाषामा मह भन्ने शब्दको आफ्नै अर्थ छ । नेपाली वर्णमा नभएका अक्षर र शब्द अन्य भाषामा पनि हुन्छन् । त्यसैले महपूजा भनेको शरीरको पूजा हो,’ उनले भने ।
उनले महपूजाको महत्त्वलाई बुझ्न यसको धार्मिक पक्षसँगै मानव सभ्यताको विकास र मानिसको जीवनशैलीसँग जोडेर हेर्नुपर्ने बताए । मानिसले आफ्नो जीवनलाई सुखी, सन्तुष्ट र व्यवस्थित बनाउन विभिन्न अभ्यास गर्दै आएको उल्लेख गर्दै उनले महपूजा पनि त्यही जीवनदर्शनको एउटा अभिव्यक्ति भएको बताए ।
‘हामी अन्धभक्त भएर मात्र हेर्ने होइन । विज्ञान र ज्ञानको दृष्टिकोणले पनि हेर्नुपर्छ । महपूजा किन गरिन्छ ? हामी सधैँ गरिरहेका छौँ, तर किन गर्नुपर्छ भन्ने कुरा बुझ्न आवश्यक छ । सामान्यजस्तो लाग्ने यो पर्व ज्ञानको दृष्टिकोणले धेरै महत्त्वपूर्ण छ,’ श्रेष्ठले भने ।
उनका अनुसार मानिसको जीवनशैली मानव सभ्यताको विकाससँगै परिवर्तन हुँदै आएको छ । सिकारी युगदेखि आधुनिक प्रविधिको युगसम्म आइपुग्दा मानिसले बाँच्ने विभिन्न तरिका अपनाएको छ । तर, जुनसुकै समय र अवस्थामा पनि शरीर नै मानिसको जीवनको आधार भएकाले यसको महत्त्व उत्तिकै रहन्छ ।
महपूजा विशेषगरी कृषि प्रणालीसँग पनि जोडिएको उनले बताए । नेपालको कृषि प्रणालीमा धान भिर्त्याउने समयसँगै मनाइने यस पर्वमा किसानले उत्पादन गरेका विभिन्न वस्तु पूजा सामग्रीका रूपमा प्रयोग गरिन्छन् । यसले मानिसको जीवन र कृषि उत्पादनबीचको सम्बन्धलाई समेत देखाउने उनको भनाइ छ ।
‘सबै काम सकिसकेपछि धान भिर्त्याउने समयमा महपूजा गरिन्छ । नेपालको प्रणाली कृषि प्रणाली हो । आफ्नो शरीरलाई पूजा गर्नु भनेको आफू बाँच्ने आधारलाई सम्मान गर्नु हो,’ उनले भने ।
महपूजाको दिन बनाइने मण्डपलाई पनि उनले सांस्कृतिक तथा ज्ञानमूलक महत्त्व बोकेको संरचनाका रूपमा व्याख्या गरे । मण्डपमा धान, चामल, अक्षता, फलफूललगायत कृषि उत्पादन राखेर गरिने पूजाले तत्कालीन समाजको कृषि जीवनशैली र उत्पादनलाई प्रतिबिम्बित गर्ने उनको भनाइ छ ।
उनका अनुसार मण्डपमा राखिने सामग्री केवल पूजाका लागि मात्र नभई मानिसले उत्पादन गरेका वस्तुको प्रदर्शनसमेत हो । कृषि उत्पादनलाई एकै ठाउँमा सजाएर राख्नुले प्रकृति, उत्पादन र मानव जीवनबीचको सम्बन्धलाई उजागर गर्छ ।
‘हामीसँग कृषि प्रणालीमा भएका उब्जनी त्यहाँ प्रदर्शनीका रूपमा राख्छौँ । धान, चामल र फलफूल अगाडि राखेर आफ्नो शरीरको पूजा गर्छौँ । हाम्रो कृषि प्रणाली र उत्पादनको एउटा प्रदर्शनीजस्तै पनि हो महपूजा,’ उनले भने ।
महपूजामा बालिने दियोको पनि विशेष अर्थ रहेको श्रेष्ठ बताउँछन् । दियोले अन्धकार हटाएर उज्यालो दिने भएकाले यसलाई सकारात्मक जीवन र ऊर्जाको प्रतीकका रूपमा बुझ्न सकिने उनको भनाइ छ । शरीरलाई पूजा गर्ने क्रममा दियो बाल्नु, कृषि उत्पादन अगाडि राख्नु र विभिन्न विधि पूरा गर्नुले मानिसलाई आफ्नो अस्तित्व र जीवनप्रति सचेत गराउने उनले बताए ।
उनले महपूजाको धार्मिक महत्त्वलाई अस्वीकार गर्न नहुने तर त्यसलाई धर्ममा मात्र सीमित गरेर बुझ्न नहुनेमा जोड दिए । मानिस स्वस्थ रहनु, आफ्नो शरीरको हेरचाह गर्नु र जीवनलाई सन्तुष्टिपूर्वक अघि बढाउनु पनि यस पर्वको मूल सन्देश भएको उनको भनाइ छ ।
‘हामीलाई केही समस्या नहोस् भनेर बिरामी हुँदा औषधि खान्छौँ, अस्पताल जान्छौँ । त्यसरी नै आफ्नो जीवनमा कुनै तलमाथि नहोस्, स्वस्थ भएर बाँच्न सकियोस् भन्ने कामनासहित आफूले आफैँलाई पूजा गर्ने परम्परा हो,’ उनले भने ।
श्रेष्ठका अनुसार महपूजामा अष्टमात्रिकाको अवधारणा पनि महत्त्वपूर्ण छ । अष्टमात्रिकालाई सुरक्षासँग जोडेर बुझ्न सकिने उल्लेख गर्दै उनले नेवारी संस्कृतिमा विभिन्न धार्मिक तथा सांस्कृतिक विधिमार्फत सुरक्षा र संरक्षणको कामना गरिने बताए । अष्टमंगललगायतका प्रतीक र विधिले पनि यस संस्कृतिको विविध पक्षलाई उजागर गर्ने उनको भनाइ छ ।
उनले महपूजा नेवार समुदायको मौलिक पर्व भएको उल्लेख गर्दै यसको परम्परा नेपालमा मात्र सीमित नरहेको बताए । रोजगारी, अध्ययन तथा विभिन्न कारणले विदेश पुगेका नेवार समुदायका मानिसले पनि आफ्नो संस्कृति र पहिचानलाई निरन्तरता दिँदै महपूजा मनाउने गरेको उनले जानकारी दिए ।
‘जहाँजहाँ नेवारहरू संसारमा गएका छन्, उनीहरूले आफ्नो महपूजा गरिरहेका छन् । केही गर्न नसके पनि आफ्नो महपूजा गर्ने परम्परा रहेछ । आफू बाँच्नुपर्छ, आफ्नो शरीर सुरक्षित राख्नुपर्छ भन्ने सन्देश दिन पनि यो पूजा गरिन्छ,’ उनले भने ।
उनले महपूजालाई पुस्तान्तरण गर्दै यसको वास्तविक अर्थ र महत्त्व नयाँ पुस्तासम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याए । परम्परालाई विधि पूरा गर्ने अभ्यासमा मात्र सीमित नराखी त्यसको पछाडिको ज्ञान, जीवनदर्शन र सामाजिक महत्त्व बुझाउन सके यसको सांस्कृतिक मूल्य अझ स्थापित हुने उनको भनाइ छ ।
श्रेष्ठले महपूजालाई धार्मिक आस्थासँगै स्वास्थ्य, आत्मसम्मान, कृषि उत्पादन, प्रकृति र मानव जीवनबीचको सम्बन्ध बुझाउने पर्वका रूपमा लिनुपर्ने बताए । आफूले आफैँलाई सम्मान गर्ने र आफ्नो जीवनप्रति जिम्मेवार बन्ने सन्देश बोकेको महपूजा नेवार समुदायको महत्त्वपूर्ण सांस्कृतिक सम्पदा भएको उनले उल्लेख गरे ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्