Skip to content

प्रधानमन्त्रीको भ्रमणले भारतसँगको आर्थिक सम्बन्धमा ‘आइसब्रेक’ : कमलेश अग्रवाल

nmb bank inside

कमलेश कुमार अग्रवाल

अध्यक्ष : नेपाल चेम्बर अफ कमर्स

प्रधानमन्त्रीको भ्रमणले भारतसँगको आर्थिक सम्बन्धमा ‘आइसब्रेक’ : कमलेश अग्रवाल

काठमाडौं । नेपाल र भारतबीच लामो समयदेखि देखिँदै आएका आर्थिक तथा व्यावसायिक अवरोध हटाउने दिशामा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले सकारात्मक आधार तयार गरेको निजी क्षेत्रले बताएको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले भ्रमण छोटो भए पनि दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

उनका अनुसार नेपाल र भारत ऐतिहासिक रूपमा प्राकृतिक आर्थिक साझेदार भए पनि पछिल्लो समय विभिन्न नीतिगत तथा प्रक्रियागत समस्याका कारण नेपाली उद्यमी व्यवसायीले भारतीय बजारमा सहज पहुँच पाउन सकेका थिएनन् । प्रधानमन्त्रीको भ्रमणले लामो समयदेखि रोकिएका विषयमा छलफल र सहमतिको वातावरण बनाएको उनले बताए ।

‘नेपाल र भारतबीच लामो समयदेखि सिर्जना हुँदै आएका समस्यामा आइसब्रेक भएको महसुस गरेका छौं,’ अग्रवालले भने, ‘यो भ्रमणले नेपालको आर्थिक समृद्धिको यात्रामा महत्वपूर्ण योगदान दिने अपेक्षा गरेका छौं ।’

उनले नेपाल–भारतबीचको व्यावसायिक सम्बन्ध ऐतिहासिक रहेको उदाहरण दिँदै करिब ९० वर्षअघि स्थापना भएको नेपालको पहिलो उद्योग विराटनगर जुट मिललाई प्रस्तुत गरे । भारतीय बजारमा सहज पहुँचका लागि उद्योगसम्म भारतीय रेल्वे सेवा विस्तार गरिएको उल्लेख गर्दै उनले दुई देशबीचको आर्थिक सम्बन्धको ऐतिहासिक आधारलाई पुनः सक्रिय बनाउनुपर्ने बताए ।

अग्रवालका अनुसार भ्रमणका क्रममा भएका सहमतिमध्ये भदौको बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि भारतले गर्ने २४ अर्ब रुपैयाँ बराबरको सहयोग महत्वपूर्ण उपलब्धि हो । त्यसमध्ये १८ अर्ब ४० करोड रुपैयाँ ऊर्जा क्षेत्रका लागि सहुलियतपूर्ण ऋण र ५ अर्ब ६० करोड रुपैयाँ अनुदानका रूपमा उपलब्ध हुने उनले बताए । यसले पुनर्निर्माण र ऊर्जा पूर्वाधार विकासमा सहयोग पुग्ने उनको भनाइ छ ।

त्यस्तै, भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी सञ्चालन गर्न भएको सहमतिलाई उनले अर्को महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे । यसले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालन तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए । यद्यपि, यसका प्राविधिक पक्षमा थप अध्ययन र दुवै देशका संयन्त्रबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ ।

पर्यटन प्रवद्र्धनका लागि अयोध्या–जनकपुर रेल सेवा सुरु हुनुलाई पनि उनले महत्वपूर्ण मानेका छन् । यसले भारतीय धार्मिक पर्यटकको नेपाल आगमन सहज बनाउने र भविष्यमा अन्य धार्मिक तथा पर्यटकीय गन्तव्यलाई समेत जोड्न सकिने उनले बताए । जनकपुर, पोखरा र मुक्तिनाथलाई जोडेर धार्मिक तथा पर्यटकीय सर्किट विकास गर्न सके नेपालको पर्यटन क्षेत्रमा थप अवसर सिर्जना हुने उनको भनाइ छ ।

भारतीय लगानीकर्ताको चासो बढ्यो

अग्रवालले प्रधानमन्त्रीको भ्रमणका क्रममा आयोजित नेपाल–भारत बिजनेस फोरममा भारतीय लगानीकर्ताले नेपालमा लगानी गर्न चासो देखाएको बताए । ऊर्जा, जलविद्युत्, स्वास्थ्य, पर्यटन र उद्योग क्षेत्रमा भारतीय लगानीको सम्भावनाबारे छलफल भएको उनले जानकारी दिए ।

नेपालमा लगानी गर्न देखिएका कानुनी तथा प्रक्रियागत अवरोध हटाउन सरकारले ५९ वटा लगानीसम्बन्धी ऐन तथा कानुन संशोधनको प्रक्रिया अघि बढाएको विषयले भारतीय व्यवसायीलाई उत्साहित बनाएको उनको भनाइ छ ।

‘पहिले भारतीय लगानीकर्ताले नेपालमा लगानीको सम्भावना अध्ययन गरेर फर्किने गरेका थिए । तर जग्गाको हदबन्दी, लगानी भित्र्याउने प्रक्रिया र नाफा फिर्ता लैजाने व्यवस्थाजस्ता विषयले उनीहरूलाई निरुत्साहित बनाएको थियो,’ उनले भने, ‘अब एकद्वार प्रणालीबाट लगानी भित्र्याउने र लगानी फिर्ता लैजाने प्रक्रिया सहज बनाउने विषयमा जानकारी गराएपछि उनीहरू विश्वस्त देखिएका छन् ।’

उनका अनुसार भारतीय लगानीकर्ताले नेपाललाई जलविद्युत् उत्पादनसँगै स्वास्थ्य सेवा र पर्यटनको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने सम्भावना पनि देखेका छन् । विशेषगरी नेपालको जलविद्युत् क्षेत्रमा भारतीय लगानीकर्ताको चासो रहेको उनले बताए ।

त्यस्तै, नेपाल–भारत सीमावर्ती क्षेत्रमा साना तथा मझौला उद्योग विकास गरी औद्योगिक करिडोरका रूपमा अघि बढाउन सकिने विषयमा पनि छलफल भएको उनले जानकारी दिए । यसबाट नेपालमा उत्पादन, रोजगारी सिर्जना र भारतीय बजारमा निर्यात विस्तार गर्न सकिने अपेक्षा गरिएको छ ।

बन्दरगाह र पारवहन लागत घट्ने अपेक्षा

नेपालले लामो समयदेखि उठाउँदै आएको समुद्री बन्दरगाह प्रयोगको विषयमा पनि भ्रमणका क्रममा सहमति भएको अग्रवालले बताए । भारतको ओडिशास्थित धाम्रा बन्दरगाहको सट्टा पारादीप र गुजरातस्थित मुन्द्रा बन्दरगाहको सट्टा काण्डला बन्दरगाह प्रयोग गर्न पाउने व्यवस्था भएको उनले जानकारी दिए ।

उनका अनुसार काण्डला बन्दरगाह नेपालको निर्यात व्यापारका लागि विशेष उपयोगी हुन सक्छ । विशेषगरी प्रशोधित खानेतेलको व्यापारमा संलग्न नेपाली उद्योगले आयातित कच्चा पदार्थको ढुवानी तथा पारवहन लागत घटाउन यसबाट लाभ लिन सक्नेछन् ।

त्यस्तै, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई सिलिगुडी हुँदै झापासम्म विस्तार गर्ने सम्भावना तथा ग्यास पाइपलाइन निर्माणका विषयले पनि नेपालको ढुवानी र आपूर्ति लागत घटाउन सहयोग पुग्ने उनले बताए ।

व्यापार घाटा घटाउन वाणिज्य सन्धि संशोधन आवश्यक

अग्रवालले नेपालले भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्न गैरभन्सार अवरोध हटाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए । भारतीय बजारमा नेपाली उत्पादन निर्यात गर्दा भारतीय मापदण्ड (बीआईएस), नेपाली मापदण्ड (एनएस), क्वारेन्टाइन र एन्टिडम्पिङसम्बन्धी व्यवस्थाले समस्या सिर्जना गरिरहेको उनको भनाइ छ ।

नेपाल–भारतबीचको वाणिज्य सन्धि परिमार्जन गर्दा यस्ता विषय सम्बोधन गर्ने सहमति भएको उनले बताए । नेपाली उत्पादनलाई भारतीय बजारमा सहज प्रवेश दिलाउन गुणस्तर प्रमाणीकरण र अन्य गैरभन्सार अवरोध हटाउनुपर्ने उनको जोड छ ।

ऊर्जा व्यापार विस्तारका विषयमा पनि भ्रमणले सकारात्मक आधार तयार गरेको उनले बताए । अरुण–३ जलविद्युत् आयोजनाको शिलान्यास तथा भारतीय प्रसारण लाइन प्रयोग गरेर विद्युत् व्यापार विस्तार गर्ने विषयलाई उनले महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे । भविष्यमा बंगलादेशसम्म विद्युत् निर्यात विस्तार गर्न पनि यसले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

अग्रवालका अनुसार नेपालको कुल वैदेशिक व्यापारको करिब ६० प्रतिशत भारतसँग हुने गरेको छ । नेपालको कुल आयातमध्ये ५७ प्रतिशत र निर्यातमध्ये ८३ प्रतिशत भारतसँग सम्बन्धित रहेकाले भारतसँग हुने नीतिगत तथा व्यापारिक सहमतिले नेपाली निजी क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने उनले बताए ।

उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको १० बुँदे सहमतिलाई कार्यान्वयनको विस्तृत कार्ययोजनाभन्दा पनि आगामी आर्थिक सहकार्यको दिशानिर्देशका रूपमा लिनुपर्ने बताए । अब सरकारी तहको सहमतिलाई व्यवसायीबीचको व्यावसायिक सहकार्यमा रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ ।

‘यो नीतिगत सहमति हो, अब बिजनेस टु बिजनेस तहमा कार्यान्वयनका क्रममा आउने समस्या समाधान गर्दै अघि बढ्नुपर्छ,’ अग्रवालले भने, ‘नेपाल र भारत दुवै समृद्ध नभई क्षेत्रीय विकास सम्भव हुँदैन । त्यसैले पुराना निराशाजनक विषयभन्दा आर्थिक सहकार्य र लगानी विस्तारलाई प्राथमिकता दिनुपर्छ ।’

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्