अनुदानको मल दुरुपयोग गर्ने कृषि भण्डारलाई दुई लाख जरिवाना
राजकुमार ओली, नेपाल न्यूज बैंक
झापा । सरकारी अनुदानको रासायनिक मल दुरुपयोग गरी बिक्री वितरण गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले बुद्धशान्ति गाउँपालिका–३ स्थित सञ्जीवनी कृषि भण्डारलाई रु दुई लाख जरिवाना गरेको छ ।
स्थानीय किसानलाई वितरण गर्नुपर्ने अनुदानको मल अन्यत्र बिक्री गरिएको जनगुनासो आएपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको निर्देशनमा सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा खटिएको टोलीले आज कृषि भण्डारमा आकस्मिक अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा तोकिएको सर्तअनुसार मल वितरण नगरेको र बिलबिजक जारी नगरी आफूखुसी बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम रु दुई लाख जरिवाना गरिएको सहायक प्रजिअ रायमाझीले जानकारी दिए ।
प्रेमप्रसाद भट्टराई सञ्चालक रहेको उक्त भण्डारले मङ्सिर ८ र ९ गते बिर्तामोडस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट किसानलाई वितरण गर्न लगेकोमध्ये १०९ बोरा डीएपी र ५० बोरा युरिया मलको मौज्दात तथा बिक्री विवरण देखाउन नसकेको प्रशासनले जनाएको छ ।
अनुगमन टोलीले उक्त मल लक्षित किसानलाई वितरण नगरी बिलबिजकबिनै अन्यत्र बिक्री गरेको निष्कर्ष निकालेको छ । टोलीले पसल तथा गोदाममा रहेका मलको मौज्दात, बिक्री विवरण, बिलबिजक र अन्य कागजात जाँच गरी थप अनुसन्धानका लागि सबै अभिलेख नियन्त्रणमा लिएको छ ।
सरकारले किसानलाई राहत दिन प्रतिबोरा ५० केजी डीएपीमा रु चार हजार ४ सय ६६ दशमलव ५७ र युरियामा रु तीन हजार १०१ दशमलव २८ अनुदान उपलब्ध गराउँदै आएको छ । अनुदानका कारण बजार मूल्य रु ६ हजार ६६६ दशमलव ५७ पर्ने डीएपी किसानले रु दुई हजार २०० मा तथा रु तीन हजार ८५१ दशमलव २८ पर्ने युरिया रु ७५० मा खरिद गर्न पाउँछन् । उक्त मूल्यमा ढुवानी खर्च समावेश छैन ।
यसैगरी टोलीले बुद्धशान्ति–३ स्थित न्यू कञ्चन कृषि सहकारी संस्थाको समेत अनुगमन गरेको थियो । सहकारीमा अनुदानको मलको बिक्री वितरण पारदर्शी र नियमसङ्गत पाइएको कृषि ज्ञान केन्द्र भद्रपुरका प्रमुख सागर बिष्टले बताए ।
उपभोक्ता अधिकार संरक्षणमा अनुगमन तीव्र
यसैबीच, उपभोक्ता जागरण अभियान नेपालले झापामा बजार अनुगमन तथा उपभोक्ता अधिकार संरक्षणसम्बन्धी गतिविधिलाई तीव्र बनाएको जनाएको छ ।
अभियानका केन्द्रीय अध्यक्ष कृष्ण भण्डारी मार्सेलीले जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारीको विशेष चासो, आग्रह र सक्रियतामा जिल्लाका विभिन्न बजारमा अनुगमनलाई प्रभावकारी बनाइएको बताए ।
उनले विशेषगरी बिर्तामोड र आसपासका क्षेत्रमा बजारमा हुने अनियमितता, कृत्रिम मूल्यवृद्धि, म्याद गुज्रिएका वस्तुको बिक्री, गुणस्तरहीन खाद्य सामग्री, बिलबिजक जारी नगर्ने प्रवृत्ति तथा उपभोक्तालाई ठगी गर्ने गतिविधिविरुद्ध अभियान सञ्चालन भइरहेको जानकारी दिए ।
उपभोक्ताको हकहित संरक्षणका लागि प्रशासन, स्थानीय तह, सम्बन्धित सरकारी निकाय, उद्योग वाणिज्य सङ्घ, प्रहरी र नागरिक संस्थाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
अभियानले बजारमा देखिने समस्या पहिचान गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, अनुगमनमा सहभागिता जनाउने तथा उपभोक्तालाई आफ्नो अधिकारबारे सचेत गराउने काम गर्दै आएको जनाएको छ ।
सरकारी अनुदानबाट प्राप्त हुने मल लक्षित किसानसम्म नपुग्नु किसानमाथिको अन्याय मात्र नभई राज्यको अनुदान प्रणालीमाथिकै दुरुपयोग भएकाले यस्ता गतिविधिमा नियमित निगरानी र प्रभावकारी कारबाही आवश्यक रहेको अभियानले जनाएको छ ।
अनुगमन टोलीमा प्रशासकीय अधिकृत चुडामणि आपागाईं, कृषि ज्ञान केन्द्रका प्रमुख बिष्ट, नायब सुब्बा रोहित आचार्य, उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय सदस्य मोहनकाजी न्यौपाने, बुद्धशान्ति उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक सापकोटा र इलाका प्रहरी कार्यालय धुलाबारीका इन्चार्ज नकुलराज गौतमलगायत सहभागी थिए ।
अनुगमनलाई नियमित र निरन्तरता दिँदै बजारमा हुने कालोबजारी, कृत्रिम अभाव, अनुदानको दुरुपयोग र उपभोक्ता ठगी नियन्त्रणमा प्रशासनसँग सहकार्य गरिने अभियानले जनाएको छ ।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्