पुँजीवादको चिहानमा ‘टेक्नो–फ्यूडलिजम’
लाओस राई
२१ औं शताब्दीको तेस्रो दशकमा देखा परेको व्यापारको नयाँ हुण्डरी र संरचनात्मक उलटफेरले विश्वबजारमा नयाँ तरङ्ग पैदा गरिदिएको छ । यो उलटफेरको तरङ्गले पुँजीवादीहरू आफ्नो साम्राज्य कसरी टिकाउने भन्ने चिन्तामा देखिन्छन् । यो विषयमा पुँजीवादी मात्र होइन, विश्वका साम्यवादीदेखि समाजवादी तथा उदारवादीहरू पनि आ–आफ्नै ढंगले चिन्तित छन् । उनीहरूको समग्र चिन्तालाई ग्रीसका पूर्वअर्थमन्त्री तथा अर्थशास्त्री यानिस भारुफाकिसले ‘टेक्नो–फ्यूडलिजम’ को संज्ञा दिएका छन्, जसमा सेड्रिक ड्युरान्ड, जोडी डिन र मारियाना माजुकाटो जस्ता समकालीन चिन्तकहरूको स्वर पनि जोडिँदै नव सामन्ती (नियो–सामन्तवाद) प्रवृत्ति औँल्याइएको छ । तर यही कुरालाई आर्थिक कोणबाट हेर्दा अर्थशास्त्रीहरू फरक–फरक कित्तामा विभाजन भएका छन् । एकातिर भारुफाकिस, ड्युरान्ड र डिनहरू खुला बजार र नाफाको ठाउँ डिजिटल साम्राज्य, भाडा र भूदासत्वले लिएको तर्क गर्छन् भने आलोचनात्मक, माक्र्सवादी चिन्तक एभ्जेनी मोरोजोभ सामन्ती बिम्ब भ्रामक भएको र यो पुँजीवादकै एकाधिकार तथा शोषणको नयाँ रूप रहेको बताउँछन् । अर्कातिर पुँजीवादी तथा उदारवादी अर्थशास्त्रीहरू निक स्र्निचेक, जोनाथन हास्केल र स्टियान वेस्टलेक जस्ता चिन्तकहरू यसलाई प्लेटफर्म वा अमूर्त पुँजीवाद मान्दै नवप्रवर्तन र प्रतिस्पर्धाकै विस्तार ठान्छन् । तर यी सबै चिन्ता र बहसका बीच मैंले यो अवस्थालाई ‘सु–सम्पन्न मानव सभ्यताको नयाँ रूप’ भनेको छु । किनकि आजको मानिस दैवीयुगको मान्छेभन्दा पनि उत्तम शैलीमा जीवन बिताइरहेका छन् । जस्तो कि वर्षौँ लाग्ने काम केही समयमै फत्ते गर्ने अत्याधुनिक प्रविधिहरूको बीचमा छौँ र हामी सबै यस शताब्दीका सु–सम्पन्न मानव हौँ । अबको बहस यही टेक्नो–फ्यूडलिजम, प्लेटफर्म वा अमूर्त पुँजीवाद र पुँजीवादको रूपान्तरित एकाधिकारको यथार्थ वरिपरि केन्द्रित रहनेछ ।
यही बिन्दुबाट आधुनिक सभ्यताको सबैभन्दा पेचिलो द्वन्द्व पनि सुरु हुन्छ । एकातिर प्रविधिको चमत्कारले मानिसलाई दैवीयुगको कल्पनाभन्दा बाहिरको सु–सम्पन्नता र गति दिएको छ भने अर्कोतिर यही प्रणालीभित्र मानवीय श्रम, बजार र स्वाधीनतामाथि अदृश्य नियन्त्रण कसिँदै गएको छ ।
क्रान्तिकारीहरू भन्दथे कि हामी एक दिन जरुर पुँजीवादी र पुँजीवादलाई पछार्छौँ, चिहान खन्छौँ, अनि हामीले चाहेको जस्तो साम्यवादको स्थापना गर्छौँ । त्यसको निम्ति संगठन निर्माण र निरन्तर संघर्ष निर्विकल्प छ । जसरी सामन्तवादको अन्त्य गरियो, त्यसैगरी संघर्ष र क्रान्तिको प्रक्रिया अवश्यम्भावी छ र यो सृष्टिको नियम पनि हो । नेपलमा क्रान्तिकारी आजका दिनसम्म पनि क्रान्तिको आगो बाल्ले र संघीय लोकतान्त्रिक व्यवस्थाको पुँजीवादीहरूको विकसित रुप हो भन्दै चिहान खन्ने काम गर्दैछन् ।
सामन्तवादको भग्नावशेषमा उभिएको पुँजीवादले खुला बजार, स्वतन्त्र प्रतिस्पर्धा र औद्योगिक उत्पादनलाई आधुनिक अर्थतन्त्रको मुख्य इन्जिन बनायो, जसलाई लामो समयसम्म मानव आर्थिक विकासको अन्तिम र अपराजित चरण ठानियो । तर आजको डिजिटल युगमा कस्तो द्वन्द्वात्मक दृश्य देखिएको छ भने एकातिर मानिसले घरमै बसी विश्वभरको ज्ञान, सेवा र बजारमा क्षणभरमै पहुँच पाएर आफूलाई स्वतन्त्र र सु–सम्पन्न महसुस गरिरहेको छ, भने अर्कोतिर जुन पुँजीवादको चिहान खन्न क्रान्तिकारीहरू दशकौँदेखि सडक र जंगलमा जुधिरहे, त्यसैको परम्परागत कारखाना, खुला प्रतिस्पर्धा र श्रम–पुँजीको पुरानो सम्बन्धलाई स्वयं प्रविधिको महाशक्तिले भित्रभित्रै हल्लाइरहेको छ । सुविधाको शिखरमा उभिएको मानवीय चेतना र बजारको नियम नै बदल्न खोज्ने प्रविधिको यो अदृश्य शक्तिबीच आज सीधा वैचारिक टकराव चलिरहेको छ ।
हिजो कुनै एउटा पुस्तक वा तथ्याङ्क खोज्न पुस्तकालय चाहिन्थ्यो वा वर्षौँ लाग्थ्यो । आज औँलाको एक स्पर्शमा विश्वको ज्ञान सहज भएको छ । सानो उद्यमी, लेखक, कलाकार वा सेवाप्रदायकले अब भौतिक पसल वा ठुलो पुँजीबिना नै घरैबाट विश्वभर ग्राहक, पाठक र बजार भेट्न सक्ने सु–सम्पन्न अवसर पाएको छ । त्यसैगरी हामीलाई अत्यावश्यक नक्सा, अनुवाद, संवाद, मनोरञ्जन र अनुसन्धानका दर्जनौँ शक्तिशाली औजार हामी निःशुल्क चलाउन र प्राप्त गर्न सक्छौँ, जसले हाम्रो समय र श्रम अकल्पनीय रूपमा जोगाएको छ । परम्परागत कारखाना वा कार्यालयको कठोर समय र घेराभन्दा बाहिर निस्केर मानिसले छिटो, छरितो र आफ्नै ढंगले काम फत्ते गर्न सक्ने सुविधा पाएको छ । तर यी कुराहरूको ठीक उल्टो द्वन्द्वको पाटो पनि उत्तिकै गहिरो छ ।
हामी स्वतन्त्र रूपमा संसार बुझिरहेका छौँ भन्ने ठान्छौँ, तर कुन समाचार, विचार वा भिडियो हाम्रो आँखा अगाडि ल्याउने र कुन लुकाउने भन्ने कुरा अदृश्य एल्गोरिदमले तय गरिरहेको हुन्छ । त्यही बजारमा टिकिरहन, देखिन र आम्दानी गर्न उद्यमीले प्लेटफर्मको नियम, कमिसन, बूस्ट शुल्क र एल्गोरिदमको फेरबदल मान्नैपर्ने बाध्यता हुन्छ, जसले स्वाधीन उद्यमीलाई भित्रभित्रै प्लेटफर्ममा निर्भर बनाउँछ ।
‘निःशुल्क’ देखिने यही सुविधाले हाम्रो बानी, रुचि, समय र सिर्जनाको डेटा निरन्तर संकलन गरिरहेको हुन्छ, जसलाई ठूला प्रविधि शक्तिहरूले आफ्नो अपार पुँजी र नियन्त्रणको जग बनाउँछन् । ‘स्वतन्त्र’ देखिने कतिपय डिजिटल काम राइड सेयरिङ, डेलिभरी, रिमोट ः गिग श्रममा ज्याला, रेटिङ, कामको बाँडफाँट र समयको दबाब स्वचालित प्रणालीले तय गर्छ, जहाँ मालिक नदेखिए पनि नियन्त्रण झन् सूक्ष्म र कसिलो हुन्छ ।
यही द्वन्द्वको गर्भबाट आजको अर्थतन्त्रको असली चरित्र देख्न सकिन्छ । परम्परागत पुँजीवादमा उद्यमीले खुला बजारमा प्रतिस्पर्धा गरी वस्तु उत्पादन गर्थे र नाफा कमाउँथे । तर आज मुट्ठीभर ‘बिग टेक’ कम्पनीहरूले खुला बजारलाई नै आफ्नो निजी डिजिटल जागीरमा बदलेका छन् । त्यहाँ प्रवेश गर्न साना व्यवसायी, स्रष्टा र उपभोक्ताले प्रविधि मालिकलाई कमिसन र विज्ञापनका नाममा ‘डिजिटल कुत’ तिर्नुपर्छ । कार्ल माक्र्सको औद्योगिक युगमा मजदुरले कम्तीमा ज्याला पाउँथे, तर आज सु–सम्पन्न ठानिएका नागरिकले निःशुल्क डिजिटल सेवा चलाउँदा आफ्नो समय, ध्यान, रुचि र सिर्जनात्मक डेटा बिनापारिश्रमिक बुझाउने अवस्थामा छन् । यही संरचनालाई भारुफाकिस र ड्युरान्डहरूले ‘टेक्नो–फ्युडलिजम’ र नागरिकलाई ‘डिजिटल भूदास’ भनेका हुन्, जहाँ क्रान्तिकारीले सपना देखेको साम्यवाद होइन, बरु पुँजीवादको चिहानमा उभिएको अदृश्य डिजिटल एकाधिकारले टाउको उठाएको छ ।
नेपाल जस्ता विकासशील मुलुकमा यसको असर झन् सूक्ष्म र दोहोरो छ । एकातिर डिजिटल भुक्तानी, ई–कमर्स, राइड–सेयरिङ र सामाजिक सञ्जालले सेवा प्रवाह र स्वरोजगारलाई सहज बनाएका छन् भने अर्कोतिर स्थानीय उद्यमी, स्रष्टा र श्रमिक एल्गोरिदमको बन्धक बन्दै गएका छन्। आफ्नै ग्राहक वा पाठकसम्म पुग्न ‘बुस्ट’ र कमिसनका नाममा बाह्य प्लेटफर्मलाई डिजिटल कुत तिर्नुपर्ने बाध्यता र नेपाली प्रयोगकर्ताको विशाल डेटा बिनामूल्य बाहिरिने क्रमले हामीलाई डिजिटल परनिर्भरताको छेउमा उभ्याएको छ । राइड–सेयरिङ र डेलिभरीमा खटिने युवा ‘स्वतन्त्र साझेदार’ कहलिए पनि आम्दानी, रेटिङ र नियममा एल्गोरिदमको कठोर निगरानीमा रहनु यही संरचनाको स्थानीय अनुहार हो । नेपालमा मात्र होइन, युरोपेली संघका डिजिटल नियम, डेटा गोपनीयता कानुन, एकाधिकार भङ्ग गर्ने प्रयास र सार्वजनिक स्वामित्वको डिजिटल पूर्वाधार निर्माण गर्ने बहसले विश्वव्यापी प्रतिरोधको सङ्केत दिइसकेका छन् ।
अवश्य पनि, एभ्जेनी मोरोजोभ र निक स्र्निचेक जस्ता अर्थशास्त्री तथा चिन्तकहरू यसलाई नयाँ सामन्तवाद भन्नुभन्दा ‘प्लेटफर्म पुँजीवाद’ वा ‘एकाधिकार पुँजीवाद’ कै विकसित रूप मान्छन् । तर नाम जे दिए पनि मूल प्रश्न एउटै छ—के क्रान्तिकारी परिवर्तनको सपना देख्ने मानव समाज पुँजीवादको चिहानमा उभिएको यो नयाँ डिजिटल एकाधिकार र भूदासत्वको स्थायी कैदी बन्नेछ ?
माथि उल्लेखित विश्वचर्चित अर्थशास्त्रीहरूका विचार र उनीहरूको वैश्विक चिन्ताको बीचको द्वन्द्वात्मक अवस्थाबाट यो निष्कर्षमा पुग्न सकिन्छ कि कुनै पनि आर्थिक व्यवस्था शाश्वत हुँदैन । प्रविधि आफैँमा अभिशाप होइन, संकट स्वामित्व, नियमन र वितरणको असमानतामा छ । कृत्रिम बुद्धिमत्ता र डिजिटल प्लेटफर्मलाई मुट्ठीभर निजी साम्राज्यको कुत असुल्ने माध्यम बन्न नदिई सार्वजनिक हित, पारदर्शिता, श्रम न्याय र डेटा सार्वभौमिकतासँग जोड्न सके मात्र एक्काइसौँ शताब्दीको सु–सम्पन्न मानव समाज आधुनिक डिजिटल भूदासत्वबाट मुक्त भएर वास्तविक प्रगतिशील भविष्यतर्फ अघि बढ्न सक्ला, अन्यथा एक आपसमा चिहान खन्ने अवस्था मात्र हुनेछ । (लेखक नेपाली कांग्रेसका नेता हुनुहुन्छ)
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्