काठमाडौं । रघुवंशीय कौशिक गोत्रीय भण्डारी सेवा समाज नेपालले नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान सावित्रा भण्डारी (साम्बा)लाई विशेष सम्मान गरेको छ । समाजको केन्द्रीय कार्यालय लर्ड पार्टी भेन्यु, धुम्बाराही काठमाडौँमा आईतबार आयोजित विशेष कार्यक्रममा अन्तर्राष्ट्रिय ख्याति प्राप्त फुटबलर साम्बालाई ५१ हजार नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको अध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए।
सम्मान ग्रहणपछि साम्बाले नेपाली महिला फुटबल अझै चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै यसको स्तरोन्नतिका लागि अझ धेरै मेहनत र लगनशीलता आवश्यक रहेको बताइन्। उनले आफुले धेरै संघर्षहरू गरेर यहाँसम्म आईपुगेको बताएकी छिन्। उनले भनिन , ‘म विभिन्न अभाव र संकटका बीच यहाँसम्म आइपुगेकी हुँ। अझै पनि धेरै युवतीहरू अवसर नपाएर पछि परिरहेका छन् । नयाँ पुस्तालाई फुटबलतर्फ आकर्षित गराउन सकियो भने महिला फुटबल अझै सबल बन्नेछ।’
सावित्रा भण्डारी, ‘साम्बा’ नामले परिचित, हालसम्म नेपालकै सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्त्री बनेकी छिन्। उनले २०१४ मा पहिलो पटक राष्ट्रिय टिममा स्थान पाइन् र छोटो समयमा नै आफ्नो खेलकौशलबाट सबैको ध्यान खिचिन्।
२०१६ मा बंगलादेशविरुद्धको खेलमा उनले एकैपटक ८ गोल गर्दै चर्चित उपलब्धि हासिल गरिन् । अहिलेसम्म उनले ४३ अन्तर्राष्ट्रिय गोल गर्दै नेपाल महिला फुटबलको इतिहासमै नयाँ कीर्तिमान कायम गरेकी छिन्।
उनले नेपाललाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउन सफल भएकी छन् । यही उपलब्धिले उनी विभिन्न राज्यस्तरीय सम्मान र पुरस्कारसमेत प्राप्त गर्न सफल भएकी छिन् । साम्बा आफ्नै कुलको चेली भएकोमा रघुवंशीय कौशिक गोत्रीय भण्डारी परिवारले गर्व महसुस गरेको जनाएको छ।
कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री मसिना भण्डारी, वरिष्ठ उपाध्यक्ष रामकुमार भण्डारी, प्रमुख संरक्षक जीवनकुमार भण्डारी, संस्थापक अध्यक्ष ध्रुव भण्डारी, पूर्व एआइजी बमबहादुर भण्डारीलगायतको उपस्थिति रहेको थियो । भण्डारी समाजले साम्बालाई सम्मान गर्नु केवल व्यक्तिगत उपलब्धिको मूल्याङ्कन मात्र नभई सम्पूर्ण भण्डारी परिवार र समाजकै गौरवको प्रतीक भएको जनाएको छ।
२०६५ सालमा स्थापना भएको भण्डारी सेवा समाज नेपालले निरन्तर सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । भण्डारी सेवा समाजले शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग आर्थिक अवस्था कमजोर विद्यार्थीलाई सहयोग ,गम्भीर स्वास्थ्य समस्या भएका बिरामीहरूको उपचार खर्चमा योगदान,प्राकृतिक प्रकोप पीडितलाई राहत ,उच्च पदस्थ व्यक्तिहरूलाई सम्मान र ऊर्जा प्रदान गर्ने जस्ता कार्य हरु गर्दै आइरहेको छ।
भण्डारी समाजमा अध्यक्ष वीरबहादुर भण्डारीका अनुसार समाजले बागमती प्रदेशसहित सिन्धुपाल्चोक क्षेत्र नं. २, देशका ३१ जिल्ला र १५ पालिकामा संगठन विस्तार गरिसकेको छ। आगामी दिनमा पालिका स्तरदेखि नै देशव्यापी संगठन विस्तार गर्दै वंशावली उठान तथा सामाजिक–सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने समाजको लक्ष्य रहेको उनले बताए । यस सम्मानले सावित्रा भण्डारी मात्र होइन, सम्पूर्ण नेपाली महिला खेलाडीलाई प्रेरणा दिने अपेक्षा गरिएको छ।
समाजका प्रमुख संरक्षक जीवनकुमार भण्डारीले भने, ‘साम्बाले हाम्रो समाज मात्र होइन, सारा नेपालीलाई गर्वित बनाएकी छन्। उहाँजस्ता प्रतिभा हाम्रो भविष्यका लागि अमूल्य सम्पत्ति हुन्।’नुवाकोटको गाउँबाट सुरु भएको यात्रा आज अन्तर्राष्ट्रिय मञ्चसम्म पुगेको छ। सावित्रा भण्डारी (साम्बा)को सफलताको कथा संघर्ष, धैर्य र समर्पणको कथा हो।
रघुवंशीय कौशिक गोत्रीय भण्डारी सेवा समाज नेपालले गरेको यो सम्मान केवल साम्बाको उपलब्धिको कदर मात्र होइन, सम्पूर्ण नेपाली समाज र महिला खेलकुदको गर्व पनि हो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्