काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा जोड दिएका छन् ।उनले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपुरो हुने भन्दै युवापुस्तालाई समेट्नुपर्नेमा जोड दिएका हुन् ।
राष्ट्रिय युवा परिषदद्वारा आज आयोजित ‘सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद’ विषयक कार्यक्रममा मन्त्री खरेलले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई सरकार र जेनजी प्रतिनिधिबिचको सम्झौतामा जनआन्दोलनको मान्यता दिइसकिएकाले त्यस आन्दोलनलाई कसैले पनि नजरअन्दाज गर्न नमिल्ने बताएका छन् ।
‘अबको समय मात्रै होइन, हिजो र भोलिको समय पनि युवाकै हो । युवाले केही गर्न सक्दैनन् भन्ने भ्रम जेनजी आन्दोलनले तोडिदिएको छ । उनीहरुले परिवर्तनका लागि बलिदान दिन सक्छन् भन्ने देखाएका छन्’, उनले भने , ‘हरेक चरणका आन्दोलनमा युवाको भूमिका रहँदै आएको छ । युवाले चाहेमा २७ घण्टामा कायापलट हुन सक्छ भनेर प्रमाणित गरे तर यसपटक जेनजीहरु सरकारमा आउन चाहेनन् । त्यसकारण यो निःस्वार्थ आन्दोलन हो । उनीहरु आफू सत्तामा आउन चाहेनन्, सुशासन र रोजगारीको माग मात्रै गरे ।’
उनले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद अपुरो हुने भन्दै युवा नेतृत्वमा आउनुपर्नेमा जोड दिए । उनले नेपाली राजनीतिमा अब युवाको दबदबा हुनेवाला भएको र त्यसलाई कसैले रोकेर नरोकिने भनाइ व्यक्त गरे । ‘अब हरेक राजनीतिक पार्टीले युवालाई नेतृत्वमा ल्याउन तयार नभई सुखै छैन । मुलुकका युवाको भविष्य राजनीतिमा उज्ज्वल छ ।’
मन्त्री खरेलले निकट भविष्यमा हुने राजनीतिक दलको महाधिवेशनमा कति युवा आउँछन् ? आगामी फागुन २१ गते हुने चुनावमा कति प्रतिशत युवाले टिकट पाउँछन् ? भन्ने प्रश्नले ती दल कत्तिको युवामैत्री छन् भन्ने झल्कने बताउँदै उनले अब युवा कुनै वादको बन्धक नभई अधिकार लिने र देश बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए । सञ्चार क्षेत्रले पनि यस आयामलाई बोक्न सक्नुपर्ने बताउँदै उनले मुलुक परिवर्तनको बाटोमा सरकारको साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रियसभाका सदस्य एवं जनसङ्ख्या एवं विकासका लागि संसदीय सञ्जालका महासचिव गङ्गाकुमारी बेलवसेले युवालाई समस्या नभई समाधान, ऊर्जा र नवप्रवर्तनमा उपयोग गर्नुपर्नेमा जोड दिए । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव मनिता श्रेष्ठले शिक्षाका माध्यमबाट दक्ष जनशक्ति निर्माण आजको आवश्यकता भएको बताए । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या विकास कोषका नेपाल प्रतिनिधि श्रीराम हरिदासले मिडिया, युवा र जवाफदेहिताबारेको संवादलाई निरन्तरता दिन अत्यावश्यक भएको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले जेनजी आन्दोलनमा सञ्चार क्षेत्रमाथि पनि भौतिक प्रहार हुनुले मिडियामाथि पनि आक्रोस रहेछ भन्ने बुझेर सामग्रीमा पुनर्विचार गर्नुपर्नेमा जोड दिए।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्