काठमाडौं । राजधानी काठमाडौंमा बुधबार बिहानदेखि देखिएको खराब मौसमले नेपाल आउने–जाने पर्यटकको यात्रा योजनामा असर परेको छ । भिजिवीलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका हुन् ।
पर्यटकीय सिजनको पूर्वसन्ध्यामा देखिएको मौसम अवरोधका कारण विदेशबाट नेपाल भ्रमणमा आउने पर्यटक बोकेका ठूला विमानहरू आकाशमै होल्डमा राखिएका छन् भने केही विमानहरू अवतरण गर्न नसकी गन्तव्यतर्फ फर्किन बाध्य भएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार दोहा, इस्तानबुल लगायतका अन्तर्राष्ट्रिय गन्तव्यबाट आएका विमानहरू अनुकूल मौसमको पर्खाइमा सिमराको आकाशमा होल्डमा राखिएका छन् । यसले काठमाडौंलाई प्रवेशद्वार बनाउँदै पोखरा, चितवन, लुम्बिनी तथा हिमाली गन्तव्यतर्फ जाने पर्यटकको आन्तरिक यात्रा तालिका पनि प्रभावित भएको छ ।
आन्तरिक उडानतर्फ तुम्लिङटार, भरतपुर, सुर्खेत र राजविराज जस्ता पर्यटन तथा व्यवसायिक सम्भावना बोकेका विमानस्थलहरूमा पनि मौसम प्रतिकूल हुँदा उडान ठप्प भएका छन् । यसले साहसिक पर्यटन, धार्मिक भ्रमण र व्यवसायिक यात्रामा निर्भर यात्रुहरूलाई वैकल्पिक योजना बनाउन बाध्य बनाएको छ ।पर्यटन विज्ञहरूका अनुसार काठमाडौं उपत्यकाको मौसमले अन्तर्राष्ट्रिय उडानमा बारम्बार असर पार्नु नेपाल पर्यटनको छविका लागि चुनौतीपूर्ण विषय हो । आधुनिक प्रविधिमा आधारित नेभिगेसन प्रणाली विस्तार भएमा खराब मौसममा पनि सुरक्षित अवतरण सम्भव हुने र पर्यटकको समय तथा अनुभव दुवै जोगिन सक्ने उनीहरूको भनाइ छ ।
हाल त्रिभुवन विमानस्थलबाट दैनिक करिब १०० अन्तर्राष्ट्रिय र २०० आन्तरिक उडान सञ्चालन हुने गरेका छन् । मौसम सुधार नहुँदासम्म यात्रु तथा पर्यटकलाई उडान तालिका अद्यावधिक जानकारी लिइरहन र वैकल्पिक योजनासहित यात्रा गर्न पर्यटनसम्बद्ध निकायले आग्रह गरेका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्