काठमाडौँ। नोबेल एकेडेमीमा विद्यार्थीहरुको बिचल्ली भएको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित प्रतिष्ठित शैक्षिक संस्था भनिने नोबेल एकेडेमीमा कक्षा ११ का विद्यार्थी र अभिभावकहरू कलेजको ‘सिन्डिकेट’ र अव्यवस्थाका कारण ठूलो अन्योलमा परेका हुन्।
कलेजले भर्नाको समयमा गरेका चिल्ला प्रतिबद्धताहरू पूरा नगरेको मात्र होइन, विभिन्न बहानामा अनावश्यक जरिवाना र चर्को शुल्क असुलेर विद्यार्थीको भविष्यमाथि नै खेलबाड गरिरहेको पाइएको छ।
नयाँ शैक्षिक सत्र सुरु भएसँगै कलेज प्रशासनले देखाएको यो अपारदर्शी शैलीले यतिबेला अभिभावकहरू आर्थिक र मानसिक तनावमा परेका छन्।
प्रयोगशालामा लुट र ‘पुस्तक सिन्डिकेट’को दबाब
कलेजले कम्प्युटर ल्याब र अतिरिक्त क्रियाकलाप (ECA) का नाममा विद्यार्थीबाट मोटो रकम उठाए पनि सुविधाहरू भने शून्यप्रायः रहेको गुनासो व्यापक छ। प्रयोगशालामा दक्ष प्राविधिकको अभावमा विद्यार्थीले प्रयोगात्मक ज्ञान सिक्न पाएका छैनन् भने कलेजले तोकेकै पसलबाट महँगोमा किताब किन्न बाध्य पारेर ‘पुस्तक सिन्डिकेट’ लादेको छ।
यसबाहेक, विषय शिक्षकहरू बारम्बार फेरबदल भइरहने समस्याले गर्दा पाठ्यक्रम समयमै नसकिने र शैक्षिक गुणस्तर खस्कने जोखिम बढेको छ।अनुशासनको नाममा विद्यार्थीमाथि लगाइएको चर्को आर्थिक जरिवाना र मानसिक सजायले नोबेलको वातावरण भयभीत बनेको छ। कुनै कारणवश कक्षामा ढिलो हुँदा वा परीक्षामा अनुपस्थित हुँदा चर्को शुल्क तिर्न लगाइन्छ भने घरबाट खाजा ल्याउन निषेध गरेर क्यान्टिनमा अस्वस्थकर खाना खान बाध्य पारिएको छ।
नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई एउटै ब्लकमा राख्दा उत्पन्न असहजता र खेल मैदानको अभावले विद्यार्थीको सर्वाङ्गीण विकासमा समेत बाधा पुगेको छ। व्यापारिक लाभमा मात्र केन्द्रित रहेको आरोप खेपिरहेको नोबेल एकेडेमीको यो चरम लापरवाहीप्रति सम्बन्धित निकायले तत्काल छानबिन गरी विद्यार्थीको शैक्षिक अधिकार सुरक्षित गर्न जरुरी देखिन्छ। अन्यथा, नाम चलेका शैक्षिक संस्थाकै यस्तो व्यवहारले समग्र निजी शिक्षा क्षेत्रप्रति नै अविश्वास बढ्ने निश्चित छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्