Skip to content

माथिल्लो तामाकोशीमा आज जलाशय फ्लसिङ, नदी आसपास उच्च सतर्कता अपनाउन आग्रह

nmb bank inside

काठमाडौं । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले आज (शनिबार) बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म जलाशयको आकस्मिक फ्लसिङ (सफा गर्ने कार्य) गर्ने भएको छ । फ्लसिङका क्रममा जलाशयको गेट पटक–पटक खोल्ने र बन्द गर्ने भएकाले तामाकोशी नदीको जलसतहमा निरन्तर उतारचढाव हुने केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यसबाट तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रअन्तर्गत लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्ती हुँदै सुनकोशी नदीसँगको दोभानसम्मको क्षेत्रमा प्रभाव पर्न सक्नेछ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त अवधिभर नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटी–बालुवा उत्खनन गर्ने तथा नदीबाट सवारीसाधन वारपार गराउने जस्ता गतिविधि नगर्न केन्द्रले सर्वसाधारणसँग आग्रह गरेको छ ।

त्यसैगरी, नदी किनारमा परम्पराअनुसार गरिने दाहसंस्कार तथा अन्य धार्मिक संस्कार गर्नुपर्ने अवस्था आएमा अत्यन्त सावधानी अपनाउन पनि अनुरोध गरिएको छ । माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले नदी आसपासका स्थानीयवासी तथा सम्बन्धित सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै नदीको जलसतहमा अचानक वृद्धि हुन सक्ने भएकाले जोखिमपूर्ण गतिविधिबाट टाढा रहन अनुरोध गरेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्