Skip to content

हरिशयनी एकादशी :तुलसीको बिरुवा सार्ने र चतुर्मास व्रत सुरु हुने दिन

nmb bank inside

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने हरिशयनी एकादशी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। आजकै दिनदेखि घर–घरमा तुलसीको बिरुवा तुलसीको मठमा सारेर चार महिनासम्म विशेष पूजा–आराधना गर्ने परम्परा सुरु हुन्छ।

सनातन वैदिक परम्पराअनुसार एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन रोपिएको तुलसीको बिरुवा आज मठमा सारिन्छ। तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गर्ने धार्मिक मान्यता छ।

धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने विश्वास रहेकाले यस दिनलाई हरिशयनी एकादशी भनिन्छ। विष्णुको शयनकालका यी चार महिनालाई चतुर्मासा पनि भनिन्छ।

वैदिक परम्पराअनुसार एक वर्षमा २४ वटा एकादशी पर्छन्। सबै एकादशीमा व्रत बस्न नसक्ने भक्तजनले चतुर्मासका आठ एकादशीमा व्रत बस्ने चलन छ। कामकाजका कारण नियमित व्रत बस्न नसक्नेहरूले भने हरिशयनी र हरिबोधिनी एकादशीमा फलाहार गरी व्रत बस्ने गर्छन्।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण तथा देशभरका विष्णु र नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। एकादशीका दिन चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो तथा फलाहार ग्रहण गर्ने धार्मिक परम्परा छ।

धार्मिक महत्वसँगै तुलसीलाई औषधीय गुणले भरिपूर्ण वनस्पतिको रूपमा पनि लिइन्छ। वैज्ञानिक अध्ययनले तुलसीले वातावरण शुद्ध बनाउन र अक्सिजनको मात्रा बढाउन सहयोग गर्ने देखाएको छ। तुलसी रोपिएको स्थानमा हावा स्वच्छ रहने र विभिन्न रोगका कीटाणुको प्रभाव कम हुने विश्वास पनि गरिन्छ। वास्तुशास्त्रमा समेत तुलसीलाई शुभ र सकारात्मक ऊर्जाको प्रतीक मानिन्छ।

चार महिनासम्म विधिपूर्वक पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) का दिन भगवान् दामोदरसँग वैदिक विधिअनुसार विवाह गराइन्छ। तुलसी विवाह सम्पन्न भएपछि अग्निस्थापना तथा हवन गरी चतुर्मास व्रतको समापन गर्ने परम्परा रहेको छ।

तस्बिरःएआई

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्