Skip to content

कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

nmb bank inside

कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) का अध्यक्ष तथा संघीय सांसद प्रकाशसिंह कार्कीले कोदो र फापरको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्नुपर्ने बताएका छन्।

शनिबार दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ को अवसरमा नेपाल कोदो तथा फापर संघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालले वार्षिक करिब ८५ करोड रुपैयाँ बराबरको कोदो तथा फापर आयात गरिरहेको उल्लेख गर्दै स्वदेशमै उत्पादन बढाउन सके विदेशी मुद्रा बचत हुनुका साथै निर्यात विस्तार गर्न सकिने बताए। सरकारले प्रत्येक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरिसकेको छ।

उनले कोदो खेतीमा महिलाको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै रोपाइँदेखि दाना भकारीमा थन्क्याउनेसम्मको अधिकांश मेहनत महिलाले गर्ने गरेको बताए। उत्पादन प्रक्रियामा महिलाको योगदानको उचित सम्मान हुनुपर्ने उनको भनाइ थियो।

कार्कीले विगतमा कोदोको ढिँडो र रोटीलाई ग्रामीण खानाका रूपमा हेरिने भए पनि अहिले स्वास्थ्यप्रतिको बढ्दो सचेतनासँगै शहरका घर–घर र रेष्टुरेन्टमा यसको माग उल्लेखनीय रूपमा बढेको बताए। पहिले मानिसहरू नगरकोट वा गाउँ पुगेर मात्रै ढिँडो खाने गरेको स्मरण गर्दै अहिले भने अधिकांश परिवारले नियमित रूपमा कोदोका परिकार खान थालेको उनले बताए।

उनले राम्रो प्याकेजिङ, ब्रान्डिङ र बजार व्यवस्थापन गर्न सके नेपाली कोदो र फापरले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गरे।

‘हामीले अहिले करिब ८५ करोड रुपैयाँभन्दा बढीको कोदो तथा फापर आयात गरिरहेका छौं। यही उत्पादन नेपालमै बढाउन सक्यौं भने विदेशी मुद्रा बाहिर जान रोक्न सकिन्छ। संसारभर यसको माग छ। जापानमा समेत कोदो र फापरबाट बनेका विभिन्न परिकार लोकप्रिय छन्। त्यसैले उत्पादन बढाएर ब्रान्डिङ र प्याकेजिङमार्फत निर्यात गर्नुपर्छ,’ उनले भने । 

उनले आफू लामो समयदेखि निर्यातसँग सम्बन्धित व्यवसायमा आबद्ध रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय बजारको माग र सम्भावनाबारे आफू जानकार रहेको बताए। नेपालमा उत्पादन बढाउन सके कोदो तथा फापरका विभिन्न परिकार विश्व बजारमा निर्यात गर्न सकिने उनको भनाइ थियो।

कार्कीले सरकार, निजी क्षेत्र र सम्बन्धित संस्थाहरूले संयुक्त रूपमा विस्तृत परियोजना प्रतिवेदन (प्रोजेक्ट रिपोर्ट) तयार गरी कहाँ उत्पादन बढाउन सकिन्छ, कहाँ बजार छ र कुन देशमा निर्यात गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र कृषि उद्यम केन्द्रसँग मिलेर यस्तो अध्ययन अघि बढाउन आग्रह गर्दै आवश्यक नीति निर्माणका लागि निजी क्षेत्रबाट सुझाव दिन पनि अनुरोध गरे।

‘म अहिले उद्योग, वाणिज्य, आपूर्ति तथा श्रमसँग सम्बन्धित संसदीय समितिमा छु। तपाईंहरूले आवश्यक सुझाव दिनुभयो भने संसद् र समितिमा नीति निर्माणका लागि निरन्तर आवाज उठाउनेछु। निजी क्षेत्रको समस्या समाधान र कृषि प्रवद्र्धनका लागि पुलको भूमिका खेल्न तयार छु,’ उनले भने । 

कार्कीले नेपालजस्तो कृषि सम्भावना भएको देशले अर्बौं रुपैयाँको खाद्यान्न आयात गर्नुपर्ने अवस्था दुःखद भएको टिप्पणी गरे। नेपालमा पर्याप्त उर्वर भूमि हुँदाहुँदै पनि उत्पादनमा ध्यान नदिँदा आयातमा निर्भर हुनुपरेको उनको भनाइ थियो।

उनले आफ्नो गृहजिल्ला सोलुखुम्बुमा रासायनिक मलको प्रयोग अत्यन्त न्यून रहेको उल्लेख गर्दै त्यहाँ अझै पनि अधिकांश खेती अर्गानिक रूपमा हुने गरेको बताए। अर्गानिक उत्पादनको माग विश्वभर बढिरहेका बेला नेपालले त्यसलाई अवसरका रूपमा लिनुपर्ने उनले बताए।

कार्यक्रममा कार्कीले कोदो, फापरलगायत रैथाने बालीको संरक्षण र प्रवद्र्धनलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै उत्पादन, प्रशोधन, ब्रान्डिङ र बजार विस्तारका लागि आवश्यक नीति निर्माणमा आफूले संसद्भित्र निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्