काठमाडौँ । पूर्व हाकिमहरु फरार छन्, चिफ बिजनेश अफिसर प्रहरी हिरासतमा छिन् । नेपाल राष्ट्र बैंकले कारवाहीको डण्डा चलाएको छ । संचालकको नियुक्ति गैरकानुनी भएका खबर सार्वजनिक भएका छन् । बैंकमा बचेकुचेका केहि हाकिमहरुलाई पनि प्रहरीमा बयान दिन भ्याई नभ्याई छ । बिग्रिएका फाइलका चाङ्ग छन्, सुशासनमा भ्वाङ छ । सुशासन इतिहासकै कमजोर स्थितिमा पुगेको प्रभु बैंकमा ठुला केहि फाइल नउठ्ने पक्काजस्तै भईसकेको छ । बजारमा टाँट पल्टिन लागेका ठुला व्यापारीहरुको ऋण यहीँ छ । र पनि, प्रभु बैंकभित्र गुटको खेल, आफन्तलाई जागिर दिलाउने दाउ र अस्वाभाविक सरुवामात्र चलिरहेको छ ।
यहि सरुवाको पहिलो टार्गेट बनेका छन्, बैंकका चिफ बिजनेश अफिसर रमेश कुमार श्रेष्ठ । रविन्द्र ढकालको कसैगरी बैंकमा श्रेष्ठ हटाउने दाउ, श्रेष्ठ हटे आफु चिफ बिजनेश अफिसर हुने दिपेन्द्र बिष्टको दाउ, आफ्नै सरहको पदका सहकर्मीको सरुवा भए बजारमा आफ्नो भाउ ठुलो हुने निरज लम्सालको दाउ, अनि सबैको दाउलाई सीइओले भाउ दिएपछि आफ्नो सरुवा भएको स्वयम् श्रेष्ठको दाबी छ । उनको तर्क छ- न कुनै गल्ती, न कुनै बेइमानी । मात्र बैंकभित्र कसैका कुरा सुनेर सरुवाको पत्र थमाईयो । त्यो पनि सुदूरपश्चिम ।
यो सरुवा सामान्य थिएन । किनकि एजीएमहरुको सरुवा सामान्य मानिन्न । कुनै बेला एनआईसी एशिया बैंकमा तत्कालीन डेपुटी सीइओ सुधिर नाथ पाण्डेलाई यसरी नै मधेश प्रदेश सरुवा गर्दा न बैंक जोगियो, न बैंकको शाख । अझ प्रभु बैंकमा त यस्ता बिग्रिएको देखिन बाँकी कति छन् कति । कतै यो बैंक सकिने सुरुवाती घटना त होइन ? प्रश्न उठेको छ । सँगै उठेको छ प्रश्न- तत्कालीन सेन्चुरी कमर्सियल बैंकका कर्मचारीहरुमाथि थप पेलानको सुरुवाती अध्याय त होइन यो ? अनेक प्रश्नका बीच पनि सूचना अधिकारी भनिएका रविन्द्र ढकाल आफ्ना पकेटका मान्छेका बाहेक फोन उठाउँदैनन् । र त बैंकभित्रकाहरु ठट्टा गर्दै भन्छन्- उनी बैंकका पीएनओ हुन् । पीएनओ अर्थात् फोन नउठाउने अफिसर ।
रविन्द्र ढकालले फोन नउठाए पनि बैंकको बदमासी र विवाद लुक्दैन । र आज हामी बैंकभित्र उठेका पछिल्ला अरु विवादबारे चर्चा गर्दैछौँ ।
सुरुमा कुरा गरौँ बैंकको संचालक समिति गैरकानुनी रुपमा पदमा रहेको बारे ।
प्रभु बैंकको सञ्चालक समितिमा बिर्खबहादुर बस्नेत छन् । उनी कहिले सर्वसाधारण सेयरधनीको प्रतिनिधि त कहिले संस्थापक समूहको प्रतिनिधि बनेर बैंकको संचालक समितिमा बनिरहेका छन् । प्रचलित कानुनी व्यवस्थाअनुसार यस्तो गर्न मिल्दैन । स्वयम् राष्ट्र बैंकले पनि यसरी एउटै व्यक्ति कहिले सर्वसाधारण समूहबाट कहिले संस्थापक समूहबाट संचालक बस्न नपाइने भनेको छ । तर बिर्खबहादुर मलाई कसले छुने शैलीमा बैंकभित्र संचालकको सेवा सुविधा लिएर बसेका छन् ।
यसो त बिर्खबहादुर मात्र होइनन्, अरु संचालक पनि विवादै विवादको चंगुलमा छन् प्रभुमा । बैंककी संचालक अम्बिका लामिछाने बैंकमा जनताको रकम आफ्नो कम्पनीलाई बिजनेश दिएर दुरुपयोग गरेको केसमा विवादित छिन् । बैंकका अर्का एक संचालक रमेश राज अर्याल त झन्, राष्ट्र बैंकले गैरकानुनी रुपमा संचालक बनेको भन्दै तत्कालीन सिटिजन्स बैंकबाट निकालिएका व्यक्ति हुन् । सिटिजन्सबाट निकालिएका मात्र होइन, कुमारी बैंकको सीइओबाट बाहिरिदा लिएको गैरकानुनी तलव पनि फिर्ता गर्नुपरेका व्यक्ति हुन् । अनि यस्तो विवादै विवादको भूमरीमा प्रभु बैंक चलिरहेको छ भने यस्तो संचालक समितिबाट सुशासनको अपेक्षा कसरी गर्ने ? प्रश्न उठेको छ ।
स्वयम् राष्ट्र बैंकले प्रभु बैंकका बदमासी छताछुल्ल पारिसकेको छ । स्थलगत निरीक्षण प्रतिवेदनमा औँल्याइएका गम्भीर कैफियत समयमै सुधार नगरेको, कर्जा सम्बन्धी राष्ट्र बैंकका निर्देशन पटक–पटक उल्लङ्घन गरेको, कर्जा वर्गीकरण नगरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, एकीकृत निर्देशन, २०८१ को इ.प्रा. निर्देशन नं. २ पालना नगरेको, राष्ट्र बैंकमा पेश गरिएको कर्जा विवरण र बैंकको कोर बैंकिङ प्रणाली बाट प्राप्त विवरणबीच फरक रहेको जस्ता गम्भीर कैफियत देखिएपछि राष्ट्र बैंकले प्रभु बैंकलाई कारवाही गरिसकेको छ । अनि यसरी बदमासीको हद गर्ने, राष्ट्र बैंकलाई फेक विवरण बुझाएर मनपरीको सिमा नाघ्ने, अनि संचालक बदमासी गर्ने, गैरकानुनी रुपमा पदमा बस्ने, अनि अव पूरानो सबै बनाएर जानुपर्नेमा छानी छानी मान्छे सरुवा गर्ने । यस्तो भएपछि त अव प्रभुलाई जोगाउन त प्रभुको आशिर्वादबाहेक अरु कसैले सक्ला र ?
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्