Skip to content

भीमदत्त पन्तको बलिदानलाई खेर जान दिनेछैनौं : राजेन्द्र पाण्डे

nmb bank inside

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले भीमदत्त पन्तको बलिदानलाई खेर जान नदिन निरन्तर क्रान्तिमा लागि रहने जनाएका छन् । आइतबार काठमाडौंको संवाद डबलीमा अखिल नेपाल किसान महासंघद्वारा आयोजित कार्यक्रममा वक्ताहरुले वर्तमान सरकार किसानप्रति अनुदार रहेको समेत आरोप लगाएका छन् ।

३५औं किसान शहीद दिवस तथा ७३औं भीमदत्त पन्त स्मृति दिवसको सन्दर्भमा नेकपाका केन्द्रीय संयोजन समितिका सदस्य राजेन्द्र पाण्डेले शहीद भीमदत्त पन्त नेपाली किसान आन्दोलनको एक योद्धा भएको बताए ।

किसान र गरिब मजदुरका पक्षमा संघर्ष गर्दागर्दै सहादत प्राप्त गरेको र आफ्नो पार्टीले पन्तको बलिदानको रक्षा गर्ने पाण्डेले जनाए ।

बागमति प्रदेश पूर्वमुख्यमन्त्रीसमेत रहेका पण्डेले ‘देश र जनताको सेवा गर्नेहरुको मृत्यु पहाडभन्दा गह्रौं हुन्छ’ भन्ने माओत्सेतुङको भनाइलाई उद्धृद गर्दै पन्त नेपाली आम किसानहरुको महान प्रेरक व्यक्तित्व रहेको धारणा राखे ।

पाण्डेले शहीद भीमदत्त पन्तको जीवनीमा आधारित चलचित्र ‘भीमदत्त पन्त’ चलचित्रले नयाँ पीँडीमाझ पन्तलाई जीवन्त बनाउन सघाउने जिकिर गरे । निर्माता नवल खड्कालाई सो चलचित्र बनाएकोमा धन्यवादसमेत दिए ।

कार्यक्रममा ‘भीमदत्त पन्त’ चलचित्रका नायक तथा निर्माता नवल खड्काले नेपाल किसान तथा सर्वहारा जनताको वास्तविक नायक भीमदत्त पन्त रहेको धारणा राखे । पन्त जस्तै महान शहीदहरुको योगदानलाई वर्तमान सरकारले अबमूल्यन गर्न खोजिरहेको आरोपसमेत लगाए ।

वर्तमान सरकारका प्रधानमन्त्री बालेन्द्र साहले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिले हरेक देशभक्तलाई विद्रोही भाव पैदा गरेको भन्दै आक्रोश व्यक्त गरे ।

‘हामी एक टुक्रा पनि भूमि विदेशीलाई दिने छैनौं, म बालेनलाई च्यालेन्ज दिन्छु– तपाईको राष्ट्रघाति कदम र सोचलाई खारानी बनाउन नपरोस्’ खड्काले भने ।

अखिल नेपाल किसान महासंघका संयोजक चित्र बहादुर श्रेष्ठले भीमदत्त पन्तको जीवनीबारे प्रस्ट पार्दै, नेपाली किसान आन्दोलनका अग्रणी योद्धा रहेको धारणा राखे ।

महासंघका सहसंयोजक रामकुमार ज्ञवालीले पन्त नेपाली किसान आन्दोलनका प्रेरणाको स्रोत भएको बताए ।

महासंघका नेता नहेन्द्र खड्काले भीमदत्त पन्तको योगदान र बलिदानलाई हरेक किसान तथा उत्पीडित वर्गले विर्षन नहुने धारणा राखे । आफूहरुले पन्तको बाटो अबलम्बन गर्ने प्रयास गरिरहेको र त्यसलाई निरन्तरता दिदै जाने पनि बाताए ।

सो कार्यक्रममा नायक तथा निर्माता नवल खड्कालाई ‘कलाकार सम्मान’ले सम्मानित गरिएको थियो ।

त्यसैगरी किसान संघसंगठनसँग जोडिएका सहिद तथा वेपत्ता योद्दा परिवारका सदस्यहरु मीना तामाङ, शान्ता न्यौपाने, खिलमाया सापकोटा, विष्णुमाया नेपाल, बिमला विश्वकर्मा र नवराज लुईटेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेताहरु भानुभक्त जैसी, बलराम बाँस्कोटा, बलदेव चौधरी, देवराज रेग्मी, अगस्त अधिकारी, डा.केशव खड्का र पासाङ मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्