काठमाडौं । आर्थिक अभावका कारण हुम्लाको विकट गाउँमा नसा च्यापिएको पीडाले छटपटाइरहेका ५१ वर्षीय प्रतापे दमाई निःशुल्क उपचारपछि अन्ततः स्वस्थ भएर घर फर्केका छन् ।
उपचारबाट वञ्चित प्रतापेलाई काठमाडौं ल्याएर उपचारका लागि पहल गरेकी जेन्जी आन्दोलनकी उद्धारकर्ता किशोरी कार्कीको आग्रहमा काठमाडौं मेडिकल कलेज (केएमसी)का सञ्चालक तथा नेपाली कांग्रेसका नेता डा.सुनील शर्माले उनको सम्पूर्ण उपचार निःशुल्क गराउने व्यवस्था मिलाइदिएका हुन्।
हुम्लाको अदानचुली गाउँपालिका–३ का प्रतापे लामो समयदेखि नसाको समस्याबाट पीडित थिए। अवस्था यति गम्भीर बनेको थियो कि उनी शरीर सीधा उभिनसमेत सक्दैनथे। हिँडडुल र दैनिक कामकाजसमेत उनका लागि पीडादायी थियो।
दुर्गम हुम्लामा उपचारको सहज पहुँच नहुनु र काठमाडौंसम्म पुग्न लाग्ने खर्च जुटाउन नसक्नु उनका लागि अर्को ठूलो समस्या थियो।
प्रतापेको यही अवस्थाबारे जानकारी पाएपछि कार्की उनको उपचारका लागि पहल गर्न अघि सरिन् र काठमाडौं ल्याउने व्यवस्था मिलाइन्। त्यसपछि सुरु भयो प्रतापेको हुम्लादेखि काठमाडौंसम्मको कठिन यात्रा। एक साताभन्दा लामो कष्टकर यात्रापछि प्रतापे उपचारको आशा बोकेर काठमाडौं आइपुगे। राजधानी आइपुगेलगत्तै केएमसी दुवाकोटको एम्बुलेन्सले उनलाई अस्पताल पु¥यायो।
प्रतापेको अवस्था र आर्थिक कठिनाइबारे जानकारी गराउँदै कार्कीले केएमसीका सञ्चालक शर्मासँग उनको उपचारका लागि सहयोग मागिन्। कार्कीको आग्रहपछि डा. शर्माले प्रतापेको उपचारमा लाग्ने सम्पूर्ण खर्च निःशुल्क गर्ने व्यवस्था मिलाए।
त्यसपछि केएमसी दुवाकोटका डाक्टर अमन शाहको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली प्रतापेको उपचारमा खटियो। अस्पतालको आधुनिक प्रविधि र चिकित्सकहरूको प्रयासपछि लामो समयदेखि दुखाइको पीडामा रहेका प्रतापेको पीडामा मलम लागेको हो ।
उनको इन्डोस्कोपिक स्पाइन सर्जरी गरियो र शल्यक्रिया गरेको केही समयमै उनी आफैं हिँड्न सक्ने भए। आधुनिक प्रविधिमार्फत सफल उपचारपछि तन्दुरुस्त भएर घर फर्कन लाग्दा उनले निःशुल्क उपचारको व्यवस्था मिलाइदिने नेता शर्मा, पहल गरिदिने कार्की र उपचारमा संलग्न सम्पूर्ण चिकित्सकको टोलीप्रति हृदयदेखि नै आभार व्यक्त गरेका छन्।
दुखाइका कारण खुट्टासमेत टेक्न नसक्ने अवस्थामा एम्बुलेन्समा अस्पताल छिरेका प्रतापे निःशुल्क उपचारपछि हिँड्न सक्ने भएर घर फर्किएका छन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्