काठमाडौँ । अर्थमन्त्रीले मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग आयोजना गरेको छलफलमा प्रभु बैंकका सीईओ सुमन शर्मा सहभागी हुन नसक्नुको कारण सिंहदरबार प्रवेशमै भएको अवरोध रहेको खुलेको छ।
बैठकका लागि निर्धारित समयमा अधिकांश वाणिज्य बैंकका सीईओ सिंहदरबार पुगेका थिए। तर राष्ट्रिय वाणिज्य बैंकका सीईओ देवेन्द्ररमण खनाल, कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङ र प्रभु बैंकका सीईओ सुमन शर्मा बैठकमा उपस्थित भएनन्।
तीनमध्ये शर्मा भने सिंहदरबारसम्म पुगे पनि गेटबाटै फर्किनुपरेको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनी चढेको सवारीको नम्बर प्रवेशका लागि टिपाइएको विवरणसँग नमिलेको भन्दै सुरक्षाकर्मीले उनलाई सिंहदरबारभित्र प्रवेश गर्न दिएनन्।
उक्त दिन सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धी मुद्दाको पेशीका कारण शर्मा निर्धारित समयभन्दा केही ढिलो सिंहदरबार पुगेका थिए। बैठक समन्वय गर्ने अधिकारीहरू अर्थमन्त्रीसँगको छलफलमै व्यस्त रहेकाले उनले थप समन्वय गर्न पनि नसकेको बताइएको छ।
सुरक्षाकर्मीले सवारी नम्बर अभिलेखसँग नमिलेको भन्दै प्रवेशमा रोक लगाएपछि शर्मा कार्यालयतर्फ फर्किएका थिए।
बैठक सकिएपछि अन्य बैंकका केही सीईओले उनी किन अनुपस्थित भएको भन्दै सम्पर्क गर्दा आफू सिंहदरबारको गेटमै रोकिएको र त्यसपछि कार्यालय फर्किएको जानकारी दिएको एक बैंकका सीईओले बताए।
यस विषयमा प्रतिक्रिया लिन प्रभु बैंकका सीईओ शर्मासँग सम्पर्क गर्ने प्रयास भए पनि समाचार तयार पार्दासम्म उनको मोबाइलमा सम्पर्क हुन सकेन ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्