‘लज्जावती’को दोस्रो गीत सार्वजनिक, प्रेम र विछोडको भावुक कथा
काठमाडौं । आगामी २९ साउनदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘लज्जावती’ को दोस्रो गीत ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार युट्युबमार्फत गीत सार्वजनिक गरेको हो।
सार्वजनिक गीतको भिडियोमा कलाकार मेनुका माझी र श्रीकृष्ण निरौला बीचको प्रेम, विछोड र त्यसपछिको पीडालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ। प्रेमिकाबाट छुट्टिएपछि निरौला मानसिक रूपमा विक्षिप्तजस्तै बनेको र जताततै प्रेमिकाकै झल्को देख्ने दृश्यले दर्शकलाई भावुक बनाउँछ।
गीतको भिडियोमा कलाकार मुकुन भुसाल र जानुका विश्वकर्मा हराएका निरौलाको खोजीमा हिँडिरहेको दृश्य पनि समावेश गरिएको छ।
गीतमा थानेश्वर गौतमको स्वर, भीमकुमार ओझाको शब्द, सन्तोष बिसीको संगीत तथा नारायण दंगालको संगीत संयोजन रहेको छ।
यसअघि सार्वजनिक गरिएको पहिलो गीत ‘दिलको मोटर’ टिकटक र फेसबुक रिल्समा लोकप्रिय बनेको निर्माण टिमले जनाएको छ। सिनेमाको ट्रेलरले पनि दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाएको भन्दै दोस्रो गीतले पनि राम्रो साथ पाउने अपेक्षा गरिएको छ।
निर्देशक राजबहादुर सानेका अनुसार ‘लज्जावती’ले प्रेमिल जोडीको जीवनमा आउने उतारचढाव, संघर्ष र सम्बन्धका भावनात्मक पक्षलाई चित्रण गरेको छ।
सिनेमामा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेल को अभिनय रहेको छ।
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको सिनेमाका प्रस्तुतकर्ता सौरभ वली, निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया तथा कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन्।
सिनेमाको सम्पादन तारा थापा ‘किम्भे’, द्वन्द्व निर्देशन देव महर्जन, छायांकन दिव्यराज सुवेदी ले गरेका छन् भने वितरण कुबेर सिने डिस्ट्रिब्युसन ले गर्नेछ।



Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्