Skip to content

इथानोल मिश्रण नीति बने पनि कार्यान्वयन सुस्त : उद्यमी खरेल

nmb bank inside

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने नीति ल्याएको लामो समय बितिसक्दा पनि त्यसको कार्यान्वयन प्रक्रिया अघि बढ्न नसकेको उद्योगीहरूले बताएका छन् । इथानोल उत्पादनमा लगानी गर्न तयार रहेका उद्योगीहरूले सरकारबाट आवश्यक सहजीकरण र स्पष्ट पहल नहुँदा परियोजना अघि बढ्न नसकेको बताएका हुन् ।

कियान केमिकल्स इन्डस्ट्रिज प्रालिका अध्यक्ष बेद प्रसाद खरेलले नेपालमा इथानोल मिश्रणसम्बन्धी नीति राजपत्रमा प्रकाशित भइसके पनि उद्योग स्थापनाका लागि आवश्यक वातावरण निर्माण हुन नसकेको बताए । उनका अनुसार सरकारले लगानीकर्तालाई यस क्षेत्रमा आउन औपचारिक आह्वान गर्ने, मूल्य निर्धारण गर्ने संयन्त्र बनाउने र नेपाल आयल निगममार्फत खरिद सम्झौताको प्रक्रिया अघि बढाउने काम अझै हुन सकेको छैन ।

‘नीति बने पनि त्यसपछिको प्रक्रिया जहाँको त्यहीँ छ । उद्योगीहरूलाई उद्योग स्थापना गर्ने वातावरण सिर्जना गर्ने काम सरकारले अगाडि बढाउन सकेको छैन,‘ खरेलले भने । उनका अनुसार उद्योग मन्त्रालयका सचिवको अध्यक्षतामा मूल्य निर्धारणलगायत विषय टुंग्याउन समिति गठन गर्ने व्यवस्था भए पनि त्यसको प्रक्रिया अघि बढेको छैन ।

उनले इथानोलको मूल्य निर्धारण भएपछि मन्त्रिपरिषद्बाट निर्णय गरी नेपाल आयल निगमले उद्योगीहरूसँग खरिद सम्झौता गर्नुपर्ने भए पनि ती सबै चरण अहिले रोकिएको बताए । ‘मूल्य निर्धारण, सरकारी निर्णय र खरिद सम्झौता तीनवटै काम हुन सकेको छैन, त्यसैले प्रक्रिया अगाडि बढ्न सकेको छैन,’ उनले बताए ।

खरेलका अनुसार लगानीको वातावरण बन्ने अपेक्षामा आफूहरू पटक–पटक सरकारसँग छलफलमा रहेपनि अपेक्षित प्रगति हुन सकेको छैन । कियान केमिकल्ससहितका लगानीकर्ताले नेपाल आयल निगममा दुई पटकसम्म निवेदन दिइसकेको तर प्रक्रिया अघि नबढेको उनको भनाइ छ ।

१० प्रतिशत इथानोल मिश्रणले अर्बौंको आयात प्रतिस्थापन

सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्ने लक्ष्य लिएको छ । खरेलले एकैपटक १० प्रतिशतमा पुग्न कठिन भए पनि चरणबद्ध रूपमा उत्पादन बढाउन सकिने बताए । उनका अनुसार भारतले पनि सुरुवातमा कम प्रतिशतबाट सुरु गरेर अहिले उच्च मिश्रणतर्फ अघि बढेको छ ।

उनले नेपालमा १० प्रतिशत इथानोल मिश्रण कार्यान्वयन भए वार्षिक करिब १६–१७ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिनबाट जोगाउन सकिने बताए । ‘यो केवल पेट्रोल आयात घटाउने विषय मात्रै होइन, यसले रोजगारी र उद्योग विस्तारमा समेत योगदान गर्छ,‘उनले भने ।

खरेलका अनुसार १० प्रतिशत मिश्रणको लक्ष्य पूरा गर्न तीनदेखि पाँचवटा ठूला इथानोल उद्योग आवश्यक पर्न सक्छन् । एउटा उद्योग स्थापनामा करिब तीनदेखि साढे तीन अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने र पाँचवटा उद्योग सञ्चालन हुँदा १०–१५ अर्ब रुपैयाँसम्म लगानी भित्रिन सक्ने उनको भनाइ छ । त्यस्तै, यस्ता उद्योगबाट २०–२५ हजार प्रत्यक्ष रोजगारी सिर्जना हुन सक्ने उनले बताए ।

सवारीसाधनमा असर नपर्ने दाबी

पेट्रोलमा इथानोल मिश्रणका कारण सवारीसाधनमा समस्या आउने भन्ने अफवाहप्रति विश्वास नगर्न उनले आग्रह गरे । इथानोलले सवारी साधनमा असर गर्ने भन्ने धारणा गलत भएको खरेलले बताए । उनका अनुसार विश्वका धेरै देशमा लामो समयदेखि इथानोल मिश्रित पेट्रोल प्रयोग हुँदै आएको छ । अमेरिकामा १० प्रतिशत इथानोल मिश्रित पेट्रोल दशकौँदेखि प्रयोग भइरहेको र ब्राजिलजस्ता देशमा उच्च प्रतिशत इथानोल प्रयोग भएको उनले उल्लेख गरे ।

उनले नेपालले अहिले १० प्रतिशत मिश्रणको कुरा गरिरहेकाले पुराना वा नयाँ सवारीसाधनमा ठूलो परिवर्तन आवश्यक नपर्ने बताए । उच्च प्रतिशत मिश्रणमा जाँदा मात्र केही प्राविधिक समायोजन आवश्यक पर्ने उनको भनाइ छ ।

वातावरणीय लाभसमेत हुने

खरेलले इथानोलमा अक्सिजनको मात्रा बढी हुने भएकाले पेट्रोलसँग मिश्रण गर्दा प्रदूषण घटाउन सहयोग पुग्ने बताए । उनका अनुसार इथानोल मिश्रणले कार्बन उत्सर्जन कम गर्न सहयोग गर्ने र नेपालले तय गरेको कार्बन न्यूनीकरण लक्ष्यमा समेत योगदान पु¥याउन सक्नेछ ।

उनले हाइड्रोजन ऊर्जा पनि महत्वपूर्ण भए पनि त्यसका लागि बजार, पूर्वाधार र प्रविधिको तयारी आवश्यक रहेको बताए । इथानोल भने तत्काल उत्पादन गरेर पेट्रोलमा मिश्रण गर्न सकिने भएकाले आयात प्रतिस्थापनमा छिटो प्रभाव देखाउने उनको भनाइ छ ।

‘हाइड्रोजन राम्रो प्रविधि हो, तर त्यसको बजार सुनिश्चित हुनुपर्छ । इथानोल भने अहिले नै उत्पादन गरेर प्रयोग गर्न सकिने र विश्वभर परीक्षण भइसकेको प्रविधि हो,‘ खरेलले बताए ।

नेपालमा इथानोल उद्योग विकास गर्न सरकारले स्पष्ट निर्णय, लगानी सहजीकरण र खरिद सुनिश्चितताको व्यवस्था गर्नुपर्ने उद्योगीहरूको माग छ । नीति मात्र नभई कार्यान्वयनमा समेत तीव्रता आएमा इथानोलले ऊर्जा सुरक्षासँगै उद्योग, रोजगारी र विदेशी मुद्रा बचतमा महत्वपूर्ण योगदान दिन सक्ने उनीहरूको विश्वास छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्