Skip to content

करदाता प्रोत्साहन कार्यक्रम सफल भए अन्तर्राष्ट्रिय उदाहरण बन्न सक्छ :अर्थमन्त्री

nmb bank inside

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भ्याट बिल दिने–लिने संस्कृतिको विकासले राजस्व चुहावट नियन्त्रण गर्नुका साथै करको दायरा विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । 

शुक्रबार आयोजित करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रममा बोल्दै उनले डिजिटल प्रणालीमार्फत कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताए।

उनले भने, ‘करदाताहरूलाई डिजिटल माध्यम अवलम्बन गर्न र बिल दिने–लिने संस्कारको विकास गरेर हाम्रो राजस्व चुहावट रोक्न तथा करको दायराबाहिर रहेकालाई औपचारिक र पारदर्शी ढंगले देश निर्माणमा सहभागी गराउन सहयोग पुग्छ भन्ने विश्वास छ । यसलाई हामी अझ सुधार्दै जानेछौं । प्रविधि (टेक्नोलोजी) र नीतिको संयोजनले आज यो सम्भव भएको हो।’

अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको राजस्व संकलन लक्ष्य निकै महत्वाकांक्षी रहेको उल्लेख गर्दै त्यसलाई पूरा गर्न करको दायरा विस्तार गर्नु आवश्यक रहेको बताए।

उनले भने, ‘यो वर्ष हामीले एक हजार पाँच सय ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेका छौं। त्यसैले यस्तै कार्यक्रममार्फत करको दायरा फराकिलो बनाउँदै सबैलाई औपचारिक अर्थतन्त्रमा आबद्ध हुन प्रोत्साहन गर्ने उद्देश्य राखेका छौं। यो कार्यक्रम सफल हुन्छ भन्नेमा हामी अत्यन्त आशावादी छौं।’

भ्याट बिलको दुरुपयोग तथा नक्कली कारोबारका अभ्यासलाई निरुत्साहित गरिने बताउँदै उनले सुरुआती चरणमा दण्डात्मकभन्दा सचेतनामूलक उपाय अपनाइने स्पष्ट पारे।

उनले भने, ‘भ्याट बिल काट्ने–नकाट्ने तथा केही नक्कली कारोबारका अभ्यास पनि भएका छन्। त्यस्ता गतिविधिलाई हामी निरुत्साहित गर्छौं। सुरुमा दण्डभन्दा पनि नरम तरिकाले अघि बढ्छौं र सम्बन्धित पक्षलाई सम्झाउने प्रयास गर्नेछौं।’

करदाता प्रोत्साहन कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएमा यसले अन्तर्राष्ट्रिय स्तरमै उदाहरण बन्न सक्ने विश्वास पनि उनले व्यक्त गरे।

उनले भने, ‘यो कार्यक्रम हामीले चाहेजस्तै सफल भयो भने अन्तर्राष्ट्रिय स्तरमा पनि यसको अनुकरण हुनेछ भन्ने हाम्रो अपेक्षा छ।’

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्