काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले देश अराजकताको युगतर्फ प्रवेश गर्न लागेको हो कि भन्ने प्रश्न उठाउँदै जनतामा आशा र भरोसा जगाउन विभिन्न राजनीतिक दल तथा शक्तिहरू मिलेर अग्रगामी मोर्चा घोषणा गरिएको बताएका छन् ।
अग्रगामी मोर्चा घोषणा सभा समारोहलाई सम्बोधन गर्दै राउतले देशमा जिम्मेवारीबोध भएका नेतृत्वको आवश्यकता रहेको बताए । जनताले आशा र भरोसा गरिरहेको अवस्थामा विभिन्न दल तथा पार्टीहरू एकजुट भएर मोर्चा घोषणा गर्नु ऐतिहासिक परिघटना भएको उनको भनाइ थियो ।
‘देश अराजकताको युगतर्फ प्रवेश गर्न लागेको हो कि भन्ने प्रश्न उठिरहेको छ । यस्तो अवस्थामा जनतामा आशा र भरोसा जगाउन विभिन्न राजनीतिक दल तथा शक्तिहरू एकजुट भएर अग्रगामी मोर्चा घोषणा गरेका छौं । जनताले आशा र भरोसा गरिरहेको बेला विभिन्न दलहरू मिलेर मोर्चा घोषणा गर्नु आफैंमा ऐतिहासिक परिघटना हो ।’
उनले प्रजातान्त्रिक आन्दोलनदेखि समाजवादी आन्दोलनसम्म योगदान दिएका विभिन्न विचारधारा र पृष्ठभूमिका राजनीतिक योद्धाहरू मोर्चामा एकीकृत भएको बताए । लोकतान्त्रिक, सामाजिक लोकतान्त्रिक तथा क्रान्तिकारी विचारधारालाई एक ठाउँमा ल्याएर जनताको आशामा खरो उत्रने उद्देश्यले मोर्चा गठन गरिएको उनले स्पष्ट पारे ।
राउतले अग्रगामी मोर्चा कुनै एक जात, समुदाय वा वर्ग विशेषको नभई सम्पूर्ण नेपाली जनताको भएको दाबी गरे । ‘हामी यहाँ सबै देशको हितका लागि, जनताको आशा पूरा गर्नका लागि जम्मा भएका छौं,’ उनले भने, ‘सम्पूर्ण नेपाली जनता, सबै जातजाति, समुदाय र वर्गको मोर्चा हो ।’
विगतमा पार्टी तथा राजनीतिक मोर्चा सञ्चालनका क्रममा आफूहरूबाट कमजोरी भएको हुनसक्ने स्वीकार गर्दै राउतले त्यसको समीक्षा गरी आगामी दिनमा सुधारसहित अघि बढ्नुपर्ने बताए ।
पार्टी सञ्चालन, जनतामाझ जाने तथा सरकार सञ्चालनका क्रममा भएका कमीकमजोरीलाई सच्याउँदै नयाँ प्रतिबद्धताका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
उनले अग्रगामी मोर्चा सत्ता प्राप्ति वा कुर्सी खोस्ने उद्देश्यले गठन नगरिएको समेत स्पष्ट पारे । ‘कुर्सी खोस्नका लागि यो मोर्चा बनेको होइन,’ उनले भने, ‘कुर्सीमा बस्नुस्, तर संविधानअनुसार चल्नुस् ।’
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्