काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो प्रयोगसँगै मोबिलिटी क्षेत्र विदेशी लगानी (एफडीआई) आकर्षित गर्न सक्ने नयाँ सम्भावनायुक्त क्षेत्रका रूपमा उभिन थालेको छ ।
यही सम्भावनालाई केन्द्रमा राख्दै आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा लगानी, प्रविधि हस्तान्तरण र हरित यातायात प्रणालीको विकासबारे व्यापक बहस भएको छ ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पोको पहिलो दिन मंगलबार २९ हजारभन्दा बढीले अवलोकन गरेका छन् । विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् । आयोजकका अनुसार एक्स्पो अवधिभर करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
उद्घाटन समारोहमा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले नेपालमा मोबिलिटी क्षेत्र तीव्र परिवर्तनको चरणमा रहेको बताउँदै यसलाई सवारीसाधन बिक्रीको बजार मात्र नभई लगानी, प्रविधि र रोजगारी सिर्जनासँग जोडिएको क्षेत्रका रूपमा बुझ्नुपर्ने बताइन् । उनले नीतिगत अस्थिरताका कारण नयाँ लगानीकर्तामा अन्योल बढेको उल्लेख गर्दै दीर्घकालीन र पूर्वानुमानयोग्य नीति आवश्यक रहेको धारणा राखिन् ।
एक्स्पोको पहिलो दिन आयोजित ‘इन्भेष्टमेन्ट एन्ड फरेन डाइरेक्ट इन्भेष्टमेन्ट (एफडीआई)ः मोबिलिटी–फ्युल्ड इकोनोमिक ग्रोथ’ विषयक विशेष छलफलमा सहभागी वक्ताहरूले नेपालमा मोबिलिटी क्षेत्रले विदेशी लगानी आकर्षित गर्ने पर्याप्त आधार तयार भइसकेको बताएका छन् । जलविद्युत् उत्पादनमा भएको वृद्धि, विद्युतीय सवारीको बढ्दो माग तथा चार्जिङ पूर्वाधार विस्तारले अन्तर्राष्ट्रिय लगानीकर्ताको ध्यान तान्न सक्ने उनीहरूको भनाइ थियो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिनाले हरित अर्थतन्त्र र स्वच्छ ऊर्जामा आधारित उद्योगहरू विश्वव्यापी लगानीको प्राथमिकतामा परिरहेको उल्लेख गर्दै नेपालले त्यसको लाभ लिन सक्ने बताए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले मोबिलिटी क्षेत्रलाई केवल अटोमोबाइल व्यापारका रूपमा नभई ऊर्जा, वित्त, पूर्वाधार र प्रविधिसँग जोडिएको एकीकृत आर्थिक इकोसिस्टमका रूपमा हेर्नुपर्ने धारणा राखे ।
व्यवसायीहरूका अनुसार नेपालमा ईभीको बिक्री बढेसँगै चार्जिङ नेटवर्क, ब्याट्री व्यवस्थापन, स्पेयर पाट्र्स उत्पादन, एसेम्बली प्लान्ट तथा प्राविधिक जनशक्ति विकासजस्ता क्षेत्रमा ठूलो लगानी अवसर सिर्जना भइरहेको छ । यदि नीतिगत स्थिरता कायम हुन सके नेपाल दक्षिण एशियामै हरित मोबिलिटी लगानीको आकर्षक गन्तव्य बन्न सक्ने उनीहरूको विश्वास छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई केवल राजस्व संकलनको माध्यमका रूपमा नहेरी औद्योगिक विकास र लगानी प्रवद्र्धनसँग जोड्नुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा करिब ७ प्रतिशत योगदान पु¥याइरहेको उल्लेख गर्दै यस क्षेत्रमा हुने नयाँ लगानीले आर्थिक गतिविधि थप विस्तार गर्ने बताए । व्यवसायीहरूका अनुसार नाइमा एक्स्पोले नयाँ सवारीसाधन प्रदर्शन गर्ने थलोभन्दा पनि नेपालमा हरित यातायात, प्रविधि हस्तान्तरण र विदेशी लगानी आकर्षित गर्ने सम्भावनालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने प्लेटफर्मका रूपमा भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्