पर्यटनलाई प्राथमिक उद्योग बनाउँछौँ : युविका भण्डारी
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्ष पदकी उम्मेदवार युविका भण्डारीले पर्यटनलाई राष्ट्रिय प्राथमिकताको उद्योगका रूपमा स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताएकी छन् ।
साउन २९ गते हुने निर्वाचनमा ‘पर्यटन उठे, नेपाल उठ्छ’ भन्ने नारासहित चुनावी अभियानमा रहेकी भण्डारी नेतृत्वको प्यानलले बुधबार आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा उनले नाट्टा सरकारसँग कानुन बनाउने वा आदेश जारी गर्ने निकाय नभए पनि पर्यटन व्यवसायीका मुद्दा सरकारसमक्ष प्रभावकारी रूपमा उठाउने र नीतिगत सुधारका लागि निरन्तर लबिङ तथा एड्भोकेसी गर्ने बताइन् ।
भण्डारीले आफू पर्यटन उद्योगमै जन्मिएर हुर्किएको भन्दै यस क्षेत्रका लागि केही योगदान गर्ने उद्देश्यले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताइन्।
‘म कानुनमा हस्ताक्षर गर्न सक्दिनँ, सरकारी आदेश जारी गर्न सक्दिनँ र कुनै मन्त्रालयलाई जबर्जस्ती काम गराउन पनि सक्दिनँ। तर म उनीहरूको ढोकामा उभिन सक्छु, हाम्रो आवाज उठाउन सक्छु र हाम्रो आवाजलाई बेवास्ता गर्न नसक्ने बनाउन सक्छु,’ उनले भनिन्।
नाट्टाको महासचिवका रूपमा आफूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अर्थ, गृह, श्रम तथा रोजगार र परराष्ट्र मन्त्रालयसम्म पुगेर व्यवसायीका समस्या उठाएको उनले बताइन्। विभिन्न मन्त्रालयबीच समन्वयको अभावका कारण पर्यटन क्षेत्रका मुद्दा अल्झिने गरेको भन्दै उनले पर्यटनलाई सबै मन्त्रालयले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।
उनले पर्यटनलाई नेपालको प्राथमिक उद्योग बनाउन आफूहरूले अभियान नै सञ्चालन गरेको बताइन्। पर्यटन क्षेत्रमा कार्यरत व्यवसायीलाई प्रोत्साहन गर्न विदेशी मुद्रा आर्जनका आधारमा निर्यात क्षेत्रले पाएजस्तै प्रोत्साहन तथा प्रत्यक्ष बैंकिङ कारोबारमा आउने विदेशी मुद्रामा क्यासब्याक वा रिबेटको व्यवस्था गर्न सरकारसँग लबिङ गर्ने उनको भनाइ छ।
‘पर्यटन उद्योगको ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा छ। औपचारिक रूपमा दर्ता भएर कर तिर्ने व्यवसायीमाथि मात्र कर तथा विभिन्न नियमको भार पर्ने अवस्था अन्त्य गर्नुपर्छ,’ उनले भनिन्।
भण्डारीले महामारी, आन्दोलन तथा प्राकृतिक विपत्तिका समयमा पर्यटन व्यवसायीले भोगेको क्षतिको क्षतिपूर्ति तथा संरक्षणका लागि प्रभावकारी संयन्त्र आवश्यक रहेको बताइन्। व्यवसायीका लागि बिजनेस इन्स्योरेन्स, लायबिलिटी इन्स्योरेन्स तथा संकट राहत कोषको व्यवस्था गर्न सरकारसँग पहल गर्ने उनको प्रतिबद्धता छ।
त्यस्तै, ट्राभल एजेन्सीका अनलाइन पोर्टल ह्याक भएर रकम विदेशमा पुगेका घटनामा व्यवसायीको रकम सुरक्षित फिर्ता ल्याउने अन्तर्राष्ट्रिय संयन्त्रको आवश्यकता रहेको उनले बताइन्।
उनका अनुसार नाट्टाले एयरलाइन्ससँगको निरन्तर वार्तामार्फत आईएटीए एजेन्टहरूको १८ लाख अमेरिकी डलरको एडीएममध्ये ११ लाख डलर फिर्ता गराउन सफल भएको छ। आन्दोलन तथा लामो बिदापछि आईएटीए भुक्तानीको म्याद थप गराउन र उडान रद्द हुँदा नन–रिफन्डेबल टिकटको रकम फिर्ताका लागि समेत पहल गरिएको उनले बताइन्।
भण्डारीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारका लागि नाट्टाले निरन्तर लबिङ गरिरहेको बताइन्। नेपाल वायुसेवा निगमका लागि थप जहाज आवश्यक रहेको भन्दै सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा ‘सिस्टर एयरलाइन्स’ स्थापना गर्ने प्रस्तावसमेत सरकारसमक्ष राखिएको उनले जानकारी दिइन्।
‘सरकारमाथि कुनै अतिरिक्त भार नपर्ने गरी पर्यटन व्यवसायीले सानोदेखि ठूलो लगानीसम्म गरेर जहाज ल्याउन सक्ने मोडलमा हामीले प्रस्ताव गरेका छौँ,’ उनले भनिन्।
पर्यटन यातायात क्षेत्रमा करको भार कम गर्न एकैपटक ठूलो कर लिनुभन्दा निश्चित अन्तरालमा कर तिर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। भारतबाट पर्यटक आफ्नै सवारीसाधनमा नेपाल आउन रुचाउने भए पनि नेपालमा यातायातको लागत बढी भएकाले प्रतिस्पर्धी दरमा सेवा दिन कठिन भइरहेको उनले बताइन्।
नाट्टाले पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तव्य उत्पादन, बहुभाषिक भिडियो तथा म्यागेजिन निर्माण, अन्तर्राष्ट्रिय सेल्स मिसन तथा बीटुबी कार्यक्रम सञ्चालन गरेको भण्डारीले बताइन्। इन्टरनेसनल माउन्टेन टुरिजम एलायन्स (आईएमटीए) मा अन्नपूर्ण र मुन्धुम ट्रेलका लागि दुईवटा अवार्ड प्राप्त गर्न सफल भएको पनि उनले जानकारी दिइन्।
त्यस्तै, चार वर्षको अवधिमा चार प्रदेशमा ९ सयभन्दा बढी सदस्यलाई तालिम प्रदान गरिएको र वेलनेस टुरिजमलाई औपचारिक क्षेत्रका रूपमा विकास गर्न पहल गरिएको उनले बताइन्।
भण्डारीले नाट्टाको नेतृत्वमा निर्वाचित भए कानुनी तथा वित्तीय सहायता डेस्क, डिजिटल कनेक्टिभिटी, भ्याटको तर्कसंगतीकरण, अन्तर्राष्ट्रिय विमानस्थलको कनेक्टिभिटी, विश्वव्यापी बीटुबी प्लेटफर्म तथा पर्यटन जनशक्तिका लागि व्यावसायिक तालिमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाइन्।
उनले युवालाई पर्यटन क्षेत्रको ‘भविष्य’ मात्र नभई वर्तमान शक्ति भएको बताउँदै ३० वर्षभन्दा कम उमेरका नयाँ पुस्ताको आवाज नीतिनिर्माणमा समेट्ने प्रतिबद्धता व्यक्त गरिन्। वरिष्ठ व्यवसायीको अनुभव र नयाँ पुस्ताको ऊर्जा दुवैलाई समेटेर नाट्टालाई अघि बढाउने उनको भनाइ छ।
‘हामीले शक्ति दिने वाचा गरेका छैनौँ, तर नरोकिने आवाज दिने वाचा गरेका छौँ। हाम्रो वास्तविक शक्ति तपाईंहरू हुनुहुन्छ। एकताबद्ध व्यवसायीको आवाज आन्दोलन बन्न सक्छ,’ भण्डारीले भनिन्।
उनले आगामी निर्वाचनलाई नाट्टाको नेतृत्व चयन मात्र नभई पर्यटन क्षेत्रको भविष्य तय गर्ने अवसरका रूपमा लिन व्यवसायीलाई आग्रह गरिन्। ‘पर्यटन उठे नेपाल उठ्छ’ भन्ने नाराका साथ आफू र आफ्नो प्यानल अघि बढेको उनले बताइन्।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्