हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा गाडी पार्किङको विषयलाई लिएर भएको विवादमा धारिलो हतियार प्रहार हुँदा चार जना घाइते भएका छन्।
बुधबार बिहान करिब ११ः३० बजे गाडी पार्किङको विषयमा विवाद हुँदा मनहरी गाउँपालिका–१ मकरीका ३०÷३१ वर्षीय लक्ष्मण बर्तौलासहित चार जनाले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ।
घाइते हुनेमा मनहरी गाउँपालिका–६ का २७ वर्षीय जीवन गोले, ओखलढुंगा सिंहदेवी गाउँपालिका–७ का २८ वर्षीय राइज आले मगर, चितवन राप्ती नगरपालिका–२ का ३२ वर्षीय रामबहादुर पाख्रीन र राप्ती नगरपालिका–४ का २८ वर्षीय जीवन तामाङ रहेका छन्।
गोलेको ढाडमा चोट लागेको छ भने आले मगरको पनि ढाडमा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था क्रमशः मध्यम र सामान्य रहेको छ। पाख्रीनको छाती तथा ढाडको पछाडिको भागमा चोट लागेको छ भने तामाङको दाहिने आँखामा भित्री चोट लागेको छ। उनीहरूको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको थियो।
प्रहरीका अनुसार राति ९ः१५ बजे चारै जना घाइतेलाई थप उपचारका लागि चितवन पठाइएको छ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर, प्रहरी चौकी बसपार्क र वडा प्रहरी कार्यालय सानोपोखराबाट टोली घटनास्थल पुगेको थियो।
घटनामा संलग्न रहेको आरोपमा लक्ष्मण बर्तौला, सुनिल थिङ, करन लामा र उज्ज्वल बर्तौला गरी चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्