Skip to content

फिलिपिन्सको विश्वविद्यालयमा गोली चल्दा चार जनाको मृत्यु, नौ घाइते

nmb bank inside

काठमाडौं । फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको एटेनियो डी जाम्बोआंगा विश्वविद्यालयमा मंगलबार गोली चल्दा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

क्षेत्रीय राष्ट्रिय अनुसन्धान ब्युरो (एनबीआई) का अनुसार मृत्यु हुनेमा दुई जना सुरक्षा गार्ड र दुई जना विद्यार्थी रहेका छन् । मृतकमध्ये एक जना घटनामा संलग्न भएको आशंका गरिएको गोली चलाउने विद्यार्थी रहेको बताइएको छ । उनीहरूको पहिचान सार्वजनिक गरिएको छैन ।

प्रहरीका अनुसार गोली चलाउने व्यक्ति हाइस्कुलका चौथो वर्षमा अध्ययनरत पुरुष विद्यार्थी हुन् । उनका बुबा जाम्बोआंगा सिटी कस्टम्स कार्यालयमा कार्यरत रहेको बताइएको छ । प्रहरीले उनले क्याम्पसमा पेस्तोल र राइफल कसरी प्रवेश गराउन सके भन्नेबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

फिलिपिन्सको शिक्षा विभागले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रभावित विद्यार्थी, परिवार, विद्यालयका कर्मचारी तथा सम्बन्धित अधिकारीलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ । विभागले घटनाबाट प्रभावितलाई मनोवैज्ञानिक प्राथमिक सहायता तथा मनोसामाजिक सहयोग उपलब्ध गराउन मानसिक स्वास्थ्यसम्बन्धी साझेदार संस्थासँग समन्वय भइरहेको जनाएको छ ।

घटनासँग सम्बन्धित अपुष्ट सूचना फैलाउन तथा संवेदनशील तस्बिर, भिडियो वा विवरण सार्वजनिक नगर्न पनि विभागले सर्वसाधारणलाई आग्रह गरेको छ । घटनामा नाबालिग विद्यार्थीसमेत संलग्न भएकाले उनीहरूको गोपनीयताको सम्मान गर्न आग्रह गरिएको हो ।

विश्वविद्यालयले सामाजिक सञ्जालमार्फत ग्रेड स्कुलका विद्यार्थीहरू आफ्ना कक्षा शिक्षकसँग सुरक्षित रहेको र सबैको अवस्था यकिन गरिएको जनाएको छ । विश्वविद्यालयले सिनियर हाईस्कुलका कक्षा स्थगित गरेको छ भने जुनियर हाईस्कुल विभागको अवस्था नियन्त्रणमा रहेको जनाएको छ ।

फिलिपिन्स राष्ट्रिय प्रहरी (पीएनपी) का प्रमुख जनरल जोसे मेलेंसियो नार्तातेज जुनियरले विद्यालय प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरी विद्यार्थी, शिक्षक तथा विद्यालय कर्मचारीको सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएका छन् ।

प्रहरीले अवस्था नियन्त्रणमा आइसकेको जनाएको छ । अभिभावक तथा संरक्षकलाई शान्त रहन र आफ्ना बालबालिका लिन विद्यालयले तोकेको समय तथा व्यवस्थाको पालना गर्न आग्रह गरिएको छ । प्रहरीले घटनाको सम्पूर्ण परिस्थिति र विद्यार्थीले क्याम्पसमा हतियार कसरी ल्याए भन्ने विषयमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ । एएनआई

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्