Skip to content

बेलायतमा शुक्रबार हुने तेस्रो ‘किताब जात्रा’को तयारी पूरा, बहुआयामिक कार्यक्रमसहित मनाइने

nmb bank inside

काठमाडौं । बेलायतमा हुन लागेको तेस्रो संस्करणको ‘किताब जात्रा’ को  सम्पूर्ण तयारी पूरा भएको आयोजक किताब यात्रा फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका अनुसार उक्त साहित्यिक कार्यक्रम आगामी अगस्ट २१ (शुक्रबार) का दिन लन्डनस्थित नेपाली दूतावास परिसरमा आयोजना हुनेछ।

कार्यक्रममा प्यानल बहस, रचना वाचन, अवार्ड वितरण तथा पुस्तक प्रदर्शनीलगायत विविध कार्यक्रम समावेश गरिएका छन्। किताब यात्रा फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले यूकेमा रहेका नेपाली साहित्य, संस्कृति, जीवनशैली तथा व्यवसायिक क्षेत्रलाई समेट्ने गरी करिब चार घन्टा लामो कार्यक्रमको तयारी गरिएको जानकारी दिएका छन् । उनले यूकेमा बसोबास गर्ने नेपाली लेखक, संस्कृतिकर्मी तथा उद्यमीहरूलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आह्वानसमेत गरेका छन्।

यसैबीच, किताब जात्रा बेलायत संस्करणका आयोजक समिति सचिव तथा अर्थखबर डटकमका प्रधान सम्पादकसमेत समेत रहेका भुवन भण्डारीले यस वर्षको कार्यक्रम विगतका संस्करणभन्दा अझ भव्य र सभ्य ढंगले सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। उनले किताब यात्रासँगको सहकार्यमा यूके संस्करण हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको पनि जानकारी दिएका छन् ।

कार्यक्रममा सहभागी हुन वरिष्ठ पत्रकार टीकाराम यात्री तथा लेखक रवीन्द्र समीरलगायत नेपालबाट यूके पुगिसकेका छन्। आयोजकका अनुसार ‘किताब जात्रा’ दिउँसो २ बजेदेखि सुरु हुनेछ।

वि.सं. २०७५ मा नेपालबाट सुरु भएको ‘किताब जात्रा’ भारत र अमेरिकामा समेत सफलतापूर्वक सम्पन्न भइसकेको छ। यूकेमा भने पहिलोपटक सन् २०२३ मा आयोजना गरिएको थियो।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्