Skip to content

कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा

nmb bank inside

कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा

हेमन्त केसी, नेपाल न्यूज बैंक

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी हुने तीन मन्त्रीको नाम टुंग्याउन नसकेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सात जना आकांक्षीको नाम पार्टी केन्द्रमा पठाएको छ । मन्त्री छनोटको जिम्मेवारी अब नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले टुंग्याउने भएका छन् ।

नेकपाले कर्णालीमा पाएको तीन मन्त्रालयमा मन्त्री छनोटका लागि सोमबार बिहानसम्म पनि सहमति जुट्न नसकेपछि सात जना आकांक्षीको नाम केन्द्रमा पठाइएको नेकपा कर्णालीका प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीले बताएका छन् । उनका अनुसार केन्द्रबाट नाम फाइनल भएपछि मात्रै मन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ । 

यसअघि सोमबार बिहान ११ बजे तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको थियो। प्रदेश प्रमुखको कार्यालयले समेत शपथका लागि समय तय गरिसकेको थियो । तर अन्तिम समयमा मन्त्रीको नाम सिफारिस हुन नसकेपछि मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए । 

नेकपाबाट विन्दमान विष्ट, मिलन खड्का र जुम्कित लामाको नाम मन्त्रीका रूपमा चर्चामा आए पनि पार्टीभित्रै आकांक्षी धेरै भएपछि निर्णय हुन सकेन । यससँगै साबिक माओवादी र साबिक नेकपा एकीकृत समाजवादी धार बिच मन्त्री चयनलाई लिएर देखिएको मतभेद पनि सतहमा आएको छ । 

नेकपा र नेकपा एमालेबिच भएको सत्ता साझेदारीअनुसार कर्णालीमा नेकपाले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाएको छ । नेकपाको भागमा भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग–पर्यटन–वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय छन् । एमालेबाट भने तीन मन्त्री नियुक्त भइसकेका छन् । 

मन्त्री छनोटमा भएको ढिलाइका कारण मुख्यमन्त्री मंगलबहादुर शाही नेतृत्वको कर्णाली सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दासमेत पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । बजेट कार्यान्वयन र सरकारका नियमित कामकाजमा समेत यसको असर पर्न सक्ने भन्दै आलोचना भइरहेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्